सडकले छोएन नारायणखोला गाउँ
सर्लाही — लालबन्दी नपा १४ नारायणखोला गाउँ सडक सञ्जालभन्दा बाहिर छ । हिउँदको बेला लखन्देही बगरबगरै जोखिम मोलेर यातायातका साधन चले पनि वर्षायामसँगै गाडी चल्न छोड्छन् ।
वर्षायामको तीन महिना सडक नभएकै कारण बिरामीलाई अस्पताल पुर्याउन समस्या हुने गरेको स्थानीय बताउँछन् । ‘वर्षाका बेला गाडी चल्दैन, बाटो नभएपछि एबुलेन्स आउँदैन, बिरामीलाई बोकेर अस्पताल लैजाउँ भने खोलामा बाढी आएका बेला सम्भव छैन,’ स्थानीय एलिना थिङले भनिन्, ‘बिरामीलाई अस्पताल पुर्याउनै मुस्किल पर्ने भएकाले हामीलाई सारोगाह्रो पर्दा धामीझाँक्रीकै भर पर्नुपर्ने बाध्यता छ ।’ वर्षाका तीन महिना त्यहाँका बासिन्दा लालबन्दी बजार आउन पत्थरकोटसम्म झन्डै ४ घण्टा पैदल हिँड्छन् । पत्थरकोटदेखि साना सवारीले बजार आउजाउ गर्छन् ।
खोलामा बाढी आएका बेला पत्थरकोटसम्म पैदल आउन पनि समस्या हुने गरेको स्थानीयले बताए । पैदल यात्री पनि खोलको बगरैबगर हिँड्नुपर्ने भएकाले असारदेखि भदौसम्म त्यसभेगमा खाद्यान्न ढुवानी गर्न समेत समस्या हुने गरेको छ । हिउँदमा भन्दा वर्षायाममा सामान ढुवानी गर्दा दोब्बर खर्च लाग्ने व्यापारीको भनाइ छ ।
आकाशमा कालो बादल मडारिने बित्तिकै त्यहाँका कतिपय विद्यालयमा बिदा हुन्छन । शिक्षक र विद्यार्थी दुवै खोला तरेर विद्यालय जानुपर्ने भएकाले बाढी आएका बेला उपस्थिति न्यून हुन्छ । ‘प्राथमिक विद्यालय भएर विद्यार्थीहरू सानासाना छन्, खोलामा पानी आयो भने तर्न सक्दैनन्, त्यही भएर वर्षाको बेला विद्यार्थीको संख्या न्यून हुन्छ ।’ श्री प्राथमिक विद्यालय मगरडीका शिक्षक रामकृष्ण थापाले भने, ‘पढाउँदा पढाउँदै खोलामा पानी आयो भने विद्यालयमै शिक्षक र विद्यार्थीको बास हुन्छ ।’ नारायणखोलामा ७ प्राथमिक र एक आधारभूत गरी ८ विद्यालय छन् ।
चुरेमा रहेको नारायणखोला पूर्व–पश्चिम राजमार्गबाट करिब १९ किलोमिटरको दुरीमा पर्छ । लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खडकाले नगरपालिकाको बजेटबाट मात्रै नारायणखोलामा सडक पुर्याउन सक्ने अवस्था नरहेको बताउँछन् ।
नारायणखोलामा सडकको ट्रयाक पुर्याउन मात्रै यस वर्ष हामीले ४० लाखभन्दा बढी पैसा खर्चेका छाैं, नगर प्रमुख खडकाले भने, ‘नगरको बजेटबाट ट्रयाक पुर्याउन मात्रै सम्भव छ, थप कामका लागि यातायात मन्त्रालयमा डीपीआर तयार पारेर पेस गरेका छांै ।’
प्रकाशित : भाद्र १६, २०७५ ०९:०६