भीमसेन जात्रा शान्त

पर्सा — विगतमा प्रहरी प्रशासनका लागि चुनौती बन्दै आएको वीरगन्जको भीमसेन जात्रा यस वर्ष शान्तिपूर्वक सम्पन्न भएको छ । बाक्लो सुरक्षा घेराबीच मंगलबार साँझ यो जात्रा भएको हो ।

भीमसेन जात्रा शान्त

यहाँका नेवार समुदायले मनाउँदै आएको यो जात्रा अवधिमा हुन सक्ने सम्भावित झडपलाई लक्षित गरी पछिल्ला केही वर्षयता जात्राको व्यवस्थापनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर राइले रातको समयमा हुने जात्रालाई व्यवस्थित गर्न मंगलबार दिउँसोबाटै जात्रा हुने स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

नेपाल र सशस्त्र प्रहरीका गरी १ सय बढी सुरक्षाकर्मी जात्रा अवधिमा नगरमा परिचालित भएको उनले बताए । पाकेटमारीलगायत अन्य उच्छृंखल गतिविधि रोक्न सादा पोसाकमा थप सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो । जात्रा निकाल्ने सबै ठाउँमा पिकेट, हाइ प्वाइन्ट पनि राखिएका थिए । जात्रामा कुनै अप्रिय घटना नभएको उनले बताए ।

सबैभन्दा बढी रथ तान्ने बेलामा तनाव हुने भएकाले त्यसमा सहयोगी भूमिका सादा पोसाकका सुरक्षाकर्मी पनि खटिएका थिए । भीमसेन जात्रा मनाउने वीरगन्जको आफ्नै मौलिक परम्परा रहँदै आएको छ ।

नेवार समुदायले वीरगन्जमा करिब १ सय वर्षदेखि यो जात्रा मनाउँदै आएका छन् । यो समुदायको कुल देउता मानिने भीमसेनको जात्रा मनाउँदा धन वैभव र आरोग्यता प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ ।

जात्रामा बोकाको मासु, सिद्रा, बारा, आलु, केराउ, साग, अन्डा, काँक्रो, भुजा, चिउरा आदि गरी करिब १ दर्जन पक्वान्न तयार पारेर चढाइसकेपछि प्रसादका रूपमा नगरवासीलाई वितरण गर्ने चलन छ ।

यो जात्रा विगतमा गहवाका नेवार समुदायले निकाल्ने गरेकामा उतिबेलै विर्ताका बासिन्दाले जात्राको डोला खोसेर आफूसँग राखेर बर्सेनि जात्रा निकाल्दै आएको मान्यता रहेको छ । डोला खोसिएपछि गहवाका नेवार समुदायले हाल पनि सानो र सामान्य रुपमै भए पनि डोला निकाल्ने गरेका छन् ।

जात्रा निकालिएपछि गहवाका नेवार समुदायले आआफ्नो टोलमा पनि डोला घुमाउन आग्रह गरे पनि जात्रा २ नम्बर रोड हँुदै सोझै विर्ता मन्दिर जान खोजेपछि प्रत्येक वर्ष गहवाका नेवार समुदायले जात्राको बाटो मोड्न खोज्छन् । त्यस क्रममा केहीबेर तनाव हुने गर्छ ।

पछिल्लो समय यो जात्रामा नेवार मात्र नभई महानगरका अन्य समुदायको पनि उल्लेख्य सहभागिता हुन थालेको छ । गैरनेवार नगरवासी पनि जात्राको व्यवस्थापनमा समेत सहभागी हुन थालेकाले यो जात्राले समावेशिता र सामाजिक एकता तथा सौहार्दको पनि सन्देश दिन थालेको छ ।

विगतमा २ टोलका युवाबीच झडप हुने र त्यस क्रममा सार्वजनिक तथा निजी सम्पत्ति पनि तोडफोड हुने गरेकाले यो जात्राको साँझ नगरको मुख्य सडकका घर तथा व्यापारिक प्रतिष्ठानलाई आफ्नो भवनको झ्यालका सिसा जोगाउने चिन्ता हुने गरेको थियो ।

प्रकाशित : भाद्र २२, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?