२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

७ अर्बको गेडागुडी आयात

बढी मात्रामा सिमी, बोडी, सस्र्युं, रायो, तिल, गेडागुडी र दलहन आयात

पर्सा — धेरैलाई लाग्छ नेपालीले बढी रुचाउने सिमी, बोडी, सस्र्युं, रायो, तिल, मुसुरो जस्ता गेडागुडी र दलहन स्वदेशमै उत्पादन हुन्छन् । तर, होइन । गेडागुडी समुद्र पार मुलुकबाट आयात हुन्छ ।

७ अर्बको गेडागुडी आयात

नेपालीको परम्परागत खान्कीका गेडागुडी तथा दलहनको व्यावसायिक खेतीलाई प्रोत्साहित नगरिँदा वर्षेनी अर्बौ रुपैयाँ यिनै गेडागुडीको आयातबाट बिदेशिने गरेको तथ्यांकले देखाएको
छ । तेस्रो मुलुकबाट यी गेडागुडी आयात हुने मुख्य नाका सिर्सिया सुक्खा बन्दरगाहबाट गत आवमा मात्रै ७ अर्ब बढीका यी वस्तु आयात भएका छन् । आयात घट्नु साटो वर्षेनी बढिरहेको तथ्यांकले देखाएको छ ।

बन्दरगाहस्थित भन्सार कार्यालयको तथ्यांकअनुसार गत आवमा यो नाका हुँदै १ अर्ब २४ करोड बराबरको २ करोड ७२ लाख किलो सिमी आयात भएको छ । अघिल्लो आवमा ३२ करोड ५८ लाख बराबरको ४१ लाख १४ हजार किलो सिमी आयात भएको थियो । तुलनात्मक रूपमा सिमीको आयात ६ गुणाभन्दा पनि बढी भएको छ । त्यसैगरी, गत आवमा १ अर्ब ८४ करोड बराबरको ३ करोड १३ लाख किलो बोडी यो नाका हुँदै आयात भएको छ । अघिल्लो आवमा १ अर्ब २६ करोड बराबरको १ करोड १६ लाख किलो बोडी आयात भएको थियो । यसको आयात पनि झन्डै ३ गुणाले बढेको छ ।


गत आवमा यो नाका हुँदै ३ अर्ब ५० करोड बराबरको ६ करोड २८ लाख किलो तोरी, रायो, सस्र्यु, तिल आदि आयात भएको छ । अघिल्लो आवमा ३ अर्ब ११ करोड बराबरको ५ करोड ४० लाख किलो यी गेडागुडी आयात भएको थियो । तुलनात्मक रूपमा अघिल्लो आवभन्दा गत आवमा यसको आयात करिब ८० लाख किलोले बढेको छ ।


गत आवमा यो नाका हुँदै ९६ करोड ५३ लाख बराबरको २ करोड ४१ लाख किलो मुसुरोको दाल आयात भएको छ । अघिल्लो आवमा १ अर्ब ४२ करोड बराबरको १ करोड ८३ लाख किलो मुसुरो दाल आयात भएको थियो । यसको आयात करीब ४० लाख किलोले बढेको छ ।


भन्सार कार्यालयका सूचना अधिकृत धनबहादुर बरुवाल यी वस्तु अस्ट्रेलिया, क्यानाडा, म्यानमार आदि मुलुकबाट आयात हुने गरेको बताउँछन् । आयात परिमाण बढी देखिए पनि यी बस्तुमा भन्सार शुल्क भने कम लाग्छ । यिनको आयातमा मूल्यको १० प्रतिशत भन्सार शुल्क लाग्छ । तर आयात हुने मुख्य बस्तुहरूमा भने यिनको भूमिका उल्लेखनीय हुने गरेको उनले बताए ।

प्रकाशित : भाद्र २५, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?