२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

राजमार्ग चार लेनको बन्छ : अर्थमन्त्री

राजविराज — अर्थमन्त्री युवराज खतिवडाले पूर्वपश्चिम लोकमार्गलाई ‘फोर लेन’ सडकका रूपमा स्तरोन्नति गर्ने कार्य सुरु भइसकेको बताएका छन् ।

राजमार्ग चार लेनको बन्छ : अर्थमन्त्री

उनले पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कमला नदीभन्दा पश्चिममा ‘फोर लेन’ स्तरोन्नतिका लागि टेन्डर भइसकेको र कमला पूर्वको हकमा टेन्डर गरिने प्रक्रियामा रहेको जनाए । पूर्वपश्चिम लोकमार्गको स्तरोन्नति कार्य सरकारको प्रमुख प्राथमिकतामा रहेको उनले बताए ।

सप्तरीको राजविराजमा सोमबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री खतिवडाले पूर्वपश्चिम रेलमार्गको कार्य पनि सुरु भइसकेको उल्लेख गरे । उनले पहिलो चरणमा रेलमार्गअन्तर्गत काकरभिट्टादेखि बर्दिवाससम्मको निर्माण कार्य सुरु भइसकेको जानकारी दिए ।

मन्त्री खतिवडाले हरेक जिल्लाको सदरमुकाम रहेको नगरपालिकामा चारैतिर ‘फोरलाइन’ सडक निर्माण गरिने बताए । मन्त्री खतिवडाले संघीय,प्रदेश र स्थानीय सरकारबीचको आपसी समन्वयले मात्र देश विकास सम्भव रहेको बताए ।

सो कार्यक्रममा उद्योग वाणिज्य संघ सप्तरीले अर्थमन्त्रीलाई १० बुँदे अवधारणा पत्र बुझाएको थियो । अवधारणा पत्रमा राजविराज भन्सार कार्यालयको स्तर वृद्धि, दरबन्दी अनुसारको पदपूर्ति, छोटी भन्सार कार्यालयहरूबाट समय सापेक्ष दररेटमा भन्सार कटाउने सुविधा, नेपालको तिलाठी र भारतको कुनौली जोडने खण्डमा नेपाल र भारत सरकारको संयुक्त पहलमा मैत्री पुलको निर्माण, बैंकबाट हाल सुनचाँदी व्यसायीलाई उपलब्ध गराइँदै आएको ४ किलो सुनको मात्रा बढाई ८ किलो पुर्‍याउन लगायतका माग र सुझावहरू अवधारणा पत्रमा उल्लेख गरिएको छ ।

सेवा कार्यालय उद्घाटन
अर्थमन्त्री खतिवडाले सोमबार राजविराजमा करदाता सेवा कार्यालयको उद्घाटन गरे । राजविराजमा उक्त कार्यालय नहुँदा सप्तरी जिल्लाका उद्योगी र व्यापारीहरूले कर तिर्न सिरहाको लहान जानुपर्ने बाध्यता रहेको थियो ।

सेवा कार्यालयको उद्घाटनका अवसरमा मन्त्री खतिवडाले करका सम्बन्धमा अहिले विभिन्न खाले भ्रामक हल्ला फैलाइएको दाबी गरे । उनले भने, ‘करको विषयमा फैलाइएको हल्ला यथार्थ नभई फेसबुके हल्ला मात्र हो ।’ सरकारले पर्याप्त अध्ययनपछि कर नीति ल्याएको दाबी गरे ।

प्रकाशित : भाद्र १९, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?