कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

करको विरोधमा र्‍याली

भरत जर्घामगर

सिरहा — कर वृद्धिको विरोधमा मिर्चैयामा व्यवसायी, पूर्वजनप्रतिनिधिसहित नगरवासीले मंगलबार विरोध र्‍याली प्रदर्शन गरेका छन् ।

करको विरोधमा र्‍याली

मिर्चैया नगरपालिकाले मालपोत, घरजग्गा, एकीकृत सम्पत्ति करदेखि परेवा, हाँस र कुखुरालगायत राष्ट्रिय राजमार्गको घरधुरीमा समेत व्यापक कर निर्धारण गरेको भन्दै व्यवसायी, पूर्वजनप्रतिनिधि सहित नगरवासीद्वार गठित संयुक्त संघर्ष समतिले विरोध र्‍याली प्रदर्शन गरेका हुन् ।

‘वृद्धि गरेको कर फिर्ता गर, भ्रष्टाचार बन्द गर’ लगायत नारा लगाउँदै मिर्चैयास्थित सलहेश चौकबाट निस्किएको र्‍यालीले नगरक्षेत्र परिक्रमा गरी नगरपालिकाको मुख्य गेटमा पुगेर कोण सभा गरेको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा निर्धारण गरेको कर सर्वसाधारणको आर्थिक हैसियतभन्दा माथि रहेको भन्दै संयुक्त संघर्ष समितिले विरोध जनाउँदै जनताको ढाड सेक्ने गरी निर्धारण गरेको भन्दै कर स्थगन गरी सर्वपक्षीय सहमतिबाट निर्धारण गर्न माग गर्दै मेयर श्रवण यादवलाई गत साउन २९ गते ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा संयुक्त संघर्ष समितिले नगरपालिकाले लिइरहेको नयाँ कर, शुल्क र राजस्व पूर्ण रूपमा स्थगित हुनुपर्ने, पुरानो कर पनि संशोधनपश्चात् मात्र लागू गर्नुपर्ने लगायत ८ बुँदे माग पेस गरेका थिए ।

ज्ञापनपत्र बुझ्दै मेयर यादवले भदौ १५ गतेभित्र माग सम्बोधन गर्ने आश्वासन दिए पनि कुनै सुनुवाइ नभएपछि चरणबद्ध विरोधमा उत्रन बाध्य भएको जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका उपाध्यक्ष तथा मिर्चैयाका स्थानीय व्यापारी अशोककुमार साहले बताए ।

त्यस्तै, घटना दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइसराइँ नि:शुल्क हुनुपर्ने र विभिन्न शीर्षकमा वडा र नपामा खरिद भएका सामग्रीहरूको भुक्तानीको विवरण उपलब्ध गराउनुपर्ने माग राख्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए ।

नगरपालिकाले परेवा, हाँस र कुखुरादेखि राष्ट्रिय राजमार्गको घरधुरीमा समेत व्यापक कर निर्धारण गरेको गुनासो स्थानीयले गर्दै आएका छन् । ‘राजमार्ग छेउका घरको वार्षिक कर ६० हजार रुपैयाँसम्म तोकिएको छ,’ जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका उपाध्यक्ष तथा मिर्चैयाका स्थानीय व्यापारी साहले भने, ‘त्यत्रो कर घरधनीले कहिले र कसरी तिर्नु ?’

प्रकाशित : भाद्र २१, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?