३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

करको विरोधमा र्‍याली

भरत जर्घामगर

सिरहा — कर वृद्धिको विरोधमा मिर्चैयामा व्यवसायी, पूर्व जनप्रतिनिधिसहित नगरवासीले मंगलबार विरोध र्‍याली प्रदर्शन गरेका छन् । 

करको विरोधमा र्‍याली

मिर्चैया नगरपालिकाले मालपोत, घरजग्गा, एकीकृत सम्पत्ति करदेखि परेवा, हाँस र कुखुरा लगायत राष्ट्रिय राजमार्गको घरधुरीमा समेत व्यापक कर निर्धारण गरेको भन्दै व्यवसायी, पूर्व जनप्रतिनिधि सहित नगरबासीद्वारा गठित संयुक्त संघर्ष समतिले विरोध र्‍याली प्रदर्शन गरेका हुन् ।


‘वृद्धि गरेको कर फिर्ता गर, भ्रष्टाचार बन्द गर’ लगायत नारा लगाउँदै मिर्चैयास्थित सलहेश चौकबाट निस्किएको र्‍याली नगरक्षेत्र परिक्रमा गरी नगरपालिकाको मुख्य गेटमा पुगेर कोण सभामा परिणत भएको थिये ।


आर्थिक वर्ष २०७५/७६ मा निर्धारण गरेको कर सर्वसाधारणको आर्थिक हैसियतभन्दा माथि रहेको भन्दै संयुक्त संघर्ष समितिले विरोध जनाउँदै जनताको ढाड सेक्ने गरी निर्धारण गरेको भन्दै कर स्थगन गरी सर्वपक्षीय सहमतिबाट निर्धारण गर्न माग गर्दै मेयर श्रवण यादवलाई गत साउन २९ गते ज्ञापनपत्र बुझाएका थिए ।


ज्ञापनपत्रमा संयुक्त संघर्ष समितिले नगरपालिकाले लिइरहेको नयाँ कर, शुल्क र राजस्व पूर्ण रुपमा स्थगित हुनुपर्ने, पुरानो कर पनि संशोधनपश्चात मात्र लागू गर्नुपर्ने लगायत ८ बुँदे माग पेश गरेका थिए ।

ज्ञापन पत्र बुझ्दै मेयर यादवले भदौ १५ गतेभित्र माग सम्बोधन गर्ने आश्वासन दिएपनि कुनै सुनुवाई नभएपछि चरणबद्ध विरोधमा उत्रन बाध्य भएको जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका उपाध्यक्ष तथा मिर्चैयाका स्थानीय व्यापारी अशोक कुमार साहले बताए ।


आव २०७४/७५ को वडा र नगर स्तरीय योजनाहरुको लागत इष्टिमेट सहित मूल्यांकन विवरण उपलब्ध गराउनुपर्ने, विभिन्न निकायबाट नगरपालिकामा दाखिला भएको आम्दानीको विवरण उपलब्ध गराउनुपर्ने, कोटेशन र सडक बोर्डको कार्यको विवरण उपलब्ध गराउनुपर्ने, आन्तरिक कोषबाट नियुक्ती गरिएका कर्मचारीको विवरण उपलब्ध गराउनु पर्ने माग संघर्ष समितिले राख्दै आएको छ ।


त्यसैगरी घटना दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाई सराइ नि:शुल्क हुनुपर्ने र विभिन्न शिर्षकमा वडा र नगरपालिकामा खरिद भएका सामग्रीहरुको भुक्तानीको विवरण उपलब्ध गराउनुपर्ने माग राख्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए ।


नगरपालिकाले परेवा, हाँस र कुखुरादेखि राष्ट्रिय राजमार्गको घरधुरीमा समेत व्यापक कर निर्धारण गरेको गुनासो स्थानीयले गर्दै आएका छन् ।

‘राजमार्ग छेउका घरको वार्षिक कर ६० हजार रुपैयाँसम्म तोकिएको छ’ जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका उपाध्यक्ष तथा मिर्चैयाका स्थानीय व्यापारी साहले भने ‘त्यत्रो कर घरधनीले कहिले र कसरी तिर्नु ?’


नगरपालिकाले निर्धारण गरेको कर सूचीमा हाँस विक्री गर्नेबाट प्रति जोडा २० रुपैयाँ र कुखुरा विक्री गरे प्रतिथान ५० रुपैया कर तिर्नुपर्ने छ । यसअघि ती पंक्षीको विक्री वितरणमा कर निर्धारण थिएन ।


कोण सभामा बोल्दै उद्योग वाणिज्य संघ मिर्चैयाका सचिव भरत महासेठले नगरपालिकाले कर वृद्धि गरेर व्यापारी लगायत आमजनतालाई आर्थिक भारमा पारेको भन्दै फिर्ताको माग गरे ।

नेकपाका नेता प्रदिप महासेठले नगरपालिकाले वृद्धि गरेको कर संशोधन नगरेसम्म चरणबद्ध संघर्ष जारी रहने बताए ।

प्रकाशित : भाद्र १९, २०७५ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?