१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सहिद परिवारलाई बासको समस्या

लक्ष्मी साह

बारा — तीन वर्षअघि यति बेला तेस्रो मधेस आन्दोलनको रापताप थियो । त्यही आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहिद भएका कलैया उपमहानगरपालिका–७ का हिफाजत मियाँ अंसारी परिवारको अहिले विजोग छ । उनीसित बस्ने न राम्रो घर छ, न त खानलाई कुनै भर छ ।

सहिद परिवारलाई बासको समस्या

परिवारले सरकारबाट १० लाख पाएको थियो । त्यही रकमले परिवारले घडेरी जोडे । तर घर बनाएनन् । ‘नेताहरूले घर बनाइदिने आश्वासन दिएपछि घर नबनाएर घडेरी जोडें । अहिले घर अभावले आँगनमा चुलो बाल्नुपर्छ,’ हिफाजतकी आमा विगन खातुनले भनिन्, ‘खरले घेरेको आँगनको बार टुटिसकेको (भत्केको) छ । फुसको छाप्रो पनि कुन बेला ढल्छ, ठेगान छैन ।’

नेताहरू ‘बाबु’ (छोरा) सहिदको फोटोलाई पोस्टर बनाएर जिते पनि घर नबनाइदिएको उनको भनाइ छ । खातुनले भनिन्, ‘गाँस अभावमा घरमा कहिलेकाहीँ चुलो पनि बल्दैन् ।’ सहिद भएका साइकल मिस्त्री अंसारी घर परिवारलाई छलेर आन्दोलनमा गएका थिए । आन्दोलन चर्किएपछि साइकल बनाउने काम छाडेर आन्दोलनमा होमिएका थिए । ‘साइकल बनाइदिन भनेपछि आन्दोलन छ, अहिले बन्दैन भन्थे,’ उनका छिमेकी अख्तर अंसारीले भने, ‘साहुको कामभन्दा उनलाई त्यो बेला आन्दोलन प्यारो थियो ।’

साइकल मिस्त्रीको काम गरेर मासिक पाँच हजारबाट उसले परिवारका पाँच जनाको गुजारा चलाउँथे । परिवार अहिले मेलापात गरेर जीविका चलाउँछन् । ‘सधैंभरि समस्या मात्र बुझ्छन् सबैले । तर घर र भरका लागि कसैले साेंच्दैनन्, सहिद पत्नी सबिनाले भनिन् ।’ पति सहिद हुँदा पत्नी सबिना पाँच महिनाकी गर्भवती थिइन् । अहिले उनकी दुई वर्षीय छोरा र सासूससुराको साथमा बस्छिन् ।

शारीरिक अपांगता भएकी एउटी छोरी उनले गुमाइसकेकी छिन् । ‘नेतालाई समस्या सुनाउँदा सुनाउँदै आजित भइसकेकीे छु,’ सबिनाले भनिन्, ‘न कुनै रोजगारी पाएँ, न नियमित छाक टार्न कुनै सीप ।’ साइकल मिस्त्रीको काम गरेर बिहान बेलुकाको छाक टार्न परिवारका लागि चामल, दाल, तरकारी दैनिक ल्याउने हिफाजतको दिनचर्या थियो । तर उनी सहिद भएदेखि परिवारलाई छाक टार्न धौधौ छ,’ हिफाजतको छिमेकी अख्तरले भने ।

कलैया ६ का असरफ अली दोस्रो पहिलो मधेस आन्दोलनमा सहिद भए । उनका एक/एक छोरा छोरी, आमा र पत्नी छन् । उनीहरू पनि सानो खपडाको घरमा गुजारा गर्छिन् । सहिद पत्नी शोभा राजबंशी साक्षर भएकाले करारमा अस्पतालमा जागिरे छिन् । त्यो पनि कहिले हटाइदिने त कहिले राख्ने भएकाले उनी पीडित भइरहन्छिन् ।

‘गत प्रदेशसभाको चुनावमा समानुपातिक सांसदका लागि उनको सिफारिस भएको थियो । सांसद बन्न दौडधुपमा कति खर्चिइन् । तर भइनन्,’ शोभाकी सासू (सहिदकी आमा) नजमा खातुनले भनिन्, ‘दशकदेखि घर जस्ताको त्यस्तै छ, थोरै कमाएकोबाट परिवारको छाक टार्ने कि घर बनाउने ? घर नभएर विजोग छ ।’ सोही आन्दोलनमा सहिद भएका अर्का महम्मद मजिद थिए । उनको पनि पारिवाररिक अवस्था ती दुबै सहिदभन्दा फरक छैनन् ।

दशकयता तीनपटक भएको मधेस आन्दोलनमा जिल्लामा पहिलोपटक २ जना र तेस्रोपटक १ जना सहिद भएका थिए । असरफ र मजिद दोस्रो आन्दोलनमा र हिफाजत तेस्रो आन्दोलनका सहिद हुन् ।

असरफ र मजिदको नामले तत्कालीन सांसद प्रमोद गुप्ताले सम्झनाका लागि सहिद असरफ मजिद ममोरियल फाउन्डेन सञ्चालन गरेका छन् । फाउन्डेसनमार्फत आफ्नो संसदीय कोषबाट झन्डै तीन हजारलाई कम्प्युटर तथा अन्य नि:शुल्क सीपमूलक तालिम दिएको उनी बताउँछन् ।

प्रकाशित : भाद्र १७, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?