पुलको काम रोकियो

ठेक्का लुम्बिनीको नाममा भए पनि लगानी पप्पु कन्स्ट्रक्सनको
शिव पुरी

रौतहट — ठेकेदारले पुरानो दररेटमा निर्माणको काम गर्न नसक्ने भन्दै निहुँ खोज्न थालेपछि यहाँको राजदेवी नगरपालिका–३ स्थित निर्माणाधीन अवस्थामा काम बन्द छ । यसले रौतहट–सर्लाही सीमा पुलको निर्माण कार्य अन्यौल बनेको छ ।

पुलको काम रोकियो

हुलाकी सडक आयोजनाले ठेकेदारलाई काम सुरु गर्न पटकपटक पत्राचार र मौखिक रूपमा अनुरोध गर्दै आएको छ । तर उसले मानेको छैन । निर्माण कम्पनीले नयाँ दररेट कायम नभएसम्म काम नगर्ने अडान लिएपछि काम सुरु हुन नसकेको हो ।


हुलाकी सडक आयोजना योजनाअन्तर्गत दुबै जिल्लाको सीमा जोड्ने गरी निर्माणाधीन अवस्थामा ४ वर्षदेखि बन्द भएको पुलको काम सुचारु गर्न निर्माण कम्पनी लुम्बिनी बिल्डर्सले नमानेको हो । ठेक्का लुम्बिनीको नाममा भए पनि लगानी पप्पु कन्स्ट्रक्सनको हो । हुलाकी आयोजना निर्देशनालयले २ महिना अघि नै काम सुरु गर्न निर्माण कम्पनीलाई पत्राचार गरिसकेको छ ।


तर ठेकेदारले पुरानो दररेटमा काम गर्न नसक्ने भन्दै पन्छिएको छ । यस विषयमा पटकपटक सम्बन्धित ठेकेदारलाई बोलाएर निर्देशनालयमा छलफल समेत गरिएको निर्देशनालयका कामु निर्देशक श्यामप्रसाद खरेलले बताए । ‘पुल निर्माणका लागी ठेकेदारलाई २ महिनाअघि नै पत्राचार गरिसकेका छौ,’ उनले भने, ‘आयोजनाले ९० दिनसम्म साइड उपलब्ध नगराइएको र ठेक्का तोड्ने निवेदन दिइसकेकाले काम गर्न नसक्ने भनेर पन्छिन खोजेका छन् ।’


निर्माण कम्पनीका तर्फबाट नयाँ प्रस्ताव आएपछि निर्णय लिने खरेलले जनाए । सुरु गर्न सम्बन्धित ठेकेदारले अस्विकार गरेको छ । उक्त पुलको ठेक्का लुम्बिनी बिल्डर्सको नाममा भए पनि लगानी पप्पु कन्स्ट्रसनले गरेको हो । पुल निर्माणको काम बन्द भएपछि ठेकेदारले ठेक्का रद्द गर्न निवेदन दिएको दाबी गरेको छ । ९० दिनसम्म साइड उपलब्ध नभएपछि ठेक्का रद्द गर्न सक्ने प्रावधान रहेकोले त्यसैमा पप्पुको अडान छ ।


समयमा पुल नबेको भन्दै चौतर्फी दबाब खेपिरहेको आयोजनाले पुलको डिजाइन सहित ठेकेदारलाई निर्माणको काम सुरु गर्न पत्र पठाएको थियो । निर्माणका लागि छलफल गर्न पुल महाशाखाको प्रमुख सहित लुम्बिनी बिल्डर्सका निर्देशक विष्णु शर्मा, पप्पु कन्स्ट्रसनका तर्फबाट सुमित रौनीयार लगायतका बसेका थिए । सुमित संघीय समाजबादी फोरमका सांसद हरिनारायण रौनीयारका छोरा हुन् ।


४ वर्ष अघिको दररेटमा काम गर्न नसक्ने र ठेक्का तोडेको निवेदनलाई आधार बनाई ठेकेदार रौनीयार पन्छिन खोजेको हो । चाँडै यकिन प्रस्ताव ल्याउन आयोजनाले ठेकेदारलाई भनेको छ । ठेकेदारले पुल निर्माणको कामको पुन टेन्डर आह्वान गर्न अनुरोध गरेको छ । उसले नयाँ दररेटमा ठेक्का रद्दको अडान लिएको छ ।


पप्पुले पुल निर्माणको क्रममा जग खन्ने क्रममा निस्केको माटो व्यवस्थापनमा चासो दिदा साविकभन्दा पूर्वबाट खोला बग्न थाले पछि निर्माणको काम तत्काल रोकिएको हो । पुल एकातिर खोला अर्कोतिर बग्न थालेपछि निर्माणको काम रोकिएको पुल महाशाखाका डिई अर्जुन थापाले बताए । ‘पुल निर्माणको क्रममा ठेकेदारले पिलरको जग खनेर निस्कने माटो अन्यत्र व्यवस्थापन गर्नु पथ्र्यो,’ उनले भने,’ त्यसो नगर्दा नदीले धार परिवर्तन गर्‍यो । र काम बन्द गर्नुपर्ने अवस्था आयो । यसमा ठेकेदारको लापरबाही देखिन्छ ।’ उक्त पुल निर्माणको काम पप्पुले गरेको हो ।


खोला पूर्णरूपमा सर्लाहीतिर बग्न थाले पछि समस्या भएको हो । अहिले पुल सुख्खा भएको स्थानमा छ । खोला पुल नै नभएतिर बगिरहेको छ । माटो हटाइदिएको भए समस्या नआउने प्राविधिकहरू बताउँछन् । पिलर तलको सबै माटो बगाइसकेको छ । ठेकेदारले पिलर निर्माणका बेला निस्कने माटो अन्यत्र व्यवस्थापन गर्नुपर्ने नियम छ । बागमतीमा पप्पुले त्यसो गरेको पाइँदैन ।


पुल निर्माणको ठेक्का सकार गर्ने बेला पप्पु कन्स्ट्रक्सन कालो सूचीमा परेकाले उसले अर्काको नामको फर्ममा बागमती पुलको निर्माणको ठेक्का सकार गरेको हो । लुम्बिनी बिल्डर्सका प्रबन्ध निर्देशक शर्माले फर्म आफ्नो भए पनि बागमती पुलेको काममा लगानी पप्पुले गरेको बताए । ‘बागमतीको पुलको काम पप्पुकै हो,’ उनले भने, ‘लुम्बिनी बिल्डर्सको फर्म मात्र प्रयोग गर्नु भएको हो ।’ पप्पुले देशभर पुल निर्माणको काम सकारेर त्यतिकै अलपत्र छाडेको छ ।


पुलकै कारण गएको शनिबार टिकुलीया घाटमा डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । हुलाकी आयोजना निर्देशनालयले नदीलाई पुरानै अवस्थामा फर्काउने गरी तयारी थालेको छ । यसो गर्दा पुल निर्माण सम्पन्न गर्न सहज हुने बताइएको छ । खोला पूर्णरूपमा सर्लाहीतिर बग्न थालेपछि समस्या भएको हो । नदीको धार फर्काउन प्राविधिक सहितको टोलीले स्थलगत हेरी प्रतिवेदन दिइसकेको छ । अब नदी नियन्त्रण गरी चाँडै धार परिवर्तन गरी पुरानै स्थानमा खोला ल्याइने पुल महाशाखाका डिई थापाले बताए । त्यसका लागि नदी नियन्त्रण गरी धार फकाइने तयारी थालेको उनले सुनाए । सबै समस्या हल हुन थालेको अवस्थामा पप्पुले पुरानो दर रेटको बाहना बनाएको छ ।


पुलको २०६७ जेठ ३१ गते सम्झौता भएको हो । २०७० जेठ ३० गते निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । कामु निर्देशक खरेलले पुल निर्माण गरिएको भन्दा ८ सय मिटर पूर्वबाट खोला बग्न थालेपछि काम रोकिएको बताए । पुलको लम्बाइ ६३३ मिटर हो । चौडाइ डबल लेन्थको छ । पुलको १७ वटा पिलरको काम सकिएको छ । अब सुपर स्टक्चरको काम बाँकी छ । परामर्शदाताले दिएको प्रतिवेदनअनुसारको काम बाँकी छ ।


निर्देशनालयका अनुसार अहिलेसम्म ६० प्रतिशत बढी काम सकिएको छ । लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा ठेक्का सकार गरेको हो । सम्पूर्ण कामको जिम्मा पप्पु कन्स्ट्रक्सनले लिएको छ । नाम लुम्बिनीको भए पनि काम पप्पु कन्स्ट्रक्सनले गर्ने ठेकेदार बीच सहमति भएको पाइएको छ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पुलको शिलान्यास गरेका हुन । अहिले पिलरको काम बाहेक भएको छैन ।


लामो समयदिेख पुल अलपत्र परेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले आक्रोस पोखेका छन् । काम रोकिएपछि ठेकेदार र उसका प्रतिनिधि कोही पनि निर्माणस्थलमा आएका छैनन् । स्थानीय सीताराम उपाध्यायले समयमा पुल बनेको भए रौतहट र सर्लाहीका मानिसलाई आवतजावत गर्न सहज हुने बताए । अहिले दुबै जिल्लाका मानिस डुंगा चढेर वारपार गर्छन् । वारि बतसपुर, बडहर्वा, राजदेवी लगायतका स्थानीय डुंगा चढेर पारि खेतमा काम गर्न जान्छन् । पुल बनेपछि रौतहट सर्लाहीका स्थानीयलाई सुविधा हुन्छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?