१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अवैध घिउ उत्पादन

स्थानीय प्रशासनले त्यहाँबाट ठूलो परिमाणमा कच्चा पदार्थ, प्याकिङ गर्न बाँकी तथा तयारी अवस्थाको नक्कली घिउ, स्टीकर लगाएको तयारी पकेट, भाँडाकँुडालगायतका सामग्री जफत गरेको छ ।
लक्ष्मी साह

बारा — प्रसौनी गाउँपालिका–३ स्थित लामो समयदेखि बन्द रहेको आलुको चिस्यान गोदामभित्र अखाद्य रसायनबाट घिउ उत्पादन हुँदै आएको पाइएको छ ।

अवैध घिउ उत्पादन

प्रहरी चौकी छेउमै रहेको उक्त कोल्डस्टोरको चारैतिरबाट ठूलो पर्खालले घेरिएको झाडीभित्र उत्पादन गर्दै आएको थियो । बजार अनुगमनपछि उत्पादित घिउको नमुना संकलनबाट त्यहाँ यस्तो अवैध उत्पादन हुँदै आएको थाह भएको हो ।

स्थानीय प्रशासनले त्यहाँबाट ठूलो परिमाणमा कच्चा पदार्थ, प्याकिङ गर्न बाँकी तथा तयारी अवस्थाको नक्कली घिउ, स्टीकर लगाएको तयारी पकेट, भाँडाकुँडालगायतका सामग्री जफत गरेको छ । स्थानीय प्रशासन, क्षेत्रीय खाद्य गुणस्तर कार्यालय हेटौंडा र सुरक्षाकर्मीले स्थानीय जनप्रतिनिधिको रोहबरमा जफत गरेका थिए ।

बालाजी, गोकुल डेरी, शिवम्, मिल्क फुडलगायत ब्रान्डको स्टीकर टाँसेको आधा लिटरको डिब्बामा प्याकिङ गरिएको १ सय १६ वटा डिब्बा बरामद गरिएको जिल्ला प्रशासन कार्यालयले जनायो । यसैगरी ६ सय केजी तयारी प्याकिङ नगरिएको तयारी अवस्थाको नक्कली घिउ बरामद गरिएको छ । उद्योग सञ्चालक र त्यहाँ काम गर्ने कामदारहघ्यू सबै फरार छन् ।

‘यसअघि स्थानीय प्रहरी र प्रशासनको मिलेमतोमा उद्योग वर्षौंदेखि सञ्चालन हुँदै आएको थियो,’ प्रसौनी गाउँपालिकाका एक जनप्रतिनिधिले भने, ‘प्रहरी र प्रशासनले नदेख्या जस्तो गरेको थियो ।’ जिल्लामा भर्खरै आएका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराईले बिनादर्ता र अनुमतिले उद्योग लामो समयदेखि अखाद्य घिउ उत्पादन गर्दै आएको बताए ।

‘उद्योग सञ्चालकको पहिचान र खोजी भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले भने, ‘सञ्चालक को हुन् भनेर कसैले किटानका साथ भनेका छैन, जेहोस् मित्तल थरका सञ्चालक भन्ने थाहा पाएका छौं । प्रक्रिया पुर्‍याएर पक्राउ गरी कारबाही गर्छु ।’ गत भदौ ६ गते ती उद्योगलाई शिल गरी शनिबार (१० गते) बरामद अखाद्य बस्तु नष्ट गरिएको
उनले बताए ।

क्षेत्रीय खाद्य गुणस्तर कार्यालय हेटौंडाले नमुना जाँच गरेपछि गुणस्तरहीन तथा अखाद्य पुष्टि भएकाले नष्ट गरिएको उनको भनाइ छ । ‘उत्पादित नक्कली घिउमा थोरै पनि सक्कली घिउको मात्र रहेनछ । सबै रसायनबाट बनाउँदो रहेछ,’ उनले भने, ‘उद्योग थाहा नपाउने गरी त्यस पर्खालको प्राङ्गणमा स:मिल पनि सञ्चालन गरिएको छ ।’

सरकारले तोकेको मापदण्ड विपरीत घिउ उत्पादन गर्दै आएको क्षेत्रीय खाद्य गुणस्तर कार्यालय हेडौंडाका प्रमुख राजकुमार रिजालले बताए । ‘उत्पादित सामानको जाँच गर्दा निश्चित पारामिटर देखेनौं,’ उनले भने, ‘नक्कली उत्पादन नै गरेर सात वर्षदेखि बजारमा ‘सप्लाइ’ गर्दै आएको थियो ।’ लामो समयको खोजीपछि यी उद्योग पत्ता लागेको उनको भनाइ छ ।

अवैध उत्पादनबारे छानबिन भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । अनुसन्धान सकेर अदालतमा मुद्दा लैजाने उनले बताए । ठहर भएमा ५० हजार जरिवाना र पाँच वर्ष कैद हुने कानुनी व्यवस्था छ ।

यसैबीच, उद्योगी बचाउका लागि चलखेल गर्दै अधिकारीलाई फकाउने प्रयास भइरहेको स्रोतले जनाएको छ ।

प्रकाशित : भाद्र १८, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?