सुत्केरीको मृत्युपछि अस्पताल तोडफोड

सर्लाही — प्रसव बेथा लागेर अस्पताल भर्ना भएकी एक महिलाको मृत्यु भएपछि मृतकका आफन्तले सर्लाही हरिवनस्थित नमुना अस्पतालमा शनिबार तोडफोड र आगजनी गरेका छन् ।

सुत्केरीको मृत्युपछि अस्पताल तोडफोड

हरिवन नगरपालिका–४, पटौनाका अनकबहादुर थापाकी ३१ वर्षीया श्रीमती अप्सरालाई शुक्रबार साँझ ७ बजे अस्पताल भर्ना गरिएको थियो । झन्डै तीन घण्टा उपचारपछि त्यहाँका चिकित्सकले अन्यत्र रेफर गरेका थिए ।

अप्सरालाई भरतपुरतर्फ लाँदै गर्दा बाटैमा ज्यान गएपछि आफन्तले उनको शव पुन: नमुनामा राखेर ढुंगामुढा र आगजनी गरेका थिए । तोडफोडबाट अस्पतालको झ्याल लगायतका संरचनामा क्षति पुुुगेको छ । मृतकका आफन्तले अस्पतालको औषधि पसलमा समेत आगजनी गरेका छन् ।

चिकित्सकको लापरबाहीले थापाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा आएर हो हल्ला गर्दै ढुङ्गा मुढा गरेपछि अस्पताल परिसरमा तनाबको स्थिति आएको थियो । हो हल्ला र ढुङ्गामुढा भएपछि अस्पताल पूर्ण रूपमा बन्द रहेको थियो ।

आगजनी र तोडफोड नियन्त्रणमा लिन ११ सेल अश्रुग्यास प्रहार गरिएको प्रहरी उपरीक्षक पोषराज पोख्रेलले बताए । अस्पतालमा तोडफोड एवं आगजनी गर्दै आक्रोशित मृतकका आफन्त सहित अनियन्त्रित भीड नजिकै रहेको इलाका प्रहरी कार्यालय तर्फ छिर्न खोजेपछि अश्रुग्यास र लाठी चार्ज गर्नु परेको पोखरेलले बताए ।

प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर ५ जना सुरक्षाकर्मी घाइते भएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । त्यस्तै, प्रहरीको लाठीचार्जबाट ४ जना प्रदर्शनकारी घाइते भएको मृतकको आफन्तले जनाएको छ ।

मृतकको आफन्त सहितको भीडले केहीबेर पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारे पनि प्रहरीले बल प्रयोग गरेर खुलाएको थियो । त्यस्तै, अस्पतालमा तोडफोड गर्ने क्रममा मृतकका भाइ कृष्णहरि कार्कीको हातमा झ्यालको सिसाले काट्दा गहिरो चोट लागेपछि उनलाई उपचारका लागि बाहिर पठाइएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले उपचार सम्भव नभएपछि पहिले नै रेफर गर्नुपर्नेमा घण्टौं बिरामी राखेर अस्पतालमा खटिएका चिकित्सकले खेलबाड गरेको आरोप लगाए । अस्पतालका व्यवस्थापक बलराम न्यौपानेले अस्पतालले रेफर गरेर पठाइसकेपछि बिरामीको मृत्यु भएकाले अस्पतालका तर्फबाट कुनै लापरबाही नभएको दाबी गरे ।

बिहानको तोडफोडपछि दिउँसो भएको स्थानीय प्रशासन र मृतकका आफन्तबीचको वार्तामा ५ बुँदे सहमति भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर अविनाश कुमार सिंहको संयोजकत्वमा ७ सदस्यिय छानबिन समिति गठन भएको छ ।

समितिले ७ दिनभित्र प्रतिवेदन पेश गर्ने, प्रतिवेदन पेस नहुन्जेल अस्पताल बन्द गर्ने, ७ दिनसम्म अस्पतालका कर्मचारी प्रहरी निगरानीमा रहने लगायतको सहमति भएको प्रहरी उपरीक्षक पोखरेलले बताए । सहमतिपछि शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

प्रकाशित : भाद्र १७, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?