कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयआर्जन गर्दै महिला

शाहीमान राई

जनकपुर — धनुषाको लक्ष्मिनिया गाउँपालिका–५ गजरियाकी २६ वर्षीया सुधिरादेवी यादव केही वर्षदेखि भैंसीपालन थालिन् । भैंसीको दूध बेचेर ७ जनाको परिवार पालिएकी छन् ।

आयआर्जन गर्दै महिला

उनको परिवारले दूध बेचेरै खाद्यान्न, नुन, तेल, खानेकुरा, लत्ताकपडा र घर खर्च धानेका छन् । सोही गाउँकी ३५ वर्षीय ममवत्ति सदा भने गाई पाल्छन् । उनले पनि गाईको दूध बेचेर घर खर्च धान्दै आएकी छन् । उनको छिमेकी ४२ वर्षीय रामतोला रामले पनि गाईपालन गरेर पर्याप्त आयआर्जन गर्छिन् ।

गरिब, दलित, विपन्न, पिछडिएका समुदायलाई सरकारले गरिबी निवारण कोषवाट सामुदायिक संस्थामार्फत सस्तो व्याजमा ऋण सुविधा दिएपछि उनीहरू आयआर्जनका लागि व्यावसायिक बन्न थालेका हुन् ।

कोषले सामाजिक वर्गीकरणमा पछि परेका अति गरिब विपन्न वर्गमा पर्ने व्यक्तिहरूको समूह निर्माण गरी गठित सामुदायिक संस्थालाई एकमुष्ठ अनुदान दिने गरेको छ । त्यही संस्थामार्फत सस्तो व्याजमा ऋण लिएर आयआर्जनका निम्ति व्यावसायमा लगानी गर्छन् । आफ्नै समूहमा निर्णय गरेको व्याजदरमा किस्ता तिर्छन् ।

नियमित बचत गरेवापत मासिक १ रूपैयाँ (१२ प्रतिशत) ले व्याज पनि पाउँछन् । ऋण लिएबापत मासिक १ रूपैयाँ (१२ प्रतिशत) व्याज तिर्ने गरेका छन् । वचत रकम र ऋणको किस्ता साँवा व्याज असुलिएको रकम समूहको कोषमा जम्मा गर्छन् ।

आफ्नो समूहमा मात्र परिचालित पुँजी मासिक रूपमा बृद्धि हुने र त्यही कोष समुदायमा परिचालन गर्दै आएका छन् । कोषको रकम समूहले मास्न नपाउने तर सहुलियत ऋण प्रदान गर्ने भएकोले प्रभावकारी भएको लक्ष्मिनिया–५ गजरियाका ७० वर्षीय रामपृत यादवले बताए ।

लक्ष्मिनिया गाउँपालिका–४ सपहीकी ४५ वर्षीया अन्जु सिंहले ३ वर्षअघि ७० हजार रूपैयाँ ऋण लिएर किराना पसल सुरु गरिन् । उनकै नेतृत्वको जनजागृति सामुदायिक संस्थाबाट ऋण लिँदै, चुक्ता गर्दै व्यापार गर्दै आएकी उनले दैनिक २ हजार रूपैयाँ कमाउने गरेको बताइन् ।

वर्षाैंदेखि छाप्रोमा बस्दै आएका सिंह परिवारले एकतले पक्की घर बनाउँदै छन् । सोही गाउँकी ३० वर्षीया अम्बिका साहले समूहबाट ३५ हजार ऋण लिएर किराना पसल सुरु गरिन् । बाक्लो बस्ती रहेको उनको घरमै दैनिक ४ हजार रूपैयाँको सामग्री बेच्छिन् ।

रामजानकी सामुदायिक संस्थाको सदस्यरहेकी सुधिरादेवी यादवले समूहबाट एक लाख ५० हजार ऋण लिएर दुहुना भैंसी किनेकी थिइन् । त्यही भैंसीको दूध बिक्री गरेर ऋणको साँवाव्याज चुक्ता गरिसकेकी उनले छोराछोरीको पढाइ खर्च समेत धानेको बताइन् । प्रतिलिटर ७० रूपैयाँका दरले दैनिक १० लिटर दूध बिक्री गरेर मासिक २१ हजार आम्दानी गर्दै आएको बताइन् ।

‘दूध छोराछोरी घर परिवारलाई पनि भो, बेचेर आम्दानी पनि हुने,’ उनी भन्छिन्, ‘एउटा भैंसी किनेको ३ वटा भइसके, ऋण पनि चुक्ता गरिसकेें ।’ समूहबाट एक लाख ऋण लिएर गाइ पाल्न सुरु गरेकी ममवत्ति सदा परिवारले राम्रो आयआर्जन गर्न थालेका छन् ।

वर्षभरि खान नपुग्ने उनको परिवारले गाइपालन सुरु गरेपछि दूध बिक्री गरेर खाद्यान्न, लत्ताकपडा र छोराछोरीको पढाइ खर्च धानेका छन् । संस्थावाट ७० हजार ऋण लिएर गाईपालन गर्दै आएकी ४२ वर्षीया रामतोला रामको आम्दानी बढेको बताइन् ।

प्रकाशित : भाद्र १९, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?