गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलित

रवीन्द्र उप्रेती

महोत्तरी — लामो समयदेखि तलब सुविधा नपाएपछि समसी गाउँँपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेका छन् ।

गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलित

समसीअन्र्तगत ५ स्वास्थ संस्थाका ३५ स्वास्थ्कर्मीले गाउँँपालिका कार्यालयको मूल गेटमा मंलबारदेखि सुरु गरेको धर्ना बुधबार पनि जारी छ । तत्काल माग पूरा नगरे आन्दोलन चर्काउनुको विकल्प नभएको उनीहरूले बताए ।

सबै स्वास्थकर्मी आन्दोलनमा उर्लेकाले गाउँपालिकाअन्र्तगतका एक प्राथमिक स्वास्थ्यकेन्द्र र ४ स्वास्थ्यचौकीका आकस्मिकबाहेक सबै सेवा ठप्प छन् । गाउँपालिकाले आघिल्लो परिषद्बाट पारित गरेको मासिक हजार रुपैयाँसमेत रोकेको भन्दै ४५ महिला स्वास्थ्य स्वयंसेविकासमेत काम रोकी आन्दोलनमा ऐक्यबद्ध भएपछि समसी गाउँपालिकाको स्वास्थ्य क्षेत्र अहिले अस्तव्यस्त छ ।

आन्दोलन अगुवाइ गरेका जनस्वास्थ्य निरीक्षक राघवेन्द्र यादवका अनुसार गाउँपालिकाले बिनाकारण गत आवदेखिकै तलबभत्ता रोकी राखेको छ । उनले ३४ स्वास्थ्यकर्मीले गत वैशाखदेखि र डा. पिंकी साहले भने माघदेखि नै तलब नपाएपछि आन्दोलनमा उत्रनु बाध्यता बनेको बताए ।

लामो समयदेखि तलब नपाउँदा हातमुख जोर्न र छोराछोरीको स्कुलको फिससमेत तिर्न समस्या भएको पीडित स्वास्थ्यकर्मीको दुखेसो छ । खर्च अभवाले ल्याएको समस्या सुनाउँदै गर्दा कतिपय महिला स्वास्थ्यकर्मीका आँखा रसाए । ‘राज्यले दिएको तलबसुविधासमेत रोकेर हामीलाई कुन गल्तीको सजाय दिन खोजेका हुन् ?’ उनीहरूले प्रश्न गरे ।

आफ्ना स्वास्थ्यकर्मीको ५/७ महिनादेखि तलब रोकिए पनि गाउँपालिका अध्यक्ष शेख फारुकले आफूलाई यसअघि कुनै जानकारी नभएको बताए ।

‘मेरो टेबुलमा स्वास्थ्यकर्मी आउँदै आएनन्, मलाई त जानकारी नै दिएनन्,’ फारुकले भने, ‘उनीहरू एकाएक आन्दोलनमा उत्रेपछि मात्र तलब नपाएको समस्या थाहा भयो ।’
तर उनको भनाइ हास्यास्पद रहेको आन्दोलनरत स्वास्थ्यकर्मीले बताए । ‘यस्तो जवाफ जिम्मेवारीबाट पन्छने नियतले दिएको हुन सक्छ,’ उनीहरूले प्रतिवाद गरे ।

जनस्वास्थ्य निरीक्षक राघवेन्द्रका अनुसार तलब रोकेपछि स्वास्थ्यकर्मीले असार २८ गते नै अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखापालसमेतलाई सामूहिक जानकारी गराएको दाबी गरे । अध्यक्ष फारुकले भने, ‘छिट्टै निकासा गराई सबै तलबभत्ता उपलब्ध गराउँछौं ।’

तलब पाउने सुरसार नदेखेपछि स्वास्थ्यकर्मीले औपचारिक बैठक बसी गाउँपालिका कार्यालयमा १० बुँदे ज्ञापन बुझाएका थिए । तलब नपाएर स्वास्थ्यकर्मीको अवस्था जटिल बन्दै गएपछि साउन ६ गते प्रशासन कार्यालयमा सोही ज्ञापन बुझाए । प्रशासनमा अध्यक्ष फारुकसमेतको सहभागितामा छलफल भयो ।

त्यहाँ लेखापाल कौशल बछाडले साउन २५ गतेभित्र तलब ख्वाइसक्ने वाचा गरेपछि सबै आशामा थिए । प्रशासनको रोहबरमा गरेको वाचा भदौ दोस्रो साता बितिसक्दा पनि पूरा नभएपछि उनीहरू काम रोकी धर्नामा बसेका हुन् । ‘

भोको पेटले आन्दोलन गर्ने कि काम ?’ धर्ना बसेका स्वास्थ्यकर्मीले प्रश्न गरे । प्रमुख जिल्ला अधिकारी उमेश ढकालले समसीका स्वास्थ्यकर्मीको समस्याप्रति प्रशासन गम्भीर भएको बताए ।

प्रकाशित : भाद्र २१, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?