२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘रेल्वे लाइनको बहुउपयोग गर्नुपर्छ’

सर्वाधिक उद्योगधन्दा रहेको पर्सा बारा औद्योगिक करिडोरका उद्योगले यो रेल्वे लाइनबाट पनि लाभ लिन सक्ने सम्भाव्यताबारे पनि सुरूमै अध्ययन गर्न जरूरी छ
शंकर आचार्य

पर्सा — मुलुकको आर्थिक राजधानी वीरगन्जका उद्योगी व्यवसायीले प्रस्तावित रक्सौल काठमाडौं रेल्वे लाइनको बहुउपयोग गरिनुपर्नेमा जोड दिएका छन् ।

‘रेल्वे लाइनको बहुउपयोग गर्नुपर्छ’

भारत तथा नेपालबीच सम्पन्न दुई देशिय सम्झौतापछि रेल्वे लाइन पटकपटक निर्माण नहुने भएकाले यसको निर्माणअघि यस भेगका आर्थिक विकास तथा अन्य सम्भावनाहरूलाई जोडेर रेल्वे लाइन निर्माण गरिनुपर्ने उनीहरूले सुझाएका छन् ।

यहाँका उद्योगी व्यवसायी मात्र नभई उनीहरूको छाता संगठन वीरगन्ज उद्योग वाणिज्य संघले नै समेत औपचारिक रूपमै यो रेल्वे लाइन निर्माणको माग र त्यसको लविङ गर्न थालेको पनि करिब २ दशक भइसकेको थियो ।

संघका पूर्वअध्यक्ष तथा हाल नेपाल उद्योग वाणिज्य महासंघको यातायात तथा पारवहन समितिका अध्यक्ष समेत रहेका अशोक कुमार टेमानी आफूहरूको लामो समयदेखिको माग पूरा हुन लागेकोमा हर्षित रहेको बताउँछन् । तर यो रेल्वे लाइन निर्माण गरिदा भविष्यमा त्यसको बहुउपयोग हुने गरी निर्माण गर्दा उत्तम हुने उनको भनाइ छ ।

रेल्वे लाइन निर्माण गर्नु अघि सरकारले कम्तीमा वीरगन्जका उद्योगी व्यवसायीसँग त्यससँग सम्बन्धित तथा सरोकारका विषयमा राय सुझाव लिनुपर्ने टेमानी बताउँछन् । ‘रेल लाइन भारतले बनाउँदैछ, यसको डीपीआर पनि उसैले बनाउँदैछ,’ उनले भने, ‘तर रेल लाइन निर्माण गर्नु अघि त्यसको कसरी अधिकतम नेपाली जनता र सर्वाधिक उद्योगधन्दा रहेको पर्सा बारा औद्योगिक करिडोरका उद्योगले यो रेल्वे लाइनबाट पनि लाभ लिन सक्ने सम्भाव्यता बारे पनि सुरुमै अध्ययन गर्न जरुरी छ ।’

यो रेल्वे लाइन र रेल्वे सेवालाई ‘नेपाली मोडेल’ को बनाउनुपर्नेमा उनले जोड दिए । नेपालको रेल्वे विभागले रेल लाइन निर्माणअघि नै रेलबाट आफ्नो मुलुकको आवश्यकता, उपयोगिता आदिबारे अध्ययन गर्न जरुरी रहेको उनले बताए । वीरगन्ज क्षेत्र मुलुककै सर्वाधिक राजश्व संकलन गर्ने क्षेत्र भएकाले पनि वीरगन्ज भएर निर्माण हुने रेल लाइन र यसमा चल्ने रेलले यहाँको उद्योग व्यवसायलाई पनि सक्दो लाभ दिनुपर्ने उनको सुझाव छ ।

यहाका ठूला उद्योगहरूले तेश्रो मुलुक तथा भारतबाट समेत कच्चा पदार्थ आयात गर्दा भारतकै बाटो आयात गर्ने भएकाले रेलको लिक ती उद्योगसम्मै निर्माण गरिदिए उद्योगहरूले सहजै आफ्ना कच्चा पदार्थ उद्योगसम्मै ल्याउन सक्छन् । त्यसले उद्योगहरूको ढुवानी लागत र समयको बचत समेत हुने भएकाले त्यसले उत्पादित बस्तुको मूल्य पनि कम पर्न जाने उनले बताए ।

करिडोरका कतिपय उद्योगले एक रेल्वे र्‍याकभन्दा बढी कन्टेनरमा मालबस्तु ल्याउन थालेका छन् । यस्ता उद्योगसम्मै रेल्वे लिक निर्माण गरिए उनीहरूलाई धेरै राहत हुने टेमानी दाबी गर्छन् । अर्का उद्योगी हरि गौतम यो रेल्वे लाइन नेपालकै लाइफ लाइन साबित हुन सक्ने भएकाले निर्माणअघि गहन रूपमा यसको सम्भाव्यता अध्ययन जरुरी रहेको बताउँछन् ।

राजधानीसँगको सबैभन्दा छोटो दूरीको नाकासँग जोडिन लागेको रेल्वे लाइन राजधानीको चोभारमा निर्माण हुने अर्को सुक्खा बन्दरगाहसँग पनि जोडिने चर्चा रहेकाले यसको उपयोग यात्रुबाहक मात्र नभई मालबाहक रेलका रूपमा पनि गर्न सकिने प्रशस्त सम्भावना रहेको उनले बताए ।

यो रेल मार्गले भारतीय पर्यटकलाई सोझै नेपालको राजधानी सम्म जोड्ने भएकाले पर्यटकको आगमन पनि बढ्ने सम्भावना रहेको उनले बताए ।

भन्सार एजेन्ट श्यामबाबु पटेल भारतमै कतिपय उद्योग परिसरसम्म रेल्वे लिक निर्माण गरिएको र ती उद्योगले आफ्नै परिसरसम्मै आफ्ना कच्चा पदार्थ ल्याउने र उत्पादित बस्तु बजारमा लग्ने प्रयोजनका लागि मालवाहक रेल उपयोग गरी रहेकाले नेपालमा पनि त्यस्तै अभ्यास गर्नुपर्ने बताउँछन् ।

प्रकाशित : भाद्र १९, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?