तोडफोड पछि नमुना अस्पताल बन्द

सर्लाही — चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले हरिवन नगरपालिकास्थित नमुना अस्पताल तोडफोड गरेपछि बन्द भएको छ । अस्पताल बन्द हुँदा जिल्लाको उत्तरी क्षेत्रका बिरामी मारमा परेका छन् ।

तोडफोड पछि नमुना अस्पताल बन्द

शुक्रबार राति एक महिलाको उपचार क्रममा मृत्यु भएको थियो । अस्पताल तोडफोडपछि भएको सहमतिमा ७ दिनका लागि अस्पतालको सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको छ ।

अस्पताल बन्द हुँदा दैनिक सयौं बिरामी यस अस्पतालको सेवाबाट वञ्चित भएका छन् । उपचारको राम्रो व्यवस्थाको उद्देश्यसहित स्थापना भएको यो अस्पाताल ५ दिनदेखि बन्द छ । अस्पताल बन्द गर्नु गम्भीर त्रुटि भएको नागरिक अगुवाको भनाइ छ ।

मृत्युको निष्पक्ष छानबिन गरी दोषी देखिएमा नियमअनुसार कारबाही गरिनुपर्छ । दोषीलाई कुनै पनि हालतमा छोड्नु हुँदैन तर छानबिनका नाममा अस्पताल बन्द गर्नु न्यायोचित नभएको नागरिक अगुवा रजनिकान्त झाले बताए ।

‘चिकित्सक वा अस्पतालका कर्मचारीले लापरबाही गरे कारबाहीको दायरामा ल्याउनुपर्छ, मान्छे मार्न पाइँदैन तर अस्पताल बन्द गर्नु राम्रो भएन ।’ उनले भने, ‘यसले अन्य बिरामी पनि मारमा परेका छन् । एक जनाको त ज्यान गयो, अस्पतालको सेवा नपाएर अन्य बिरामी पनि छटपटिएर अकालमै ज्यान गुमायो भने जिम्मेवारी कसले लिने ।’

प्रसव बेथा लागेर हरिवन नगरपालिका–४, पटौनाकी ३१ वर्षीया अप्सरा थापालाई शुक्रबार साँझ ७ बजे अस्पताल भर्ना गरिएको थियो । झन्डै तीन घण्टा उपचारपछि त्यहाँका चिकित्सकले अन्यत्र रेफर गरेपछि उनको बाटामै ज्यान गएको थियो ।

मृतकका आफन्तले उपचार सम्भव नभएपछि पहिले नै रेफर गर्नुपर्नेमा घण्टौं बिरामी राखेर अस्पतालमा खटिएका चिकित्सकले खेलबाड गरेको आरोप लगाउँदै उनको शव पुन: नमुनामा राखेर ढुंगामुढा र आगजनी गरेका थिए ।

शल्यक्रियाको व्यवस्था नभएमा बिरामीलाई तीन घण्टासम्म रोकेर राख्नु अस्पतालको कमजोरी रहेको नागरिक अगुवा झाको कथन छ । २०६१ मा स्थापित नमुना अस्पताल यस क्षेत्रको सबभन्दा पुरानो सामुदायिक अस्पताल हो ।

यो अस्पताल राजमार्गको छेउमै रहेको अस्पतालमा सवारी दुर्घटनाका बिरामी तथा आकास्मिक बिरामीका लागि लोकप्रिय भई सेवा पुर्‍याउँदै आएको थियो ।

अस्पतालका व्यवस्थापक बलराम न्यौपानेले सुरक्षा नभएका कारण अस्पताल खुल्न नसकेको बताए । ‘इलाका प्रहरी कार्यालय छेउमै रहेको अस्पताल असुरक्षित छ, असुरक्षाको बीचमा कसरी खोल्ने,’ उनले भने, ‘स्थानीय प्रशासनले नै अस्पताल बन्द गर्न सहमति जनाएपछि सहमतिको उल्लंघन गर्ने कुरै भएन ।’

अस्पतालले रेफर गरेर पठाइसकेपछि बिरामीको मृत्यु भएकाले अस्पतालको तर्फबाट कुनै लापरबाही नभएको उनको दाबी छ । स्थानीय प्रशासनको पहलमा शनिबार बेलुका भएको छलफलमा नगरपालिकाका उपमेयर, वडाध्यक्ष, अस्पताल प्रशासन र पीडित परिवारको उपस्थिति थियो ।

छलफलमा ७ दिनसम्म अस्पताल बन्द गर्ने र सातै दिनसम्म अस्पतालका कर्मचारी प्रहरी निगरानीमा रहनेलगायत ५ बुँदे सहमति भएको थियो ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?