कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोरी पढाउन साइकल

लक्ष्मी साह

बारा — महागढीमाई नगरपालिकाले शिक्षाका लागि विद्यालयमा पहुँच बढाउन छात्रालाई ‘छोरी शिक्षा’ अन्तर्गत साइकल उपलब्ध गराएको छ । नगर क्षेत्रको विभिन्न विद्यालयमा कक्षा ९ मा अध्ययनरत २ सय १ छात्रालाई साइकल उपलब्ध गराएको हो ।

छोरी पढाउन साइकल

गरिबी, अशिक्षा र चेतना अभावलगायतले विद्यालय छाडेर घरमै कामकाज गर्नुपर्ने अवस्थाकी छात्रालाई पुन: विद्यालय आउजाउका लागि नगरपालिकाले साइकल उपलब्ध गराउने योजना बनाएको छ । शिक्षाका लागि विद्यालयमा पहुँच बढाउन छात्रालाई ‘छोरी शिक्षा’ अन्तर्गत साइकल वितरण गरिएको नगर प्रमुख उपेन्द्र यादवले बताए ।

‘प्रदेश सरकारको छोरी पढाउने अभियानलाई सघाउ पुर्‍याउन यस्तो योजना ल्याइएको छ,’ उनले भने, ‘यसले छात्रा र अभिभावकको शिक्षाप्रतिको मनोबल उच्च भएको छ ।’ ८ कक्षा पढेर छाडेकी छात्राहरूलाई पुन: विद्यालय पुर्‍याउन पनि साइकल वितरण गरिन उनले बताए । नगर प्रमुख यादवका अनुसार तल कक्षाबाट दु:ख गरेर अभिभावकले छोरीलाई पढाउँछन् । तर छोरीहरू नौ कक्षा पुग्दा नपुग्दै अभिभावकले पढाइ छुटाइदिन्छन् । यही दुर्भाग्यलाई हटाउन साइकल उपलब्ध गराउने छौं ।


‘पढाइमा इच्छा शक्ति हुने, तर साधनस्रोत अभाव र अभिभावकको नाकारात्मक भावनाले कतिपय छात्राहरू गृहिणीका रूपमा घरमा बसेको पाइन्छ,’ उनले भने, ‘त्यसैले यसलाई हटाउन छोरी शिक्षाअन्तर्गत साइकल वितरण योजना ल्याइएको छ ।’ साइकल वितरणले टाढाटाढाबाट विद्यालयमा पढ्न आउने छात्राहरूलाई आउजाउ सजिलोसँगै शिक्षाप्रति साहस र आकर्षण बढने उनले विश्वास व्यक्त गरे । नगरको शिक्षाको गुणस्तर बृद्धि नगर भरिका विद्यालयहरूमा कक्षा ६ देखि कम्प्युटर शिक्षा लागू गर्न नगरपालिकाले योजना बनाएको छ ।


विद्यालयहरूमा विषयगत शिक्षकहरूको अभाव रहेकोले चाँडै दरबन्दी मिलान गरी प्रत्येक विद्यालयहरूमा विषयगत शिक्षकको व्यवस्था गरिने नगरपालिकाका अधिकारीले जनायो । गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका ७९ जना, भोला माविका ८७ र नेपाल राष्ट्रिय मावि बबुआइनका ३५ जना गरी २ सय १ छात्रालाई नगरपालिकाले साइकल वितरण गरेको हो ।


शिक्षामा लगानी
नगरपालिकाले गत आव ०७४/७५ मा नगरका अधिकांश विद्यालयमा शैक्षिक अवस्था सुधारका लागि लगानी गरेको छ । कम्प्युटर, फर्निचर, महिला तथा पुरुष शौचालय, शुद्ध पानी पिउन चापाकल, गर्मी छल्न पंखा तथा वाटर फिल्टर मेसिनलगायत भौतिक संरचना तयार गर्न बजेट उपलब्ध गराएको छ ।


विद्यालयमा शुद्ध खानेपानीको लागि चापाकल नगरपालिकाका अनुसार नेराप्रावि पिप्राविर्तामा पर्खाल निमार्णको ४ लाख, लालीगुराँस प्रावि कवहीजब्दीमा पर्खाल तथा गेट निमार्ण गर्न २ लाख, रामजानकी प्रावि बरियारपुरमा छत ढलान गर्न २ लाख ५० हजार, भोला मावि गंजभवानीपुरमा अधुरो भवन निमार्ण गर्न ४ लाख गराइएको छ ।

यसैगरी नेरामावि पिप्राढी बेनौलीमा पर्खाल निमार्ण गर्न ९ लाख, गडबडामाई विद्यालयमा फर्निचर खरिद गर्न २ लाख, नगरभरिका विभिन्न निमावि र माविमा ८ लाख ५० हजारको कम्प्युटर वितरण गरिएको छ ।

प्रकाशित : भाद्र २५, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?