१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

एजेन्ट फरार २६ युवक अलपत्र

‘रोजगारीका लागि कुबेत उडान गर्न काठमाडौं गएका हामी बेर्खची भयौं’
अवधेशकुमार झा

काठमाडौँ — रोजगारीका लागि कुबेत पठाइदिने भन्दै जनही १ लाख ३० हजारका दरले रकम लिएर एजेन्ट सम्पर्कविहीन भएपछि सप्तरीका २६ जना युवा अलपत्र परेका छन् । तिरहुत गाउँपालिका त्रिकौल र मयनाकरेडी सहित अन्य स्थानका समेतका ती युवाले रोजगारीका लागि कुबेत जाने तयारीमा थिए ।

एजेन्ट फरार २६ युवक अलपत्र

उनीहरूसित सप्तरीकै रुपनी गाउँपालिका १ का मोहमम्द हजरत मियाँले जनही १ लाख ३० हजार कुबेत पठाइदिने भन्दै लिएको पीडित युवाले बताए । अलपत्र परेकाहरूमा अधिकांश दलित युवा छन् ।

तिरहुत २ मयनाकरेडीका विनोदकुमार रामका अनुसार तीन महिनाअघि एजेन्ट हजरतले आफूहरूलाई रोजगारीका लागि विदेश पठाइदिने आश्वासन दिएका थिए । हजरतलाई भदौ १ गते रकम बुझाएपछि उनले भदौ १४ गते उडान हुने बताएपछि २६ जना युवा रोजगारीका लागि कुबेत जान काठमाडाैं गएका थिए ।

तर काठमाडौंमा एउटा होटेलमा छोडी एजेन्ट हजरत सम्पर्कविहीन भएपछि आफूहरू अलपत्र परेको पीडित युवा कृष्णकुमार खंगले बताए । ‘हामीलाई उडान हुने भन्दे बोलाए तर काडमाडौंको होटेलमा लगेर अलपत्र पारेर भागे,’ खंगले भने, ‘रोजगारकिा लागि कुबेत उडान गर्न काठमाडौं गएका हामी बेर्खची भयांै ।’

विदेश पठाइदिने एजेन्ट हजरत सम्पर्कविहीन भएपछि बेखर्ची भएका २६ जनै युवा शुक्रबार वस रिजर्भ गरेर एजेन्ट हजरतको घर रुपनी पुगेका थिए । उनी घरमा पनि फेला नपरेपछि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको पीडित चन्दनकुमार खंगले बताए । शुक्रबार कार्यालय समय बितिसकेकाले आइतबार प्रमुख जिल्ला अधिकारीले बोलाएको पीडितहरूले बताए ।

‘घरखेत बन्धकी राखी हामीले जनही एक लाख ३० हजारका दरले हजरतलाई बुझायौं,’ अर्का पीडित युवा अधिकलाल मुखियाले भने, ‘ऋणको ब्याज चलिइरहेको छ,हामी विदेश पनि जान पाएनांै, पैसा लिएका एजेन्ट हजरत पनि फरार छन्, हामी घरका न घाटका भयांै ।’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले विदेश पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएको घटनावारे उजुरी आएको बताउँदै उनले यो विषयमा आफू गम्भीर भएको बताए ।

उनले प्रारम्भिक चरणमा बैदेसिक रोजगारीसम्बन्धी सामी परियोजनाको सूचना केन्द्रमार्फत समस्या समाधानको प्रयास गरिएको तर पीडितको समस्या समाधान नभए प्रहरी परिचालन गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने बताए ।

प्रकाशित : भाद्र २४, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?