कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कक्षामा कार्यक्रम, विद्यार्थी बाहिरै

सर्लाही — कविलासी नगरपालिका– ७ स्थित श्री माध्यमिक विद्यालयमा कक्षाअनुसारको कोठा छन् । तर, कक्षा १ मा अध्ययनरत विद्यार्थी ३ दिनदेखि विद्यालयको बरान्डामा भुइँमै बसेर पढिरहेका छन् ।

कक्षामा कार्यक्रम, विद्यार्थी बाहिरै

आफ्नो कक्षामा बसेर अध्ययन गर्नुपर्ने विद्यार्थीलाई बाहिर बरन्डामा बसाएर कक्षा कोठामा भने बुधबारदेखि समाजमा रहेको द्वन्द्व रूपान्तरणका लागि क्षमता विकास तथा नेतृत्व हस्तान्तरण गोष्ठी चलिरहेको छ । बिहीबार कक्षा सञ्चालन हुनासाथ पानी पर्न थालेपछि विद्यार्थीलाई बिदा दिइएको थियो ।

कक्षा १० सम्म अध्यापन हुने उक्त विद्यालयमा कुल ५ सय ३० विद्यार्थी छन् । विद्यालयमा कार्यालय, पुस्तकालय, बाल विकास कक्षा कोठा र स्टाप कोठा गरी १४ वटा कोठा छन् । स्टाप कोठामा भने सामान राखिएको छ ।

विद्यार्थीको अनुपातमा कक्षाकोठा पर्याप्त छन् । तर कक्षा १ का विद्यार्थी पढने कोठामा कार्यक्रम चलिरहेकाले उनीहरूलाई बाहिर बरान्डाको भुइँमै राखेर पढाइरहेको प्रधानाध्यापक जयनारायण महतोले बताए ।

उनले समाजमा परेको समस्या मिलाउनका लागि एक संस्थालाई कार्यक्रम चलाउन कक्षा कोठा दिएको हुनाले विद्यार्थीलाइ विद्यालयको बरन्डामा पढाएको बताए । ‘यहाँका स्थानीय नै आएर कोठा मागेपछि विद्यार्थीलाई बरान्डामा राखेर कोठा दिनुपर्‍यो’, प्रधानाध्यापक महतोले भने, सार्वजनिक कार्यक्रम गर्न अन्त कतै ठाउँ छैन, त्यही भएर समाजमा कुनै कार्यक्रम हुँदा एउटा कोठा दिनै पर्छ ।’

विद्यालय समयमा कक्षा कोठा कार्यक्रमका लागि दिएर विद्यार्थीलाई बरान्डामा राखेर पढाउने काम गलत भएको कविलासी नगरपालिकाका मेयर कौशल किशोर रायले बताए ।

‘विद्यालय समयमा विद्यार्थी पढ्ने कक्षा कोठा अन्य कुनै पनि प्रयोजनका लागि दिन मिल्दैन’ मेयर रायले भने, ‘विद्यालय समयमा किन र केका लागी विद्यार्थी पढ्ने कक्षा कोठा कार्यक्रमका लागि दिइयो, यसबारेमा जानकारी लिनेछौं ।’

सर्लाहीको दक्षिणी क्षेत्रमा सामान्य कार्यक्रम वा बिहेको जन्ती राख्न विद्यालयको प्रयोग हुँदै आएको छ । विद्यालयमा कार्यक्रम वा जन्ती राख्दा विद्यार्थीको पढाइ बिग्रिने गरेको छ । जिल्लाका कतिपय विद्यालयले जन्ती बसेको बेलामा बिदा नै दिने गरेको छ ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?