२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

युरिया–डीएपीको विकल्प खोजियो

शंकर आचार्य

पर्सा — युरिया र डीएपी मलको माग धान्न गार्‍हो हुन थालेपछि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यी मलको विकल्पका रूपमा एमोनियम सल्फेट र सिंगल सुपर फस्फेटलाई प्रोत्साहित गरेको छ ।

युरिया–डीएपीको विकल्प खोजियो

सर्वाधिक माग रहेका रासायनिक मलहरू युरिया र डीएपीको माग वर्षेनी बढ्दै गएको छ । जति भए पनि पूर्ण रूपले माग धान्न नसक्ने अवस्था आउन थालेपछि कर्पोरेशनले यी मलको विकल्प खोज्न थालेको हो ।

गत वर्षदेखि कर्पोरेशनले देशव्यापी रूपमा एमोनियम सल्फेट र सिंगल सुपर फस्फेटको बिक्री वितरण गरिरहेको छ । कर्पोरेशन अञ्चल कार्यालय वीरगन्जका प्रमुख अमोज लामिछानेका अनुसार गत वर्ष देशभरिमा गरी १० देखि १२ हजार मेट्रिक टन यी मल कर्पोरेशनले बिक्री गरेको छ ।

वीरगन्ज अञ्चल कार्यालयले समेत पर्सादेखि सर्लाहीसम्ममा गरी ५० किलोका ६ हजार ६ सय बोरा एमोनियम सल्फेट र १४ हजार बोरा सिंगल सुपर फस्फेट बिक्री गरेको उनले बताए । गत वर्षदेखि किसानलाई यी मलको उपयोगिता तथा प्रयोग विधिबारे जानकारी दिन किसानको घरदैलोमै पुगेर कर्मचारीले विभिन्न कार्यक्रम गरी रहेको उनले बताए ।

लामिछानेका अनुसार एमोनियम सल्फेट २१ प्रतिशत नाइट्रोजन तथा २४ प्रतिशत सल्फर भएको बहुतत्वयुक्त मल हो । गैरअनुदान (सरकारी अनुदान नभएको) मल बिक्री गर्ने कार्यक्रमअन्तर्गत भारतबाट आयात गरिएको यो मलको प्रयोगबाट नाइट्रोजनका साथै सल्फर पनि प्राप्त हुने हुँदा युरियाको तुलनामा बढी प्रभावकारी हुन्छ ।

नाइट्रोजन तत्त्वका लागि सामान्यतया १ किलोग्राम युरिया बराबर २ दशमलव १९ किलोग्राम एमोनियम सल्फेट उपयोग गर्न सकिन्छ । यसबाट माटोले २४ प्रतिशतका दरले सल्फर प्राप्त गर्छ । यसको प्रयोग गर्ने समय र तरिका समेत युरिया जस्तै हो ।

एमोनियाले माटोमा अम्लियपना बढाउन सक्ने हुँदा यसको प्रयोग गर्दा डीएपीको साटो सिंगल सुपर फस्फेट प्रयोग गर्नु विशेष लाभकारी हुने उनले बताए । सिंगल सुपर फस्फेटमा रहेको क्यालसियमले माटोको अम्लियपना बढ्नबाट रोक्ने र बिरुवाले उचित परिमाणमा मात्र नाइट्रोजन प्रयोग गर्न पाउने हुँदा नाइट्रोजनको नोक्सानी हुनबाट बच्न सकिन्छ ।

त्यसैगरी, सिंगल सुपर फस्फेट बहुतत्वयुक्त रासायनिक मल हो । रासायनिक मलको प्रयोगको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रचलित रहेको यो मलमा क्यालसियम २१ प्रतिशत, फस्फोरस १६ प्रतिशत र सल्फर १२ प्रतिशत हुन्छ ।

अम्लिय माटोमा यसको प्रयोग गरिएमा अम्लियपनामा सुधार आउने हुँदा अपेक्षित फसल सजिलै प्राप्त गर्न सकिने लामिछाने दाबी गर्छन् । तेलहन बालीका लागि यसले अझै प्रभावशाली रूपमा काम गर्ने उनले बताए ।

कर्पोरेशनले गैरअनुदानमा साधारण सिंगल सुपर फस्फेटका अतिरिक्त जिंक तथा बोरोन युक्त मलको छुट्टाछुट्टै बिक्री गरेकाले किसानले अतिरिक्त सूक्ष्म तत्त्व समयसको प्रयोगबाट पाउने उनले दाबी गरे । सिंगल सुपर फस्फेट मलको तत्त्ववाहक पानीमा घुल्न सक्दैन । तर यसमा रहेको खाद्यतत्त्व फस्फोरस भने पानीमा घुलनशिल प्रकृतिको हुने हुँदा बिरुवाले सजिलो रूपमा फस्फोरस प्राप्त गर्न सक्छ ।

यसका साथै यो मलमा सल्फर र क्यालसियम रहेको हुँदा बिरुवाले क्रमिक रूपमा ३ वटा खाद्यतत्त्व एकैसाथ प्राप्त गर्दछ जुन तत्त्वहरू माटो तथा बिरुवाका लागि अपरिहार्य छ ।

दुबैको मलको मूल्य क्रमश: युरिया र डीएपी मलको मूल्यकै हाराहारीमा रहेकाले किसानलाई महँगो पनि नपर्ने उनले बताए । किसानले यी मलको महत्त्व बुझ्दै गएकाले आगामी दिनमा यी मलको माग क्रमश: बढ्दै जाने उनले आशा व्यक्त गरे ।

प्रकाशित : भाद्र १७, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?