कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कर वृद्धिको विरोधमा धर्ना

भरत जर्घामगर

सिरहा — कर वृद्धिको विरोधमा मिर्चैयामा व्यवसायी, पूर्व जनप्रतिनिधिसहित नगरवासी नगरपालिकाको वडा नम्बर १२ कार्यालयमा धर्ना बसेका छन् ।

कर वृद्धिको विरोधमा धर्ना

व्यवसायी, पूर्वजनप्रतिनिधिसहित नगरवासीद्वारा गठित संयुक्त संघर्ष समितिले विरोध र्‍याली गरी मिर्चैया नगरपालिकाका विभिन्न वडा कार्यालयमा धर्ना दिएका छन् ।

मिर्चैया नगरपालिकाले मालपोत, घरजग्गा, एकीकृत सम्पत्ति करदेखि परेवा, हाँस र कुखुरा लगायत राष्ट्रिय राजमार्गको घरधुरीमा समेत व्यापक कर निर्धारण गरेको भन्दै व्यवसायी, पूर्वजनप्रतिनिधि सहित नगरवासीद्वार गठित संयुक्त संघर्ष समति चरणबद्ध रूपमा विरोधमा उत्रिएका हुन् ।

‘वृद्धि गरेको कर फिर्ता गर, भ्रष्टाचार बन्द गर, स्थानीय सरकार मुर्दावाद’ भन्दै उनीहरू चौथो दिन शुक्रबार पनि धर्नामा बसेका छन् । आव ०७५/७६ मा निर्धारण गरेको कर सर्वसाधारणको आर्थिक हैसियतभन्दा माथि रहेको भन्दै संयुक्त संघर्ष समितिले विरोध जनाउँदै जनताको ढाड सेक्ने गरी निर्धारण गरेको भन्दै कर स्थगन गरी सर्वपक्षीय सहमतिबाट निर्धारण गर्न माग गर्दै मेयर श्रवण यादवलाई गत साउन २९ गते ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा संयुक्त संघर्ष समितिले नगरपालिकाले लिइरहेको नयाँ कर, शुल्क र राजस्व पूर्ण रूपमा स्थगित हुनुपर्ने, पुरानो कर पनि संशोधनपश्चात मात्र लागू गर्नुपर्ने लगायत ८ बुँदे माग पेश गरेका थिए ।

ज्ञापनपत्र बुझदै मेयर यादवले भदौ १५ गतेभित्र माग सम्बोधन गर्ने आश्वासन दिए पनि कुनै सुनुवाइ नभएपछि चरणबद्ध विरोधमा उत्रन बाध्य भएको मिर्चैया उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अरुण सिंहले बताए ।

आव ०७४/७५ को वडा र नगरस्तरीय योजनाको लागत इस्टिमेटसहित मूल्यांकन विवरण उपलब्ध गराउनुपर्ने, विभिन्न निकायबाट नगरपालिकामा दाखिला भएको आम्दानीको विवरण उपलब्ध गराउनुपर्ने, कोटेसन र सडक बोर्डको कार्यको विवरण उपलब्ध गराउनुपर्ने, आन्तरिक कोषबाट नियुक्ति गरिएका कर्मचारीको विवरण उपलब्ध गराउनुपर्ने माग संघर्ष समितिले
राख्दै आएको छ ।

त्यसैगरी घटना दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइँसराइ नि:शुल्क हुनुपर्ने र विभिन्न शीर्षकमा वडा र नपामा खरिद भएका सामग्रीको भुक्तानीको विवरण उपलब्ध गराउनुपर्ने माग राख्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?