भारतीय व्यापारीले बनाए किर्ते नेपाली नागरिकता

रौनियारसित जिल्ला प्रशासन कार्यालय सप्तरीबाट २०७१ माघ २६ गतेको मितिमा प्रशासकीय अधिकृत जनक कोइरालाले प्रमाणित गरेको नेपाली नागरिकता रहेको पाइएको छ
अवधेशकुमार झा

राजविराज — सप्तरीबाट फेरि एक जना भारतीय व्यापारीले नेपाली नागरिकता बनाएको खुलेको छ । भारतको सहरसा जिल्ला घर भएका व्यापारी केदार गुप्तासित सप्तरीको मलेकपुर स्थायी ठेगाना देखाएर रबी रौनियारको नाममा किर्ते नागरिकता रहेको खुलेको हो ।

दुई दिनअघि सुनसरीको इटहरी प्रहरीले रौनियारलाई पक्राउ गरी सप्तरी प्रहरीलाई कारवाहीका लागि बुझाएको छ । रौनियारसित जिल्ला प्रशासन कार्यालय सप्तरीबाट २०७१ माघ २६ गतेको मितिमा प्रसासकिय अधिकृत जनक कोइरालाले प्रमाणित गरेको नेपाली नागरिकता रहेको पाइएको छ ।

प्रशासकीय अधिकृत कोइराला यसअघि भारतको हरियाणाका व्यापारी सतिश अग्रवालको किर्ते नागरिकता प्रकरणमा पनि मुछिएका व्यक्ति हुन् । उनीमाथि अग्रवाल नागरिकता प्रकरणमा जिल्ला अदालतमा मुद्दा छ । प्रशासकीय अधिकृत कोइरालाको २ महिनाअघि नै सप्तरीबाट सरुवा भइसकेको छ ।

Yamaha

पछिल्लोपटक किर्ते नागरिकता फेला परेका रौनियारको सप्तरीको मलेकपुरबाट नेपाली नागरिकता जारी भएको देखिए पनि स्थानीय बासिन्दाका अनुसार मलेकपुरमा रौनियार/गुप्ता थरका एक घर पनि कोही छैनन् । उनीसित नेपाली नागरिकाको नम्बर १६/८५८६३ छ ।

नागरिकताको अगाडि भागमा उक्त नम्बर रहे पनि पछाडि भागमा अंग्रेजीमा भने ८५४६३/८९५ नम्बर उल्लेख छ । जामुन रौनियारको छोरा भई उनले नेपाली नागरिकता लिएको देखिए पनि मलेकपुरमा जामुन रौनियार नामका व्यक्ति नै छैनन् ।

सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले प्रहरी नियन्त्रणमा रहेका रौनियारले कसरी नेपाली नागरिकता बनाए भन्ने विषयमा अनुसनधान भइरहेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले किर्ते नागरिकता प्रकरणमा प्रहरीले पक्राउ गरेको रबि रौनियारको नागरिकताबारे जिल्ला प्रशासनमा कुनै तथ्यांक नरहेको बताए । ‘उनको नागरिकतावारे प्रशासन कार्यालयमा कुनै रेकर्ड छैन,’ प्रजिअ पौडेलले भने, ‘बाहिरै कतै बनाएको हुन सक्छ ।’

स्रोतका अनुसार सप्तरीमा सक्रिय रहेको किर्ते नागरिकता बनाउने गिरोहले रौनियारसित मोटो रकम लिएर उनको नेपाली नागरिकता बनाइदिएको हो । यसैबीच, सप्तरी प्रहरीले रबि रौनियारलाई किर्ते नागरिकता बनाइदिने गिरोहका एक जनालाई पनि आइतबार नियनत्रणमा लिएको छ । छिन्नमस्ता गाउँपालिका सखडाका सुरेन्द्र यादवलाई पक्राउ गरिएको एसपी बिष्टले जनाए ।

उनका अनुसार सुरेन्द्र सहितको केही व्यक्तिहरूको समूहले रौनियारको नागरिकता बनाइदिएको हो । प्रहरीले किर्ते नागरिकता बनाइदिने गिरोहका अन्यको पनि खोजी गरिरहेको जनाएको छ । सप्तरी जिल्लाबाट किर्ते नागरिकता बनाउने कार्य अत्यधिक हुँदै आएको छ ।

यसअघि सप्तरीबाटै कुख्यात भारतीय अपराधी धिरेन्द्र यादव, बमबम यादब लगायतका दर्जनाैं भारतीय आपराधी र व्यापारी तथा सर्वसाधारणले नेपाली नागरिकता लिएको तथ्य खुलिसकेको छ ।

गत माघमा मात्र सप्तरी प्रहरीले भारतको पश्चिम बंगाल राज्यस्थित उतरी दिनाजपुर जिल्लाको अन्नतकोठाग्रामका मोहम्द लतिफुर रहमान,बिहारको किसनगञ्ज जिल्लाका मो. नाबेद आलम तथा बिहार सुपौलका सरौ आलमलाई नक्कली नेपाली नागरिकता सहित नियन्त्रणमा लिएको थियो ।

यस्तै भारत घर भई सुनसरी सदरमुकाम इनरुवा बस्दै आएका विनित देबलाई किर्ते नागरिकता बनाएको आरोपमा सप्तरी प्रहरीले पक्राउ गरेको थियो । उनले सप्तरीको साबिक मयनाकरेडी गाविसको ठेगाना देखाई नेपाली नागरिकता लिएका थिए ।

उनी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि राजविराज कारागारमा छन् । किर्ते नागरिकताकै आधारमा देवले जिल्ला प्रसासन कार्यालय सप्तरी हुँदै राहदानी विभागवाट २२ मई २०१६ मा ०९७८३१९२ नम्बरको राहदानी लिएका थिए ।

यस्तै, भारतको हरियाणका व्यापारी सतिष अग्रवाल र उनकी पत्नी मोनिका अग्रवालले पनि सप्तरीको राजविराजको ठेगाना देखाई किर्ते नेपाली नागरिकता लिएका थिए । सतिष जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा छन् भने उनकी पत्नी मोनिका फरार छन् ।

यसैगरि केही समयअघि त्रिभुवन विमानस्थलवाट पक्राउ गरेका भारतीय सिरियल किलर मस्तकिम भनिने रइस मियाँसित बंशजको नेपाली नागरिकता रहेको थियो । सात जनाको हत्यामा संल्गन रहेको भनिएका रइस मियाले सप्तरी जिल्लाको तात्कालिन सारस्वर गाबिस ७ ठेगाना देखाई ०६३ साल चैत १० गते ०६३१०६–४९० नम्बरको बंशजको नागरिकता लिएका थिए । उनी भारत बिहारका नागरिक हुन् ।

बिहार सरकारले टाउको मूल्य तोकेर बिहारको आतंक उपनाम दिएका भारतीय नागरिक धिरेन्द्र यादवले सप्तरी र सुनसरी गरि दुई ठाउवाट नेपाली नागरिकता लिए । ०६३ सालमा टोली गाउ पुग्दा उनले आर्थिक प्रलोभनमा सप्तरीको बभनगामा कट्टी गाविस २ वाट शंकर यादवको छोरा महाबीर यादव भई गलत कागजात पेस गरेर नेपाली नागरिकता लिए ।

यस्तै धिरेन्द्रले सुनसरीको पश्चिम कुसहाबाट पनि नेपाली नागरिकता लिएका थिए । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जेल परेका उनी पनि ०६९ साल कार्तिक २३ गते झुम्का कारगारबाट फरार भएका थिए ।

भारतमा विभिन्न अपराध गरी नेपाल प्रबेश गरेर तात्कालीन जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजनमुक्ति) समूहका सप्तरी जिल्ला इन्चार्ज बताउने सुभाष झाले सुनसरी जिल्लाको श्रीपुर गाविस ३ वाट दिनेश झाको नाममा नेपाली नागरिकता लिए । झुम्का कारागारवाट भाग्नु अघि झा पनि फर्जी नागरिकता समबन्धी मुद्धामा कारागारमा थिए ।

०५३ साल असार २ गतेको मितिमा मकवानपुर मदमापोखरी ५ का मनोजकुमार थापाले झुठा विवरण पेस गरी सप्तरी जिल्लाको वतन देखाई नेपाली नागरिकता लिए । प्रहरीले उनलाई ०७३ साउन १२ गते पक्राउ गरी अदालतमा मुद्धा लग्दा २५ हजार धरौटीमा छुटे ।

सप्तरी प्रहरीका अनुसार भारत घर भई झापा जिल्लाको बिर्तामोड बस्दै आएका संगिता राजबंसीले सप्तरी जिल्लाको वतन देखाई नक्कली नागरिकता वनाएर झापा जिल्लावाट राहदानी बनाइविदेश जान लागेका बेला ०७३ मंसिर १८ गते पक्राउ गरिए । उनी पनि अदालतको आदेशमा ५० हजार धरौटी बुझाई छुटे ।

भारतीय नागरिक शिवनारायण पंडित झुटकी १ सप्तरीको ठेगाना देखाई झुठा बिबरण पेश गरि नेपाली नागरिकता प्राप्त गरे । ०७२ माघ ३ गते पक्राउ गरिएका उनी ५० हजार धरौटीमा रिहा भए ।

तीन किसिमका किर्ते नागरिकता
सप्तरी जिल्लाबाट किर्ते कागजातका आधारमा नेपाली नागरिकता बनाइदिने गिरोह नै सक्रिय छ । प्रहरीले विभिन्न समयमा पक्राउ गरेका किर्ते नेपाली नागरिकताधारीको नागरिकता हेर्दा तीन किसिमबाट किर्ते नेपाली नागरिकता बनाएको पाइएको छ ।

२०६३ सालमा गाउँमा टोली गएका बेला सयौं भारतीयले नेपाली नागरिकता लिएका थिए । जसमध्ये केहीलाई प्रहरीले पक्राउ गरिसकेको छ । त्यति बेला तात्कालीन दलका प्रतिनिधिहरूले सिफारिस गरे पुग्ने प्रावधानका कारण रकम खर्चेर धेरै भारतीयहरूले नेपाली नागरिकता लिएका थिए ।

किर्ते नागरिकता बनाउने अर्को अवस्था हो,प्रशासन कार्यालय बाहिरै नागरिकता बनाइदिने । नेपालमा शासन व्यवस्था परिवर्तन भए पनि श्री ५ को सरकारको ठाउँमा नेपाल सरकार लेखिएको नागरिकता कार्ड आउँदा पुराना कार्डहरू कुनै कमृचारीले आफूसित लिएर गएको र अहिले रकम लिएर आफूखुसी नाम ठेगाना भरी नागरिकता दिने गरेका छन् ।

जिल्ला प्रशासनकै कर्मचारीको मिलेमतोमा फर्जी कागजातका आधारमा नेपाली नागरिकता बनाउने प्रवृत्ति पनि सप्तरीमा कायमै छ । समान्य नागरिकले नागरिकता बनाउन जाँदा कागजी प्रक्रिया नपुगेको भन्दै कयौंपटक फर्काउने गरिएको छ ।

तर आपराधिक चरित्र भएका विदेशी नागरिकहरू भने रकमको आडमा सहजै नेपाली नागरिकता पाउने गरेका छन्, त्यो पनि कतिपयले बंशजकै आधारमा ।

Esewa Pasal

प्रकाशित : भाद्र १९, २०७५ १०:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आयआर्जन गर्दै महिला

शाहीमान राई

जनकपुर — धनुषाको लक्ष्मिनिया गाउँपालिका–५ गजरियाकी २६ वर्षीया सुधिरादेवी यादव केही वर्षदेखि भैंसीपालन थालिन् । भैंसीको दूध बेचेर ७ जनाको परिवार पालिएकी छन् ।

उनको परिवारले दूध बेचेरै खाद्यान्न, नुन, तेल, खानेकुरा, लत्ताकपडा र घर खर्च धानेका छन् । सोही गाउँकी ३५ वर्षीय ममवत्ति सदा भने गाई पाल्छन् । उनले पनि गाईको दूध बेचेर घर खर्च धान्दै आएकी छन् । उनको छिमेकी ४२ वर्षीय रामतोला रामले पनि गाईपालन गरेर पर्याप्त आयआर्जन गर्छिन् ।

गरिब, दलित, विपन्न, पिछडिएका समुदायलाई सरकारले गरिबी निवारण कोषवाट सामुदायिक संस्थामार्फत सस्तो व्याजमा ऋण सुविधा दिएपछि उनीहरू आयआर्जनका लागि व्यावसायिक बन्न थालेका हुन् ।

कोषले सामाजिक वर्गीकरणमा पछि परेका अति गरिब विपन्न वर्गमा पर्ने व्यक्तिहरूको समूह निर्माण गरी गठित सामुदायिक संस्थालाई एकमुष्ठ अनुदान दिने गरेको छ । त्यही संस्थामार्फत सस्तो व्याजमा ऋण लिएर आयआर्जनका निम्ति व्यावसायमा लगानी गर्छन् । आफ्नै समूहमा निर्णय गरेको व्याजदरमा किस्ता तिर्छन् ।

नियमित बचत गरेवापत मासिक १ रूपैयाँ (१२ प्रतिशत) ले व्याज पनि पाउँछन् । ऋण लिएबापत मासिक १ रूपैयाँ (१२ प्रतिशत) व्याज तिर्ने गरेका छन् । वचत रकम र ऋणको किस्ता साँवा व्याज असुलिएको रकम समूहको कोषमा जम्मा गर्छन् ।

आफ्नो समूहमा मात्र परिचालित पुँजी मासिक रूपमा बृद्धि हुने र त्यही कोष समुदायमा परिचालन गर्दै आएका छन् । कोषको रकम समूहले मास्न नपाउने तर सहुलियत ऋण प्रदान गर्ने भएकोले प्रभावकारी भएको लक्ष्मिनिया–५ गजरियाका ७० वर्षीय रामपृत यादवले बताए ।

लक्ष्मिनिया गाउँपालिका–४ सपहीकी ४५ वर्षीया अन्जु सिंहले ३ वर्षअघि ७० हजार रूपैयाँ ऋण लिएर किराना पसल सुरु गरिन् । उनकै नेतृत्वको जनजागृति सामुदायिक संस्थाबाट ऋण लिँदै, चुक्ता गर्दै व्यापार गर्दै आएकी उनले दैनिक २ हजार रूपैयाँ कमाउने गरेको बताइन् ।

वर्षाैंदेखि छाप्रोमा बस्दै आएका सिंह परिवारले एकतले पक्की घर बनाउँदै छन् । सोही गाउँकी ३० वर्षीया अम्बिका साहले समूहबाट ३५ हजार ऋण लिएर किराना पसल सुरु गरिन् । बाक्लो बस्ती रहेको उनको घरमै दैनिक ४ हजार रूपैयाँको सामग्री बेच्छिन् ।

रामजानकी सामुदायिक संस्थाको सदस्यरहेकी सुधिरादेवी यादवले समूहबाट एक लाख ५० हजार ऋण लिएर दुहुना भैंसी किनेकी थिइन् । त्यही भैंसीको दूध बिक्री गरेर ऋणको साँवाव्याज चुक्ता गरिसकेकी उनले छोराछोरीको पढाइ खर्च समेत धानेको बताइन् । प्रतिलिटर ७० रूपैयाँका दरले दैनिक १० लिटर दूध बिक्री गरेर मासिक २१ हजार आम्दानी गर्दै आएको बताइन् ।

‘दूध छोराछोरी घर परिवारलाई पनि भो, बेचेर आम्दानी पनि हुने,’ उनी भन्छिन्, ‘एउटा भैंसी किनेको ३ वटा भइसके, ऋण पनि चुक्ता गरिसकेें ।’ समूहबाट एक लाख ऋण लिएर गाइ पाल्न सुरु गरेकी ममवत्ति सदा परिवारले राम्रो आयआर्जन गर्न थालेका छन् ।

वर्षभरि खान नपुग्ने उनको परिवारले गाइपालन सुरु गरेपछि दूध बिक्री गरेर खाद्यान्न, लत्ताकपडा र छोराछोरीको पढाइ खर्च धानेका छन् । संस्थावाट ७० हजार ऋण लिएर गाईपालन गर्दै आएकी ४२ वर्षीया रामतोला रामको आम्दानी बढेको बताइन् ।

प्रकाशित : भाद्र १९, २०७५ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT