२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

जिउँदैलाई मृत्युको प्रमाणपत्र

रौतहट — गरुडा नगरपालिका ९, रघुनाथपुर की ७० वर्षीया पार्वतिया देवी शनिबार घरको बरन्डा छेउमा सुकुल ओछ्याएर एक्लै बसेकी थिइन् । उनी मज्जाले बोल्छिन् । बुढ्यौली शरीर, केही अस्वस्थ भए पनि उनको स्वास्थ्य अवस्था यतिखेर राम्रै छ ।

जिउँदैलाई मृत्युको प्रमाणपत्र

तर, वडा कार्यालयले उनको मृत्यु भनेर प्रमाणपत्र जारी गरेको छ । त्यसपछि छोराले मालपोत कार्यालय गरुडामा मृत्युको प्रमाण पेस गरी उनको नामको जग्गासमेत पास गराएका छन् । उक्त किर्तेको जिल्ला प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं र गृह मन्त्रालयमा उजुरीसमेत परेको छ ।


वडाध्यक्ष राजेशकुमार सहनीको रोहबरमा गरिएको सर्जमिनका आधारमा स्थानीय पञ्जाधिकारी बासुदेव चौधरीले गएको बैशाख १९ गते छोरा शंकर गोसाईले भरेको अनुसूची ३ को सूचना फारमबमोजिम २०७२ माघ १५ गते दर्ता नम्बर ४७ रहने गरी मृत्यु भएको प्रमाणपत्र बनाइदिएका हुन् ।

त्यसैका आधारमा शंकरले आमाको नामको ३ कठ्ठा ५ धुर, १४ धुर र १९ धुर जमिन वैशाख २३ गते आफ्नो नाममा नामसारी गराएका थिए । त्यसको २ दिनपछि बैशाख २६ गते सर्लाही सुन्दरपुर घर भएकी आफ्नै बहिनी फुलभरीया देवीलाई उक्त जग्गा शंकरले रजिष्ट्रेसन पास गराएका हुन् । यसका लागि वडा कार्यालयबाट नाता प्रमाणित समेत गराएका छन् । वडा अध्यक्ष सहनीको रोहबरमा पार्वतीदेवीको मृत्यु भएको भनेर सर्जमिन गरेका छन । सर्जमिनमा जग्गा पासका लागि मालापोतमा सिफारिस गरिदिन समेत उल्लेख गरिएको छ ।


किर्ते घटना सार्वजनिक भएपछि छिमेकीहरूसमेत झुट बोल्थे । छोरा शंकरले भने बहिनी फुलभरियासित ३ लाख ऋण सापट लिइएकाले त्यसै बापत जग्गा पास गरिदिएको जवाफ दिए । ‘ऋण खाएपछि तिर्नुपर्‍यो नि,’ उनले भने,’ आमा मरेको भनेर प्रमाण बनाएको छैन । सौतेनी आमाको मृत्यु भएको हो ।’ शंकरको कोही पनि सौतनी आमा छैन । गाउँमा कोही नयाँ मानिस पुग्यो भने शंकर लुक्छन् । उनले आमालाई समेत भेट्न दिँदैनन् । घर पछाडिको खेतमा लुकाइदिन्छन् । शंकरले वडा कार्यालयबाट सोही मितिमा बनाइएको नाता प्रमाणपत्रमा पार्वती देवीबाहेक सौतेनी आमाको नाम छैन । जिउँदै मानिसलाई मरेको भनेर मृत्यु दर्ता प्रमाणपत्र बनाइदिएको थाहा पाएपछि स्थानीय राजकुमार दासले जिल्ला प्रशासन गौरमा उजुरी दिएका थिए । उनले किर्ते गरेको प्रमाण सहित उजुरी दिएका हुन् ।


स्थानीयले गृह मन्त्रालयमा समेत छानबिनका लागि उजुरी दिएका थिए । गृहले सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासनमा पत्राचार गरेको छ । दासले यथार्थ छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग अघि सारेका छन् । छानबिनका लागि जिल्ला प्रशासनले अधिकृत अमृत सुवेदीलाई खटाइएको छ । उनले वडा कार्यालयमा पार्वती देवीको मृत्यु दर्ताको प्रमाणपत्र बनाउँदा भएको सबै कागज र भारतीयलाई जन्म दर्ताको सिफारिसको कागज झिकाएका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले छानबिन गरी दोषीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताए ।

प्रकाशित : भाद्र २५, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?