पति र जेठाजुबाट नवविवाहिता बलात्कृत

पर्सा — एक नवविवाहिता महिला आफ्नै पति र जेठाजुबाट सामूहिक बलात्कारमा परेको घटना सार्वजनिक भएको छ ।

पति र जेठाजुबाट नवविवाहिता बलात्कृत

आफ्नै पत्नी र भाइ बुहारीलाई सामूहिक बलात्कार गरेको आरोपमा पति र जेठाजुलाई जिल्ला अदालतले पुर्पक्षका लाग जेल चलान गरेको छ ।

पर्सा जिल्ला अदालतका न्यायाधीश सूर्य प्रसाद अधिकारीको इजलासले पोखरिया नगरपालिका १ वनकटवाका २७ वर्षीय राजकपुर ठाकुर र उनका दाजु ४० वर्षीय सुरेन्द्रलाई बुधबार जेल चलान गरेको हो ।

राजकपुरकी २० वर्षीया पत्नीले पति र जेठाजु मिलेर आफूलाई पटकपटक जबर्जस्ती र सामूहिक बलात्कार गरेको जाहेरी साउन २२ गते जिल्ला प्रहरी कार्यालयमा दिएकी थिइन् । त्यसपछि प्रहरी सक्रिय भएर दुबै आरोपितलाई पक्राउ गरेको हो ।

उनी र राजकपुरबीच यसै वर्षको असार ७ गते परम्परागत मागी विवाह भएको हो । पतिको घरमा पुगेपछि जेठाजु सुरेन्द्र घरमा हावी भएको अनुभूति आफूले गरेको उनले जाहेरीमा उल्लेख गरेकी छन् ।

असार ११ गते राति करिब ११ बजेको समयमा आफू पति राजकपुरसँग घरको कोठामा रहेको बेला जेठाजु सुरेन्द्र पनि आफ्नो कोठामा प्रवेश गरेको उनले जाहेरीमा उल्लेख गरेकी छन् । ‘जेठाजुलाई मुख देखाउन नहुने, जिउ छुन नहुने परम्परा रहेकाले म कोठा बाहिर निस्कन खोज्दा पति राजकपुरले मेरो हात समातेर हामी दाजुभाइ एक हौं,’ जाहेरीमा लेखिएको छ, ‘हामीसँग संकोच मान्नु पर्दैन भन्दै मलाई सुत्ने पलंगमा बसाए र दाजु सुरेन्द्रलाई पनि पलंगमा आउन संकेत गरे ।’

जाहेरीमा लेखिएको छ, ‘यसरी दुवै दाजु भाइ मेरो पलंगमा बसी मलाई सुमसुम्याउन थालेपछि मैले विरोध गरें, मैले विरोध गर्ने बित्तिक्कै मलाई जेठाजु सुरेन्द्रले बलपूर्वक दुवै हात समाई पलंगमा पछारी ममाथि चढे ।’ आफ्नो संरक्षण गर्नुपर्ने दायित्व भएका पति राजकपुरले झन् आफ्नो लुगा खोली मुख थुनी दाजु सुरेन्द्रलाई जबर्जस्ती करणी गर्न सघाएको उनले जाहेरीमा दाबी गरेकी छन् ।

जेठाजु सुरेन्द्रले आफ्नो अस्मिता लुटेपछि पतिले पनि जबर्जस्ती गरेको उनले उल्लेख गरेकी छन् । आफूले यसको विरोध गर्दा धारिलो चक्कु देखाई कसैलाई भने वा केही बोले ज्यान मार्ने धम्की दिएको उनले जाहेरीमा उल्लेख गरेकी छन् । यसरी आफू पटकपटक बलात्कृत हुँदै आएको उनले दाबी गरेकी छन् ।

पति र जेठाजु दुबै काठमाडौंमा रोजगारी गर्ने र आफूलाई पनि काठमाडौं जान पटकपटक दबाब दिएकोमा आफूले माइतीमा आएर आमालाई बताएपछि प्रहरीलाई उजुरी गर्न आएको उनले जाहेरीमा उल्लेख गरेकी छन् ।

आरोपित राजकपुर र सुरेन्द्रले आफूहरू उपरको आरोप निराधार रहेको बयान अदालतमा दिएका छन् । न्यायाधीश अधिकारीले आरोपित ठाकुरद्वयलाई मुलुकी ऐन २०७४ को दफा ६७(१) को आधारमा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न ऐनको ८० नम्बर बमोजिमको थुनुवा पुर्जी दिई कारागार पठाउन आदेश दिएका छन् ।

थुनछेक प्रयोजनमा उनका तर्फबाट जिल्ला न्यायाधीवक्ता रुद्रप्रसाद सुवेदी, अधिवक्ताहरू रामनारायण कुर्मी, दीपनारायण उपाध्याय र अन्जन अधिकारीले बहस गरे । प्रतिवादीहरूका तर्फबाट अधिवक्ताद्वय सुधिरकुमार कर्ण र प्रमोद प्रसादले बहस पैरवी गरेका थिए ।

प्रकाशित : भाद्र २२, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?