सहिद परिवार भन्छन् - ‘अब आन्दोलनमा जाँदैनौं’

सन्तोष सिंह

जनकपुर — धनुषा, लक्ष्मिनिया–१ अरेर्वाका स्थानीय असोज ३ गते जनकपुरको आन्दोनमा सहभागी हुन आह्वान गर्दा स्थानीयले विरोध जनाएका छन् । संविधान दिवसको विरोध गर्न जनकपुरमा असोज ३ गते सहभागी हुन भनेपछि उनीहरूले प्रश्न गरे, ‘किन फेरि आन्दोलन ?’

आन्दोलनमा मारिएका दिलिप यादवका बुवा र बहिनी राधिका । तस्बिर : सन्तोष

तेस्रो मधेस आन्दोलनका क्रममा ०७२ भदौ २५ गते जनकपुरको पिराडी चोकमा धनुषा, लक्ष्मिनिया–१ अरेर्वाका १३ वर्षीया दिलिप यादवको मृत्यु सम्झिदै उनका बुवा ४३ वर्षीय रामनरेश यादव गाउँबाट कोही पनि आन्दोलनमा सहभागी नहुने बताए ।


‘आन्दोलनमा छोरा मारिए । सहिद भए । तर हामीले के पायांै,’ रामनरेशले कान्तिपुरसँग भने, ‘यहाँबाट कुनै पनि आन्दोलनमा कोही पनि सहभागी हुँदैनन् । आन्दोलन गर्न हामी नै पठाउँथ्यौं, अब हामी नै जानबाट रोक्छौं ।’ आन्दोलनमा जनता सहभागी भएर सहिद हुन्छ । तर, स्वार्थ पूरा दल र दलका नेताको हुन्छ, उनको गुनासो छ, ‘आन्दोलनमा मेरो एक्लो छोरा दिलिप गुमाएको ४ वर्ष बित्नै लाग्यो । प्रदेश सरकार बनेको पनि ८ महिना भइसक्यो । न रोजगारी पाए न त कुनै सहुलियत । सरकार त अब चिन्न पनि छोडेको छ । प्रदेश सरकारले त चिनजानकालाई मात्र जागिर दियो ? सहिदले के पाए ?’

उनको घरमा छोरा गुमाएको पीडा हरेक दिन ताजा भएर आउँछ । सञ्चारकर्मी र अधिकारकर्मी घरमा पुग्दा उनले पीडा दोहोर्‍याउन बाध्य छन् । पिराडी चोकस्थित पोखरीको डिलमा मारिएको पीडा बुवा रामनरेश र आमा रानिबतीले बिर्सिन नसक्दा राति भकानिन्छन् ।

Yamaha

विद्यालय पढदै गरेका एक्लो छोरा मधेस आन्दोलनमा गुमाएपछि उनको आशा र भरोसा कान्छी छोरी राधिका हुन् । कक्षा ५ मा अध्ययनरत छोरी राधिकालाई राम्रो स्कुलमा पढाउन नसक्दा उनी चिन्तित छन् । चार जना छोरीमध्ये २ को विवाह भए पनि दुई जना छोरीको पढाइ र विवाहको चिन्ताले रामनरेश राति निदाउँदैनन् ।

जनकपुरमा दिलिपको हत्या हुँदा रामनरेश बैदेशिक रोजगारका क्रममा साउदी अरबमा थिए । आन्दोलनमा छोरा सहिद भएपछि वैदेशिक रोजगारबाट फर्केका रामनेरश गाउँमा नेताका रूपमा पहिचान बनेको बताउँछन् । विदेशबाट फर्केपछि घर गृहस्थमा लागे, तर मलाई गाउँमा नेता भन्छन्, उनले भने, ‘म गरिबलाई नुनतेल जोडन त धौधौ छ । गाउँमा नेता भन्छन् । तर, मेरो केही चल्दैन । गाउँपालिकाले गाउँमा तरकारी र गहुँको बिज बाँडे । दलका कार्यकताहरू मिलेर बाँडफाँड गरे । सहिद परिवारलाई बिर्से ।’ गाउँमा सहिदको स्मारक बनाउन आग्रह गर्दा नेताहरूले विवाद गरेका छन् ।

कार्याक्रममा १ मिनेट मौनधारण, तस्बिरमा फूलमाला र मञ्चमा सहिद परिवारलाई दोसल्ला ओढाएर राजनीति दलले सुविधा दिने बेलामा बिर्सिन्छन्, उनले भने । मौनधारण र फूल चढाएर सम्मान गर्ने दलका नेता व्यवहारमा सहिदको बदनाम गरेको आक्रोष पोख्दै उनले भने, ‘सहिदको रेकर्ड बन्छ । तर, सहिदको सपना सहिदको दाहसंस्कारमै खरानी बन्छ ।’ आन्दोलनमा सहिदका लागि चर्को भाषण गर्ने नेता निर्वाचित भएपछि बिर्सिन्छ, उनले भने ।

छोरा कमाएर परिवार चलाउने बेला आउनै लाग्दा आन्दोलनमा सहिद भएको बताउँदै १४ लाख खर्चेर २ छोरीको विवाह गरे पनि २ छोरी अझै विवाह गर्न बाँकी छ, रामनरेशले भने, ‘खेती किसानी गरेर दैनिक नुनतेल जोडन समस्या भएको बेला सरकारले रोजगारी समेत दिएन ।’ उनले राज्यसँग गुनासो गर्छन् । नेता र सरकार सहिदको नाम दिन्छन् तर सहिद परिवारको समस्या बुझ्दैनन्, उनले भने, ‘अब, आन्दोलन भयो भने म जान्न ।’ कपटी नेताहरूका कारण छोरा गुमाउँदाको पीडा सम्झेर अपसोच र पछुताउनु बाहेक केही छैन, उनले भने ।

प्रदेश २ को मुख्यमन्त्रीको नियुक्ति पत्र लालबाबु राउतले बुझेपछि मधेस आन्दोलनका सहिदको सपना पूरा गर्ने बताएका थिए । राउतले सहिद परिवारलाई रोजगारीको घोषणा गर्दै मुख्यमन्त्री राउतले सरकार बनाएको ८ महिनामा दुई सहिद पत्नीलाई कार्यालय सहयोगिमा नियुक्त समेत गरेका छन् । अन्य सहित परिवार माझ अझै प्रदेशका मुख्यमन्त्रीको पहुँच पुग्न सकेको छैन । तेस्रो मधेस आन्दोलनमा धनुषाको जनकपुरमा दिलिप यादव, नितु यादव र सञ्जय चौधरीको मृत्यु भएको थियो ।

Esewa Pasal

प्रकाशित : भाद्र २४, २०७५ ०९:३०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

टिपर चालकलाई सम्झाउँदै प्रहरी

कान्तिपुर संवाददाता

जनकपुर — बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय धनुषाले टिपर तथा ट्रयाक्टर चालकलाई प्रशिक्षण दिएको छ ।

जिल्ला ट्राफिक कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक दीपक साह टिपर चालकलाई प्रशिक्षण दिँदै । तस्बिर : कान्तिपुर

गत साता पूर्व–पश्चिम राजमार्गको धारापानी नजिक भएको दुर्घटनामा मोटरसाइकलमा सवार दाजुभाइको मृत्यु भएपछि ट्राफिक कार्यालय सडक निगरानीसँगै चालकलाई सम्झाउन थालेको छ ।

जनकपुरको मुजेलियास्थित ट्राफिक कार्यालयमा आयोजित प्रशिक्षणमा सहभागी १ सय ५० टिपर चालकलाई जिल्ला ट्राफिक कार्यालयले लागू गरेको टाइम कार्ड, सवारी नियम, सडकमा हिँड्ने पैदल यात्री तथा अन्य सवारी साधनमा सवार यात्रीहरूको सुरक्षा विषयमा प्रशिक्षण दिइएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक दीपक साहले बताए । साहका अनुसार यसअघि ट्रयाक्टर चालकलाई पनि प्रशिक्षण दिइएको थियो ।

पछिलोपटक ज्यानमारा सवारीका रूपमा चिनिएको टिपर दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय धनुषाले ढल्केवर–जनकपुर सडक खण्डमा टाइम कार्ड लागू गरेको छ । टाइम कार्ड लागू गरिए पनि टिपर चालकको ‘लापरवाही’ भने रोकिएको छैन । ट्राफिक प्रहरीका निरीक्षक साहका अनुसार ढल्केवर–जनकपुर सडक खण्डको २७ किमिका लागि खाली टिपरलाई १ घण्टा तथा लोडेड टिपरलाई डेढ घण्टा समय निर्धारण गरिएको छ । टाइम कार्ड निगरानी गर्न ढल्केवर, महेन्द्रनगर, लक्ष्मीनिया तथा मुजेलियामा ट्राफिक प्रहरी तैनाथ गरिएको छ ।

टाइम कार्डको पालना नगर्ने चालकसँग जरिवाना तिराउने व्यवस्था गरिएको छ । जिल्ला ट्राफिक कार्यालयले सञ्चालन गरेको सचेतना अभियानपछि पनि सडक दुर्घटना रोकिएको छैन । तथ्यांकअनुसार आर्थिक वर्ष २०७३ /०७४ मा सडक दुर्घटनामा परी ६४ जनाको मृत्यु भएको थियो । २०७४/०७५ मा ५६ जनाको मृत्यु भएको थियो । चालू आर्थिक वर्षको अढाई महिनामा भने ११ सडक दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

तीन वर्षको तथ्यांकअनुसार धनुषामा सडक दुर्घटनामा मृत्यु हुनेहरूको संख्यामा कमी देखिए पनि यो सन्तोषजनक नभएको प्रहरी निरीक्षक दीपक साहको कथन छ । कान्तिपुरसँगको भेटमा उनले भने, ‘सडक दुर्घटना न्यूनीकरण गर्न सबै किसिमका सवारी चालकको सहयोग त चाहिन्छ नै पैदल यात्रीहरूले समेत ट्राफिक नियमको पालना गर्नुपर्दछ ।’

लापरबाही मोटरसाइकल चालक
मोटरसाइकल चालकको लापरबाहीले पनि सवारी दुर्घटनामा मृत्यु हुनेहरूको संख्या नरोकिएको ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरूको बुझाइ छ ।


मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, ट्राफिक नियम पालना नगर्ने तथा राजमार्गमात्र होइन कि जनकपुर नगर क्षेत्रमा पनि तीव्र गतिमा मोटरसाइकल चलाउने युवाहरूका कारण सवारी दुर्घटनामा कमी नआएको ट्राफिक प्रहरी बताउँछन् ।

गत अढाई महिना यता धनुषामा टिपर र मोटरसाइकलबीच ठक्कर भएको ५ दुर्घटना भएका छन् । जसमा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयका प्रमुख साहले मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको दुई घटनामा मोटरसाइकल चालककै कमजोरी देखिएको बताए ।

प्रकाशित : भाद्र २४, २०७५ ०९:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT