कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

महिला हिंसा मौलायो

श्रीमान्हरू वैदेशिक रोजगारीमा गएका श्रीमतीहरूले विभिन्न चारित्रिक आरोप खप्नुपर्ने
सन्तोष सिंह

जनकपुर — प्रदेश २ मा परम्परागत अभ्यासका कारण महिला हिंसाका घटना मौलाएको महिला अधिकारकर्मीहरूको भेलाले निष्कर्ष निकालेको छ ।

महिला हिंसा मौलायो

जनकपुरमा सिडको छाया प्रतिवेदन तयारीका लागि प्रदेशस्तरीय परामर्श भेलामा सहभागी अधिकारकर्मीहरूले परम्परागत अभ्यासले प्रदेश २ मा महिला हिंसाको घटना बढेको बताएका छन् ।

परम्परागत अभ्यास र सिर्जित सामाजिक मूल्यमान्यताका कारण प्रदेश २ मा बालविवाह, दाइजो प्रथाका कारण महिलामाथि घरेलुहिंसा, हत्या, बोक्सीको आरोपमा हिंसा भएको अधिकारकर्मीको भेलाले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा बलात्कारको घटना बढेको पनि समेटिएको छ ।

महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले समुदायस्तरदेखि महिलाका सवालमा काम गरिरहेका महिला मानव अधिकार रक्षकहरू, अधिकारकर्मीहरू, नागरिक समुदायका प्रतिनीधिसँग परामर्श गरी महिला हिंसा र महिला मानव अधिकारका सवालमा केन्द्रित गरी छाया प्रतिवेदन पठाउने तयारी गरेको हो ।

कम उमेरमा हुने बालविवाह, महिलाको शरीरमाथि आफ्नो नियन्त्रण कायम हुन नसक्नु, यौन तथा प्रजनन स्वास्थ्य अधिकारका सूचना अभावमा ग्रामीण महिला र अपांगता भएका महिलाहरूको पहुँच सुनिश्चित हुन नसक्दा यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्याहरू बढ्ेको ओरेक नेपालकी संजिता तिम्सिनाले बताए ।

यौन तथा प्रजनन स्वास्थ्यलाई प्राथमिकतामा राखी महिलालाई दोस्रो दर्जाका नागरिकका रूपमा गरिँदै आएको विभेद अन्त्य गरी महिलाको आफ्नो शरीरमा आफ्नो अधिकार कायम हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ । समुदाय तहदेखि नै किशोरकिशोरीमा आफ्नो शरीरको विकासका बारेमा जानकारी लिने, बृहत् यौन शिक्षा हासिल गर्ने संयन्त्रको विकास गर्नुपर्छ, ओरेककी तिम्सिनाले भने, ‘समुदाय तहदेखि एकीकृत यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम प्रभावकारी तवरले लागू गर्नुपर्छ ।'

वैदेशिक रोजगारीमा प्रदेश २ बाट श्रीमान्हरू वैदेशिक रोजगारीमा गएका श्रीमतीहरूले घरपरिवारकै सदस्यबाट विभिन्न चारित्रिक आरोप खप्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । श्रीमान् घरमा नभएपछि घरै सदस्यबाट यौन हिंसा भोग्न बाध्य भएको जनाएको छ । घरमा हुने हिंसामा न्यूनीकरणका लागि नेपाल सरकारको सबै तहमा सरकारद्वारा हानिकारक परम्परागत अभ्यासहरूका विरुद्ध रणनीति तयार गरी लागू गर्न प्रतिवेदनमा सुझाव दिएको छ ।

जनचेतना अभिवृद्धि तथा शैक्षिक कार्यक्रमलाई सुदृढ गर्न र महिलाप्रति सकारात्मक, लैगिंक मैत्रीपूर्ण व्यवहार गरिनुपर्ने र चेतनामूलक कार्यक्रम सञ्चालनका लागि सुझाव पेस गरेका छन् । नेपाल संविधान प्रगतिशील र कानुनहरू पनि महिलामैत्री बने पनि महिलालाई हेरिने विभेदकारी दृष्टिकोणका कारण महिलाको नेतृत्व परिवारदेखि राज्यसम्म स्वीकार गरिएकोले नीतिगत स्थानहरूमा महिलाको सहभागिता सुनिश्चित भए पनि महिलाको जीवनमा कुनै परिवर्तन हुन नसकेको ओरेक नेपालको भेलाले ठहर गरेको छ ।

प्रदेश २ मा आत्महत्याको घटना बढ्दो अवस्था रहेको र यसको प्रमुख कारकतत्वको रुपमा लैगिंक विभेदमा आधारित हिंसा रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

महिलाविरुद्ध हुने भेदभाव उन्मूलन गर्ने तथा महिला र पुरुषबीच वास्तविक समानता कायम गर्ने मुख्य उद्देश्य राखी संयुक्त राष्ट्र संघको महासभाद्वारा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि पारित भई लागू भएको छ ।

नेपालले महासन्धिलाई कुनै पनि शर्तबिना अनुमोदन गरेको छ । अनुमोदन गरेका राष्ट्रद्वारा हरेक ४ वर्षमा महासन्धिले गरेको व्यवस्था अनुसार पक्ष राष्ट्रले गरेको प्रगति विवरणका रूपमा महासन्धि अनुगमन समितिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ । प्रतिवेदनको परिपुरकका रूपमा नागरिक समुदायका तर्फबाट पनि प्रतिवेदन पेस गर्नुपर्ने दायित्व रहन्छ ।

प्रकाशित : भाद्र १७, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?