कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

डुंगा दुर्घटना: टिकुलिया शोकमा

शिव पुरी

रौतहट — गौर नगरपालिका–४ स्थित टिकुलीया गाउँका मन्जित पटेल रक्षाबन्धनको दिन दिदी उस्माको बाटो हेरिरहेका थिए । औरैयास्थित मामा सजीव पटेलको घरबाट आइतबार भाइलाई राखी बाँध्न आफ्नो घर आउँदै थिइन् ।

डुंगा दुर्घटना: टिकुलिया शोकमा

उनी शनिबार बेलुकी अबेर मामाघरबाट हिँडेकी थिइन् । राखी बाँध्न उनी आतुर थिइन् । घर आउन लागेको फोनबाट भाइलाई जानकारी दिइन् । झमक्कै साँझ पर्न थालिसकेको थियो । घरपरिवारका सदस्य उस्माको बाटो कुरेर बसेका थिए । रात ढल्किँदै गएपछि अचानक डुंगा बगाएको खबर आयो । उनीहरू आत्तिए ।


उस्मा २ महिना मामाघर बसेर रक्षाबन्धनको अघिल्लो दिन मात्र आउन लागेकी हुन् । शनिबार रातिको डुंगा दुर्घटनामा परी उनको मृत्यु भयो । मंगलबार बिहान भाइ मन्जितको आँखामा आँसु थामिएको थिएन । छोरी आउने खबरले आमा सीता देवी पनि उत्तिकै खुसी थिइन् । मृत्युको खबरले उनी घरिघरि बेहोस हुन्थिन् । मामाघर जाँदा उस्मा त्यही डुंगा चढेर सकुशल पुगेकी थिइन् । आउँदा परिवारको खुसी छिनियो । रक्षाबन्धनको भोलिपल्ट उनको शव घर आइपुग्यो । मामाघरबाट उस्मा साँझपख माइजू जिरादेवीको साथ लागेर हिँडेकी थिइन् । औरैया र टिकुलीयाको बीचमा लालबकैया नदी पर्छ । त्यस दिन खेतमा काम गरेर घर फर्केका, रक्षाबन्धनका लागि आफन्तकामा हिँडेकाहरूसहित २९ जना डुंगामा चढे । चालक चन्द्रवंशीले डुंगा चलाउन थाले । घाटको केही वर आएपछि पानीको सतहले डुंगालाई दक्षिणतर्फ लग्यो र बन्दै गरेको पुलको पिलरमा ठोक्कियो ।


डुंगा टुक्राटुक्रा भयो । सबै नदीमा परे । केही पौडिएर बाहिर निस्के, केहीलाई बगाएर परसम्म लग्यो र पौडिँदै बाहिर निस्के । डुंगामा सवारमध्ये २४ जना पौडिएर बाँचे । उस्मालगायत ५ जनालाई बगाएर लग्यो । उनीहरूमध्ये ४ जनाको शव फेला परिसकेको छ । एक जना अझै बेपत्ता छन् । माइजू पनि बाँच्न सफल भइन् तर उनको मृत्यु भयो । उनी स्थानीय विद्यालयको कक्षा ४ मा पढथइन् ।


उस्माको परिवारको पर्खाइ दु:खमा परिणत भयो । राति अबेर उस्माका परिवारका सदस्यहरू नदीको किनारसम्म पुगे । बिहान झिसमिस फेरि घटना भएको स्थान गए । मामा सजीवलगायत केही नदीको किनारैकिनार खोज्न निस्के । ‘जीवित फेला पर्ने आस मरिसकेको थियो,’ उनले भने, ‘पानीको सतह बढी भएकाले बगाएर भारत पुर्‍याइसकेको भन्ने अनुमान थियो ।’


उनको शव भारतको शिवघर जिल्लास्थित जमुआ घाटमा सोमबार फेला परेको थियो । यहाँ पुल निर्माणको काम बीचैमा रोकिएको छ । त्यसैले सबै डुंगाको मद्दतले वारपार गर्थे । राति उस्मासहित गाउँलेहरू डुंगा चढेर आउँदै थिए । हरके वर्षझैं यस वर्ष पनि भाइ मन्जितको हातमा राखी बाँध्ने उस्माको सपना लालबकैयाको बाढीले बगाएर लग्यो ।


यता टिकुलियाका दिनेश पटेलको घरमा पनि रक्षाबन्धन पर्वको तयारी गर्दै थिए । छिमेकी इशनाथ नगरपालिका ३ औरैयाकी दिदी रूनादेवी पटेललाई आइतबार रक्षाबन्धनका लागि बोलाइएको थियो । घरबाट माइतीको दूरी ४ किमी छ । बीचमा लालबकैया नदी तर्नुपर्छ । वर्षाको बेला नदीमा पानीको सहत बढेको हुन्छ ।


पप्पु कन्स्ट्रक्सनले निर्माणाधीन अवस्थामै अलपत्र छाडेको पुलले नदी वारपार गर्न डुंगा चढ्नुपर्ने हुन्छ । रूनादेवी पनि शनिबार साँझपख कान्छो छोरा निगमलाई साथै लिएर टिकुलिया आउन घाटबाट डुंगा चढिन् र त्यही घटनामा परिन् । छोरा नदीको घाँस समातेर ३ घण्टापछि बाहिर निस्कन सके । आमालाई बगाएर लग्यो । यस वर्ष पनि भाइका हातमा राखी बाँध्ने रूनादेवीको पनि चाहना बकैयाको बाढीसँगै बग्यो । रक्षाबन्धनकै दिन माइतीमा उनको शव आइपुग्यो । भारतको जमुआ घाटमा उनको शव फेला पारी प्रहरीले माइतीघर ल्याइदिएको थियो । अहिले टिकुलिया गाउँ शोकमा डुबेको छ । छोरा निगमको आँखा आँसुले सुनिएको छ । डुंगा दुर्घटनामा टिकुलिया गाउँका ४ को मृत्यु भएको थियो ।


टिकुलियाकै ५० वर्षीया शान्तिदेवी साह र डुंगाका सहचालक ओमप्रकाश चन्द्रवंशीको शव पनि फेला परेको छ । टिकुलियाकै भरत पटेलकी श्रीमती इन्दुदेवी पटेल बेपत्ता भएकी छन् । उनको अवस्था अहिलेसम्म अज्ञात छ ।

प्रकाशित : भाद्र १५, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?