१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भारतीय गाडीमा ‘कडाइ’

भदौ १५ गतेबाट सबै भारतीय गाडीको अभिलेख राख्न निर्देशन
भारतीय कार, जिप, बस, टयाक्टर, ट्रक प्रयोग गर्दा दैनिक ४ सय ५२ रुपैयाँ भन्सार राजस्व तिर्नुपर्छ
शिव पुरी

रौतहट — जिल्लाभित्र बिनाभन्सार भारतीय गाडीको प्रयोग बढ्न थालेपछि रौतहट प्रहरीले कडाइ गर्ने भएको छ । पछिल्लो समय सदरमुकाम गौर र आसपासका क्षेत्रमा यस्ता गाडीको प्रयोग बढेको छ ।

भारतीय गाडीमा ‘कडाइ’

यसले बेथिति बढाएको भन्दै प्रहरीमाथि प्रश्न उठ्न थालेपछि कडाइ गर्न लागेको हो । यसबाट राजस्व चुहावटमा वृद्धि हुँदै गएको थियो ।


आर्थिक अध्यादेशमा भारतीय गाडी नेपाल प्रवेश गर्दा अस्थायी पैठारीअन्तर्गत शुल्क बुझाएर वर्षमा ३० दिनमात्र चलाउन पाउने प्रावधान छ । तर नियम विपरीत यस्ता गाडी ५/६ वर्षदेखि निर्वाध रूपमा चल्दै आएको छ । सीमा क्षेत्रमा बढ्न सक्ने अपराधका घटनालाई मध्य नजर राख्दै जिल्ल्लाभित्र भन्सार राजस्व तिरेर प्रवेश गरेका गाडीको फोटो सहित अभिलेख राखी कडाइ गर्न लागिएको जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले बताए ।


‘हामीले शुक्रबारबाट भारतीय गाडीको अभिलेख राख्न लागेका छांै,’ उनले भने, ‘पहिले जस्तो जथाभावी बिनाभन्सार प्रवेश गर्न पाउँदैन । नियम विपरीत चलाइने भारतीय गाडीलाई कारबाही गर्छौं ।’ प्रहरीले भारतीय गाडीको चालक वा धनीको फोटो सहित इन्जिन, चेचिस नम्बर स्थायी ठेगाना नेपाल प्रवेश गरेको मिति सहितको अभिलेख राख्न सुरु गरेको हो । भारतीय जिप, कार, मोटरसाइकल, टेम्पोको अभिलेख राख्न ट्राफिक प्रहरीलाई खटाइएको छ ।


जिल्लाभित्र भन्सार राजस्वबिना चलाउने क्रम बढेपछि प्रहरीले कडाइ गर्न थालेको हो । यहाँका प्रभावशाली नेता समेत भारतीय गाडी चढ्छन् । दलहरूको सभा समारोहमा भारतीय गाडीको लाइन लाग्छ । जिल्लामा मन्त्री आउदा यस्तै चलन छ । यस्तो गाडीमा कार्यकर्ताले दलको झन्डा राख्ने गर्छन् । सुरक्षाकर्मीले भन्सार राजस्व र चोरीको हो/होइन जाँच गर्न खोज्यो की माथिबाट दबाब आउने गरेको एक सुरक्षा अधिकारीले बताए । तत्कालीन एसपी महेश बिक्रम शाहले दलका नेतालाई अन्तरक्रिया कार्यक्रममा बोलाएर कडाइ गर्ने अभियान चलाएर बेथिति रोकेका थिए । उनको सरुवापछि जस्ताको त्यस्तै भएको हो ।


भारतीय कार, जिप, बस, टयाक्टर, ट्रक प्रयोग गर्दा दैनिक ४ सय ५२ रुपैयाँ भन्सार राजस्व तिर्नुपर्छ । मोटरसाइकलको १ सय र तीनपांग्रे सवारीको ३ सय तिर्नुपर्छ । टयाक्टरको २ सय र ट्रेलरसमेत भए ४ सय रूपैयाँ ५२ राजस्व तिर्नुपर्छ । कडाइ नभएका कारण अधिकाशले बिनाभन्सार चलाउने गरेका पाइएको छ । त्यसरी राजस्व तिरेर नेपाल प्रवेश गर्ने भारतीय गाडी एक महिनाभन्दा बढी नेपाली भूमिमा बस्न पाउँदैन ।


त्योभन्दा बढी दिनको भन्सार काट्न पाउँदैन । ३५ दिनसम्म भन्सार राजस्वबिना बसेको पाइए गाडी जफत हुने प्रावधान छ । तर अधिकांशले २/३ महिनासम्ममा पनि राजस्व तिरेको पाइँदैन । नेपाल– भारत सीमावर्ती बजारसम्म विहान आएर बेलुकी फर्कन शुल्क तिर्नु पर्दैन । उनीहरू भारतबाट नेपाल प्रवेश गर्दा २/४ दिनको भन्सार राजस्व बुझाउँछन् । बाँकी त्यतिकै चलाउँछन् । राजस्व तिरेर भारतीय गाडी चलाउनेको संख्या अत्यधिक छ ।


दक्षिणी भेगका अधिकांशको घरघरमा भारतीय जिप,कार राखिएका छन् । नेपाली भूमिमा निश्चित दूरीसम्म जान पाउने प्रावधान रहे पनि भन्सार पासबिना पाइँदैन । शिवनगर, गरुडा, गौरका बिभिन्न मोटरग्यारेजहरूमा ठरुलो संख्यामा भारतीय सवारी मर्मतका लागि वर्षौंदेखि राखिएका छन् । त्यस्ता सवारीले भन्सार तिर्दैन ।


नेपाल–भारत खुला सीमाका कारण भारतबाट चोरीका गाडीहरू भित्रिने क्रम केही महिना अघिसम्म बढेको थियो । नक्कली कागजको भरमा भन्सार तिरेपछि त्यस्ता गाडी सहजै नेपाल भित्रिने गरेको थियो । यसरी भित्रेका गाडी विवाह र निर्वाचनका बेला बढी प्रयोग हुने गरेको छ । कांग्रेस, नेकपा, मधेसबादी लगाएतका ठूला दलका स्थानीय नेता, पूर्वसभासद, सांसद, प्रदेशसभा सांसद, स्थानीय जन प्रतिनिधि, व्यापारी, ठेकेदारले यस्ता गाडीको प्रयोग गर्दै आएका छन् ।


बोलेरो, टाटा सुमो, स्कार्पियो जस्ता महँगा भारतीय गाडीको प्रयोग बढदो छ । भारतीय नम्बरप्लेटका यस्ता गाडी चोरीको समेत हुने गरेको छ । नेपालको तुलनामा निकै सस्तो पर्ने हुनाले सीमावर्ती जिल्लाका नेपालीले समेत खरिद गर्न थालेका छन । गाडी नेपालीको भए पनि धनी भने भारतीय हुने गरेको छ । त्यस्ता गाडीले सबारी दुर्घटना गराउँदा समस्या आउने गरेको प्हरीले जनायो ।

प्रकाशित : भाद्र १५, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?