२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बढ्यो गण्डकको बहाब

शंकर आचार्य

पर्सा — झन्डै डेढ दशकपछि यस वर्ष गण्डक नहरको १३ नम्बर ब्लकसम्मै पानी पुगेको छ । नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय बहुअरीका इन्जिनियर एवम् सूचना अधिकारी सुरेश प्रसाद साहका अनुसार हाल १२ नम्बर हुँदै रौतहटको बंकुल क्षेत्रको १३ नम्बर ब्लकसम्मै नहरमा पानी पुगेको छ ।

बढ्यो गण्डकको बहाब

यस वर्ष नहरको ११ नम्बर ब्लकसम्म सफाइ गरिएपछि पानीको प्रवाह राम्रोसँग भएर १३ नम्बर ब्लकसम्म नहरमा पानी पुगेको हो ।


हाल भारतले नहरमा ५ सय ५० क्युसेकसम्म पानी छोडे पनि त्यो र आकाशे वर्षा पनि थपिदा नहरमा पर्याप्त पानी उपलब्ध भइरहेको उनले बताए । भारतसँगको सम्झौताअनुसार वर्षेनी धान सिजनलाई लक्षित गरी असार १५ मा पानी आउनुपर्नेमा यस वर्ष साउनको पहिलो साता मात्र नहरमा पानी आएको थियो । भारतले यस वर्ष नहरमा सुरुमा ६ सय ५० क्युसेक हाराहारीमा पानी छोडेको थियो । नहरमा बढी छोडा यस वर्ष मर्मत गरिएका स्थानमा नहरको किनार पानीको दबाबले भत्किन थालेपछि भारतीय पक्षले आफंै कम पानी दिइरहेको छ ।
गण्डक नहरमा भारतको पिडारी भन्ने स्थानमा २६८ आरडी (रेड्युस्ड डिस्टेन्स) मा पानीको दबाब थेग्न नसकेर नहरका किनारामा क्षति पुग्न थालेपछि त्यहाँ भारतीय पक्षले साउनको पहिलो साता त्यहाँ नहर मर्मत गर्दै पानी प्रवाह गरेको थियो । तर कम पानीमै पनि यस वर्ष नेपालतर्फ भने थप ३ वटा ब्लकसम्म पानी पुर्‍याउन सफलता मिलेको उनले बताए । नहरका ११ र १२ ब्लकसम्म अर्थात् बाराको कोतवाली हुँदै १३ नम्बर ब्लक रौतहटको बंकुलसम्मै पानी पुर्‍याउन सम्भव भएको उनले बताए ।


८१ किमि लामो यो नहरले पर्सा, बारा र रौतहटको ३१ हजार ४ सय हेक्टर जग्गालाई सिंचित गर्ने लक्ष्य थियो । तर नहरको नियमित मर्मतसम्भार नहुनु र भारतले सम्झौता अनुसारको पानी नदिने कारणले पनि पर्सा र बाराका पूर्वी भेगका केही गाउँमा मुस्किलले पानी पुग्ने गथ्र्यो । रौतहटसम्म पुग्दा नहरमा पानी सुकी सक्थ्यो ।


सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । पर्साको जानकी टोलाबाट नेपाल प्रवेश गर्ने र रौतहटको बागमतीमा गएर मिसिने नहरलाई पूर्वी नहर भनिन्छ । नेपाल र भारतबीच भएको गण्डक सम्झौता अनुसार नहरमा भारत सरकारले नेपालतर्फ ८ सय ५० क्युसेक पानी छाड्नुपर्ने हो । तर उसले नहरको इतिहासमा यति पानी नेपाललाई दिएको छैन । गत वर्ष असार अन्त्य र साउनको पहिला सातातिर नेपाली पक्षको लबिइका कारण ८ सय २१ क्युसेक हाराहारीमा पानी दिएको थियो । नहरकै इतिहासमा गत वर्ष यसरी सर्वाधिक पानी प्रवाह भएको थियो ।


यस वर्ष करिब डेढ दशकपछि १० नम्बर ब्लकभन्दा पूर्वतर्फ पानी पुगेकाले त्यस भेगका किसान पनि हर्षित भएको साहले बताए । बिगतमा नहरको नियमित सरसफाइ नगरिँदा १० नम्बर ब्लकभन्दा पूर्वतर्फ पानी जान सकेको थिएन । नहरका कुल १५ ब्लकमध्ये रौतहटमा रहेका १३, १४ र १५ गरी ३ ब्लक छन् । अब १४ र १५ गरी २ वटा ब्लकमा मात्रै पानी पुग्न सकेको छैन ।


११ र १२ ब्लकमा पानी पुगेपछि त्यस भेगमा सञ्चालित माछा सुपर जोन कार्यक्रमअन्तर्गतका माछा पोखरीहरूमा पानी पुगेको उनले बताए । गत वर्ष भारतले यो नहरमा ८ सय २१ क्युसेकसम्म पानी छोडेको थियो । तर गत वर्ष भदौको पहिलो साता आएको बाढीसँगै गण्डक नहरको संरचनामा भारत र नेपालतर्फ ठूलो क्षति भएको थियो ।


क्षतिको मर्मत सम्भारको काम सम्पन्न गर्न ढिलो भएकैले भारतले यस वर्ष ढिलो गरी पानी छोडेको हो । नहर मर्मतसम्भारमा भारतकै ढिलासुस्तीका कारण गत वर्ष गहु सिजनमा नहरमा पानी आउन सकेको थिएन ।


भारतसँगको सम्झौता अनुसार वर्षेनी धान सिजनका लागि असार १५ र गहँु सिजनका लागि पुस १० देखि नहरमा पानी आइसक्नुपर्छ ।
गत वर्षको बाढीले नहरको भारतीय भूमिमा रहेको संरचनामा २ दर्जनभन्दा बढी स्थानमा क्षति पुगेको थियो ।

प्रकाशित : भाद्र १५, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?