जाल हान्दै, गुजारा चलाउँदै

अहिले ग्वाङखोलाको माछा प्रतिकेजी ६ सयमा बिक्ने बुद्धिबहादुरले बताए
रवीन्द्र उप्रेती

महोत्तरी — ग्वाङखोलाको सङ्लो पानीमा माछा मर्नु ४२ वर्षीय बुद्धिबहादुर दर्लामीको दैनिकी हो । वीपी राजमार्गमा यात्राका क्रममा आइतबार साँझ माछा मार्दै गरेका बेला उनी भेटिए ।

जाल हान्दै, गुजारा चलाउँदै

उनले साँझ बिहान खोलामा जाल हाल्नु रहर नभई जीवन गुजाराको एकमात्र साधन भएको बताए ।

उनीसँग जीवन धान्ने अर्को विकल्प छैन । सम्पत्तिको नाममा परिवारमा जम्मा ३ कठ्ठा जमिन छ । सिन्धुलीको कमलामाई नगरपालिका ८ स्थित ग्वाङ खोलाको पश्चिमी किनारमा पर्ने करकरेमा उनको भूकम्पले चर्केको एउटा सानो घर छ । घरमा बूढा बाबु, पत्नी र १२ कक्षा पढेकी छोरी बस्छन् ।

गत वर्ष एसईई गरेको उनको एउटा छोरो पनि छ । खर्च अभावले छोरोलाई माथि पढाउन नसकेको चिन्ताले उनलाई बेलाबेला सताउने गरेको दुखेसो प्रकट गरे । केही दिन भयो छोरो काठमाडौंमा थापा थरका साहुको डोजर चलाउन थालेको छ । कलिलो उमेरमा डोजर चलाउनु रोजगार नभएर ‘गरिबी’ को कारण भएको उनको बुझाइ छ । त्यो पनि सधंै काम नहुँदा भनेजस्तो तलब नपाएको उनले बताए ।

मुलुकमा परिवर्तन आए पनि उनी र उनका परिवारले भने अझैसम्म त्यसको अनुभूति गर्न नपाएको बताए । भूकम्पले घर चर्कायो, कतैबाट कुनै सहारा नपाएको गुनासो पोखे । न उनको पेसा र आर्थिक अवस्थामा परिवर्तन भयो न कुनै रोजगारीको अवसर । ‘परिवर्तन आयो भन्छन्, मैले त बुझेको छैन,’ उनले व्यंग्य गरे, ‘भूकम्पले ढल्न लागेको घर जस्ताको त्यस्तै छ, खोलामा जाल नफयाकी अहिले पनि पेट भर्दैन, यही हो परिवर्तन ?’

यिनै प्रारब्धले ग्वाङखोलाको दैनिकीबाट अहिले नै मुक्ति पाइहाल्ने सम्भावना उनी देख्दैनन् । खोलासँग गासिएको साइनोलाई उनी भोकतिर्खासँग तुलना गर्छन् । भन्छन्, ‘अरूले खोलामा पानी बगेको देख्छन्, मेरो भोकतिर्खा भने यही खोलाले मेट्दै आएको छ ।’

साइत जुरेको दिन खोलामा साँझबिहान गरेर उनी २ देखि पौने ३ किलोसम्म माछा पर्ने गरेको बताउँछन् । वीपी राजमार्ग सञ्चालनमा आएदेखि ग्राहकको कमी छैन । मूल्य पनि मागे जति दिन्छन् । तर खोलामा पहिलेझैं माछा पाइन छाडेकाले माग र मूल्यअनुसारको लाभ भने लिन नसकिएको उनको भनाइ छ ।

अहिले ग्वाङखोलाको माछा प्रतिकेजी ६ सयमा तुरुन्तै बिक्ने गरको बुद्धिबहादुरले बताए । सडक छेउ लाइन होटलका अडर नै पूरा गर्न सकिएको छैन । ‘ग्वाङखोलाको माछा देखेपछि गाडीमा आउने यात्रुसमेत मरिहत्ते गर्छन्,’ उनले भने, ‘खोलामै माछा रित्तिँदै गयो, सवैलाई पुर्‍याउनै सकिँदैन ।’

वीपी राजमार्ग बन्नुपहिले यही खोलामा प्रशस्त माछा पाइन्थ्यो । जाँगर चलाउँदा दिनमै डोको र डालोभरि माछा पक्रन सकिन्थ्यो । तर ऊ बेला ग्राहक थिएनन् । धार्नीको २५/५० तिर्ने कोही हुँदैनथे । ग्राहकको खोजीमा माछाको भारी बोकेर २५ किमि दूरीमा रहेको महोत्तरीको बर्दिवाससम्म पुग्नुपरेको दिन सम्झन्छन् ।

‘पहिले माछा थिए, किनिदिने थिएनन्,’ उनले सडक बन्नुभन्दा अघि र पछिको अवस्था तुलना गरे । ‘अब गाडीका गाडी ग्राहक आउँछन् खोलामा भने माछा पातलिँदै गयो ।’ प्रसिद्ध कमला नदीको मुहान रहेको ग्वाङखोलाका माछा किन निख्रन थाले बैज्ञानिक कारणबारे करकरेवासी अनभिज्ञ छन् ।

प्रदूषण, अवैध उत्खनन, खोलामा विषादीको प्रयोगजस्ता कारण माछा पातलिएको अनुमान छ । उता मरिनलगायत क्षेत्रमा माछा मार्न जिलेटिनलगायत विष्फोटकको प्रयोगले रैथाने माछा लोपोन्मुख अवस्थामा पुगेको गाउँलेको भनाइ छ । ‘माछा घट्दै गएपछि कप्टेरामा उनेको सुकुटी त अब पाइनै छाड्यो,’ उनले बताए ।

स्थानीय तहले आफूजस्ता गरिबको हितमा कुनै कार्यक्रम ल्याएको उनलाई थाहा छैन । ‘माछा मारेको कर भने अहिलेसम्म मागेका छैनन्, गुन भन्ने कि परिवर्तन यही हो,’ उनले जालबाट माछा निकाल्दै अर्को व्यंग्य कसे ।

प्रकाशित : भाद्र २०, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?