१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

जनकपुरमा अप्टिकल फाइवर विस्तार

शाहीमान राई

जनकपुर — नेपाल टेलिकमले जनकपुर उपमहानगरपालिका क्षेत्रमा सडक विस्तारको क्रममा भत्किएको संरचना मर्मतसम्भार तथा पुन:निर्माण गर्दै गुणस्तरीय सञ्चार सेवा प्रवाह गर्न अप्टिकल फाइवर विस्तार गर्न थालेको छ ।

जनकपुरमा अप्टिकल फाइवर विस्तार

विगतमा प्रयोग गर्दै आएको कपर लिंक केवल हटाएर अप्टिकल फाइवरको माध्यमबाट सेवा विस्तार गर्न लागेको हो ।

जनकपुर उपमहानगरपालिका क्षेत्रको परिक्रमा सडकको थापाचोक, वन्सिचोक, रेलवेस्टेसन, मिल्सएरिया, भानुचोक, कदमचोक, मुरलीचोक, तिरहुतियागाछी, रामचोक, जनकचोक, शिवचोक, जानकी मन्दीर नजिकै अरगजा स्टेसन, मुझेलिया, कपिलेश्वर, पेठियाबजार लगायत पूरै जनकपुर क्षेत्रको सडक किनारामा जमिनमुनि अप्टिकल फाइवर राख्न थालिएको छ ।

जनकपुर उपमहानगरपालिका एकीकृत सहरी विकास आयोजनाअन्तर्गत सडक विस्तारको क्रममा क्षतिग्रस्त संरचना टेलिफोन, विद्युत र खानेपानी लाइन मर्मतसम्भार थालिएको छ । करिब ३ किलोमिटर सडक किनारामा टेलिफोन, इन्टरनेटका लागि अप्टिकल फाइवर र खानेपानीको पाइप जमिनमुनि गाडिएको छ ।

टेलिकमले जनकपुरमा ध्वस्त संरचना मर्मतसम्भार गरी मुरलीचोक, थापाचोक र भानुचोकमा एक्चेन्ज थपेर सेवा विस्तार गर्न लागेको छ । एक्सजेन्ज थप्न घर भाडामा लिइसकेको टेलिकमका जनकपुर प्रमुख सिताशरण दत्तले बताए ।

यसअघि अरगजापोखरी, मुझेलिया र कपिलेश्वरमा एक्सचेन्ज थियो । ‘अब जनकपुर उपमहानगरपालिका क्षेत्रमा ६ वटा स्टेसन राखेर घरघरमा गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्ने योजना छ,’ टेलिकम प्रमुख दत्तले भने,‘अप्टिकल फाइवरवाट इन्टरनेट डाटा सेवा छिटो चल्छ, कपर लिंक विस्तारै हटाउदैछाैं ।’

एसियाली विकास बैंकको आर्थिक सहयोगमा जनकपुरधाम उपमहानगरपालिका एकीकृत सहरी विकास आयोजनाद्वारा भइरहेको सडक विस्तार, कालोपत्रे, ढल निकासका लागि ड्रेन निर्माणका क्रममा टेलिकमको कनेक्सन सिस्टम क्षति भएपछि ८० प्रतिशत टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

नेपाल टेलिकमले वितरण गरेको दस हजार ५ सय लेनलाइन (पिएसटिएन) टेलिफोनमध्ये ८ हजार र १ हजार४ सयमध्ये १ हजार एडिएसएल इन्टरनेट सेवा अवरुद्ध छन् । त्यसमध्ये पेठिया बजारमा ४ सय लाइन टेलिफोन मर्मत गरी सञ्चालनमा ल्याइसकेको जनाएको छ ।जनकपुर उपमहानगरपालिका क्षेत्रमा जताततै निर्माण कार्य भइरहेकाले टेलिफोन र इन्टरनेट सेवा वितरण गर्न कठिनाइ छ । टेलिकमले जिएसएम, सिडिएमए र पिएसटिएन टेलिफोनका लागि दस वटा विटिएस टावर थप गरी क्षमता विस्तार गरेको जनाएको छ ।

अप्टिकल फाइवर विस्तार भएपछि हरेक टेलिफोन लाइनमा एडिएसएल तथा अन्य प्रविधिबाट घरघरमा इन्टरनेट सेवा प्रदान गर्ने तयारीमा रहेको टेलिकम प्रमुख दत्तले बताए ।

उनका अनुसार जनकपुरको अरगजा, कदम चोक र पेठिया बजारमा टेलिफोन मर्मत तथा एक्सचेन्ज थपिएपछि४ हजार ४ सय ६८ वटा एडिएसएल इन्टरनेट सेवा र १३ हजार ८ सय ६८ वटा लेनलाइन टेलिफोन वितरण गर्न सक्ने क्षमता विस्तार भएको छ ।

यसअघि टेलिफोनको क्षमता दस हजार ५ सय र एडिएसएल इन्टरनेटको क्षमता एक हजार ७ सय ९२ वटा मात्र थियो । तर अप्टिकल फाइवर विस्तार गरेपछि हरेक टेलिफोन लाइनबाट घरघरमा इन्टरनेट सेवा प्रदान गर्न सक्ने गरी निर्माण कार्य थालिएको टेलिकम प्रमुख दत्तले बताए ।

उनका अनुसार टेलिकमले १७ वटा फाइवर वितरण केन्द्र (एफडिसि) मार्फत ‘फाइवर टु द होम (एफडिएच) कार्यक्रम सञ्चालन गरी सेवा विस्तार गर्ने तयारी गरेको छ । यसका लागि ११ वटा एफडिसिको नक्सा तयार गरी भानुचोक र शिवचोकमा जडान कार्य सुरु गरिसकेको छ । अन्य ५ ठाउँको एफडिसी फाइवर डिस्ट्रिव्युसन सेन्टरको नक्सा तयार हुन लागेको जनाएको छ ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?