कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

३ दिनदेखि उठेन फोहोर

स्रोतसाधन र सुविधाको वृद्धिका लागि कर्मचारी धर्नामा
धर्नामा बसेका कर्मचारी पक्राउ
‘जनप्रतिनिधि आउनुभन्दा अघि कर्मचारीले सफासुग्घर राखेका थिए’
लक्ष्मी साह

बारा — कलैया उपमहानगरपालिकाका सरसफाइकर्मी (स्विपर) विभिन्न माग राख्दै हडतालमा उत्रेपछि तीन दिनदेखि नगरको फोहोर उठेको छैन ।

३ दिनदेखि उठेन फोहोर

यसले बजार क्षेत्रमा दुर्गन्ध फैलिएको छ । फोहोरको गर्मीको मौसम त्यसमाथि दुर्गन्धले नगरवासी पीडित बनेका छन् । ९६ जना सरसफाइकर्मी कलैयाको भरत चोकमा विभिन्न माग राखी बुधबारदेखि धर्नामा बसेका छन् ।

नगरपालिकाले स्रोतसाधन र सुविधा नबढाएको विरोधमा उनीहरू धर्नामा बसेका हुन् । ‘२६ वर्षदेखि कार्यरत छु । नगरपालिकाले स्रोतसाधन र सुविधा बढाएकै छैन,’ सरसफाइकर्मी सुधीर राउतले भने ।

तलब बढाउनुपर्ने, नियुक्ति पाउनुपर्ने, दसैं खर्च दिनुपर्ने, स्थायी प्रक्रियाअघि बढानुपर्ने र फोहोर उठाउँदा प्रयोग गरिने गेम्बु जुत्ता, पोसाक, पन्जा, मास्क उपलब्ध गराउनुपर्ने माग राख्दै हडतालमा उत्रेका कर्मचारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ‘३ दिनदेखि फाहोर घरमै कुहिएको छ,’ कलैया उपमहानगरपालिका ४ का रामस्वरूप पण्डितले भने, ‘फाहोर घरबाहिर सडकमा फ्याँकु भने सर्वसाधारणलाई दु:ख हुन्छ । घरमा राखौं भने आफैं पीडित बन्नुपरेको छ ।’

फोहोरको दुर्गन्धले पसलमा बसिनसक्नु भएको कलैया बजारका व्यापारी वीजय स्वर्णकारले गुनासो गरे । ‘३ दिनदेखिको फोहोरको थुप्रो उठेको छैन,’ उनले भने, ‘पसल अगाडि नै थुप्रोले बस्नै नसक्ने भएको छ ।’

सदुपयोग भएन आम्दानी
उपमहानगरपालिकाले नगरको बजार क्षेत्रबाट वार्षिक ८५ लाख आम्दानी गर्दै आएको छ । तरकारी, बाख्रा तथा कृषि बजार, पटके सवारी र शौचालयको ठेक्कापट्टाबाट हुने आम्दानीको तुलनामा नगरपालिका नगरवासीका लागि सुविधा दिन चुकेको छ ।

उसले बर्सेनि १ करोड ३० लाख सरसफाइका लागि जनशक्ति, स्रोतसाधन र बजारको व्यवस्थापनमा खर्चिने गरेको छ । यसपालि २ करोड खर्चिने योजना बनाएको छ । तर बजार क्षेत्रको अवस्था भने अव्यवस्थित सेकुवा पसलको धुँवा, जताततै फालिएको फोहोरैफोहोर र मुख्य बजारमा खाल्डाखुल्डीमा जमेको पानीले नगरवासी अस्तव्यस्त छन् ।

फोहोर र खाल्डाखुल्डीमा जमेको पानीले नगरअन्तर्गतको मुख्य चोक, बजार क्षेत्र र गल्ली पनि प्रभावित छ । तरकारी बजारमा झनै फाहोर छ । ‘नियमित सरसफाइका लागि लगातार गुनासो गर्दा र दबाब दिँदा सफाइ गरिँदैन । मनलागे सफाइ गर्ने मन नलागे नगर्ने अवस्था छ,’ फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष दीपलाल साह तेलीले भने, ‘हाकिम र मेयर सबैलाई गुनासो सुनाएका छौं । तर सुन्नुहुन्न । र अनुगमन गर्न पनि आउनुहुन्न ।’ भरत चोक र मुख्य बजारमा रहेका २ वटा चर्पीको दुर्गन्ध सेवाग्राहीले थामिनसक्नु छ ।

ट्याङकी फुटेर छतबाट पानी चुहिने क्रम रोकिएको छैन । चर्पीसँगै रहेको चापाकलको पानी दुर्गन्धले सर्वसाधारण पिउन रुचाउँदैनन् । नगरको तरकारी र माछामासु बजार क्षेत्र फोहरै फोहोरले भरेको देखिन्छ ।

मुख्य सडकमै बनाइने सेकुवाको धुँवाले आगन्तुक तथा नगरवासी पीडित छन् । यी समस्याले पीडित बनिरहँदा नगरपालिका कार्यालयले त्यसको ठोस व्यवस्थापन गर्न स्रोतसाधन र जनशक्ति जुटाउन नसकेपछि पीडित बन्नु परेको सरकोकारवाला बताउँछन् । ‘नगरपालिकाले कर लिन्छ, सुविधा दिँदैन । फोहोरले माछामासु पनि हामीलाई बिक्री गर्न चित्त बुझदैन्,’ माछामासु व्यवसायी संघका अध्यक्ष भोला मियाँले भने, ‘कीटनाशक औषधि पनि छर्दैनन् ।

जनप्रतिनिधिभन्दा बढी बरु कर्मचारीले पहिला सफासुग्घर राख्ने गरेका थिए ।’ बजार क्षेत्रभरि नै खाल्डाखुल्डीमा नाला र बर्खाको पानी जमेकाले यात्रुलाई समेत सास्ती हुने गरेको छ । बेलाबखतमा धार्मिक स्थल सिद्धेश्वर र राम मन्दिरमा फोहोर भएपछि सेना, प्रहरी र स्थानीय युवाले कहिलेकाहीँ सरसफाइ गर्दै आएका छन् । ‘नगरपालिकाले सफाइका लागि दीर्घकालीन योजना बनाउन सकेको छैन,’ स्थानीय युवा नेता मुकेश साहले भने, ‘नगरको सबै प्राय: नालाहरूमा फोहोर थुनिएको छ ।’

प्रकाशित : भाद्र २३, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?