२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

टिपर चालकलाई सम्झाउँदै प्रहरी

जनकपुर — बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय धनुषाले टिपर तथा ट्रयाक्टर चालकलाई प्रशिक्षण दिएको छ ।

टिपर चालकलाई सम्झाउँदै प्रहरी

गत साता पूर्व–पश्चिम राजमार्गको धारापानी नजिक भएको दुर्घटनामा मोटरसाइकलमा सवार दाजुभाइको मृत्यु भएपछि ट्राफिक कार्यालय सडक निगरानीसँगै चालकलाई सम्झाउन थालेको छ ।

जनकपुरको मुजेलियास्थित ट्राफिक कार्यालयमा आयोजित प्रशिक्षणमा सहभागी १ सय ५० टिपर चालकलाई जिल्ला ट्राफिक कार्यालयले लागू गरेको टाइम कार्ड, सवारी नियम, सडकमा हिँड्ने पैदल यात्री तथा अन्य सवारी साधनमा सवार यात्रीहरूको सुरक्षा विषयमा प्रशिक्षण दिइएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक दीपक साहले बताए । साहका अनुसार यसअघि ट्रयाक्टर चालकलाई पनि प्रशिक्षण दिइएको थियो ।

पछिलोपटक ज्यानमारा सवारीका रूपमा चिनिएको टिपर दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय धनुषाले ढल्केवर–जनकपुर सडक खण्डमा टाइम कार्ड लागू गरेको छ । टाइम कार्ड लागू गरिए पनि टिपर चालकको ‘लापरवाही’ भने रोकिएको छैन । ट्राफिक प्रहरीका निरीक्षक साहका अनुसार ढल्केवर–जनकपुर सडक खण्डको २७ किमिका लागि खाली टिपरलाई १ घण्टा तथा लोडेड टिपरलाई डेढ घण्टा समय निर्धारण गरिएको छ । टाइम कार्ड निगरानी गर्न ढल्केवर, महेन्द्रनगर, लक्ष्मीनिया तथा मुजेलियामा ट्राफिक प्रहरी तैनाथ गरिएको छ ।

टाइम कार्डको पालना नगर्ने चालकसँग जरिवाना तिराउने व्यवस्था गरिएको छ । जिल्ला ट्राफिक कार्यालयले सञ्चालन गरेको सचेतना अभियानपछि पनि सडक दुर्घटना रोकिएको छैन । तथ्यांकअनुसार आर्थिक वर्ष २०७३ /०७४ मा सडक दुर्घटनामा परी ६४ जनाको मृत्यु भएको थियो । २०७४/०७५ मा ५६ जनाको मृत्यु भएको थियो । चालू आर्थिक वर्षको अढाई महिनामा भने ११ सडक दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

तीन वर्षको तथ्यांकअनुसार धनुषामा सडक दुर्घटनामा मृत्यु हुनेहरूको संख्यामा कमी देखिए पनि यो सन्तोषजनक नभएको प्रहरी निरीक्षक दीपक साहको कथन छ । कान्तिपुरसँगको भेटमा उनले भने, ‘सडक दुर्घटना न्यूनीकरण गर्न सबै किसिमका सवारी चालकको सहयोग त चाहिन्छ नै पैदल यात्रीहरूले समेत ट्राफिक नियमको पालना गर्नुपर्दछ ।’

लापरबाही मोटरसाइकल चालक
मोटरसाइकल चालकको लापरबाहीले पनि सवारी दुर्घटनामा मृत्यु हुनेहरूको संख्या नरोकिएको ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरूको बुझाइ छ ।


मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, ट्राफिक नियम पालना नगर्ने तथा राजमार्गमात्र होइन कि जनकपुर नगर क्षेत्रमा पनि तीव्र गतिमा मोटरसाइकल चलाउने युवाहरूका कारण सवारी दुर्घटनामा कमी नआएको ट्राफिक प्रहरी बताउँछन् ।

गत अढाई महिना यता धनुषामा टिपर र मोटरसाइकलबीच ठक्कर भएको ५ दुर्घटना भएका छन् । जसमा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयका प्रमुख साहले मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको दुई घटनामा मोटरसाइकल चालककै कमजोरी देखिएको बताए ।

प्रकाशित : भाद्र २४, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?