गोदाममै थन्कियो अनुदानको चामल

शंकर आचार्य

पर्सा — जापान सरकारले गत वर्ष अनुदान सहयोगमा दिएको चामल औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गर्न ढिलाइ गर्दा उक्त चामल यहाँस्थित खाद्य संस्थानको गोदाममा थन्किएको छ ।

गोदाममै थन्कियो अनुदानको चामल

हाल संस्थानको वीरगन्ज गोदाममा ५ हजार १ सय ७९ दशमलव ८० क्विन्टल चामल थन्किएको छ ।


जापानी सहयोगको यो चामल गत वर्ष असोज ११ गते सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको थियो । त्यति बेला भारतको कोलकाता बन्दरगाह हुँदै वीरगन्जसम्म २ वटा रेल्वे र्‍याकमा गरी ५० हजार क्विन्टल जापानी चामल आएको थियो ।


जसमध्ये ५ हजार क्विन्टल वीरगन्जमा राखी बाँकी चामल संस्थानको सुर्खेत र काठमाडौं कार्यालयहरूमा लगेर भण्डारण गरिएको छ । त्यहाँ भण्डारण गरिएको चामल पनि यसरी नै थन्किएको संस्थान वीरगन्ज शाखाका निमित्त प्रमुख मुनिलाल कुशवाहा बताउँछन् ।


जापान सरकारले हालसम्म औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरी नसकेकाले उक्त चामल अन्यत्र ढुवानी गरेर लग्न वा बिक्री वितरण गर्न नसकिने उनले बताए । सम्भवत सोमबार नै जापानी दूतावासका अधिकारीहरूले संस्थानको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा यी चामल खाद्य संस्थानलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए ।


त्यसपछि मात्र ढुवानीका लागि शाखाले टेन्डर आह्वान गरेर आफ्नो प्रक्रिया थाल्ने छ । ‘टेन्डर यहाँ खोलिन्छ, त्यसको स्वीकृतिका लागि सिफारिस साथ केन्द्रीय कार्यालय पठाउँछौं,’ उनले भने, ‘केन्द्रले स्वीकृति दिएपछि न्यूनतम रकममा ढुवानीको सकार गर्नेलाई चामल ढुवानीको टेन्डर दिइनेछ ।’


वीरगन्जमा रहेको सम्पूर्ण चामल सुर्खेत पठाइने उनले बताए । वीरगन्जमा जापानी चामलको माग नरहेको तर सुर्खेत क्षेत्रमा पनि यसको माग रहने गरेको उनले बताए ।


दसैं तथा तिहार पर्वमा पहाडी भेगमा जापानी चामलको माग हुने गरेकाले यहाँबाट सुर्खेत चामल पठाउने योजना बनाइएको उनले बताए । शाखा आफैंले पनि केन्द्रीय कार्यालयको स्वीकृतिबेगर चामल बिक्री वितरण गर्न पाउँदैन ।


यसअघि पनि २०६९ र २०६७ सालमा यसरी जापान सरकारले नेपाललाई अनुदान सहयोगमा चामल उपलब्ध गराएको कुशवाहाले बताए । २०६९ सालमा ८० हजार क्विन्टल चामल यसरी सहयोगमा आएको उनले बताए ।

प्रकाशित : भाद्र २७, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?