अदालतका कर्मचारीबाटै ठगिए दलित

जमिन रजिष्ट्रेसन पास गरिदिने सर्तमा राजकरण साहलाई एक लाख ५० हजार दिएका ७ वर्ष बित्यो । तर साहले सदालाई जग्गा रजिष्ट्रेसन पास गरिदिन मानिरहेका छैनन् ।
शाहीमान राई

जनकपुर — महोत्तरी जिल्ला अदालतमा कार्यरत एक जना कर्मचारीवाट स्थानीय दलित समुदायका व्यक्ति ठगिएका बताएका छन् । अदालतका खरिदार महोत्तरीको भंगाहा नगरपालिका–५ हात्तिसर्वाका ४३ वर्षीय राजकरण साहले दलित समुदायका व्यक्तिलाई आर्थिक लेनदेनमा ठगी गरेको आरोप छ ।

अदालतका कर्मचारीबाटै ठगिए दलित

महोत्तरी भंगाहा नगरपालिका–३ स्थित मुसहर समुदायका १८ जनासित जग्गा किनबेच र मेनपावर कम्पनीको एजेन्ट बनेर वैदेशिक रोजगारीमा पठाउने लगायत विभिन्न सर्तमा लाखौं रकम ठगी गरेको दलित समुदायले आरोप लगाएका छन् ।


भंगाहा नगरपालिका–३का ४३ वर्षीय किसुन सदालेएक कहाँ जमिन रजिष्ट्रेसन पास गरिदिने सर्तमा राजकरण साहलाई एक लाख ५० हजार दिएका ७ वर्ष वित्यो । तर साहले सदालाई जग्गा रजिष्ट्रेसन पास गरिदिन मानिरहेका छैनन् ।


उनले ज्याला मजदुरी गरेर कमाएको रकम साहलाई दिएर त्यही जग्गामा टहरा बनाएका थिए । जग्गा रजिष्ट्रेसन गरिदिनु पर्नेमा साहले टहरा भत्काएर लैजान दबाब दिन थालेपछि सदा परिवारलाई विपद आइलागेको बताए । ‘दलित विपन्न परिवारका किसुन सदाले पसिना बगाएर खाइनखाइ कमाएको पैसा न हातमा छ, न त जग्गा नै,’ किसुनले भने ।


वर्षौं वितिसक्दा पनि जग्गा पास नगरिदिएपछि दलित किसन सदाले उनीविरुद्ध भंगाहा नगरपालिका वडा नं ३ का वडाध्यक्ष ओहित मियाको कार्यालयमा निवेदन दिए । वडा कार्यालयले घटनाको स्थलगत अध्यायन गरी छलफलका लागि पटक पटक बोलाउँदा पनि साह उपस्थित भएनन् ।


त्यसपछि वडाध्यक्षले सर्जिमिन मुचुल्का गरी भंगाहा नगरपालिकाको न्यायिक समितिमा सिफारिस गरिदिए । किसुनले वडा कार्यालयको सिफारिस सहित न्यायिक समितिमा उजुरी दिएपछि उपमेयर गंगादेवी सिंह दनुवारले साहलाई छलफलका लागि पटक पटक पत्राचार गर्दा पनि आएनन् ।


नगरपालिकाको न्यायिक समितिमा उपस्थित नभएपछि उपमेयर गंगादेवी सिंह दनुवारले राजकरण साहविरुद्ध कानुनी उपचारका लागि सिफारिस पत्रलेखेर दिइन् । तर अब यो सिफारिस कहाँ बुझाउने ? किसन सदा अलमलमा परेका छन् । ‘अब यो सिफारिस कहाँ, कसलाई बुझाउने हो, थाहा छैन, साहले भने उल्टै अदालतमा मुद्दा दे भन्छ,’ पीडित सदाले कान्तिपुरसित भने, ‘न्यायलायको ढोका ढकढक्याउन खर्च छैन, अलिअलि कमाएको सकियो, हिँडनडुल्न खर्च अभाव छ ।’


ज्यालामा मिस्त्रीको काम गरेर २ श्रीमती र ३ छोराछोरीसहित ६ जनाको परिवारको पालनपोषण, लत्तकपडा, नुनतेल, खानेकुरा धान्दै आएका छन् । अदालतका कर्मचारी साहले बेचिसकेको जग्गाको मूल्य बृद्धि भएकोले रजिष्ट्रेसन गरिदिन नमानेका हुन् । महोत्तरीमा जयनगर–जनकपुर रेलवे बनेपछि जग्गाको भाउ बढेको छ । साहले मूल्य बढेको जग्गा रजिष्ट्रेसन नगरिदिने, बरु अदालतमा मुद्दा हाल्न चुनौती दिएको सदाले बताए ।


साहको अर्को धन्दा गरिब दलित परिवारलाई विदेश पठाएर रकम असुल्ने गरेको पीडित परिवारले आरोप लगाएका छन् । साहले मेनपावर कम्पनीसित मिलेमत्तोमा छिमेकी चिनजानका दलित गरिब मुसहर समुदायका युवालाई वैदेशिक रोजगारीमा पठाउने गरेका छन् । तर पैसा कमाउने लोभमा विदेश गएका दलित युवासित मासिक ५ रुपैयाँ (६० प्रतिशत) व्याज असुल्ने गरेको बताएका छन् ।


भंगाहा नगरपालिका–३ का ४० वर्षीय जीत सदालाई ६ वर्षअघि कतार पठाएबापत ८० हजार सावाँ लिएको कागज लेखे । मासिक एक हजार पाउने सर्तमा गएका उनले कतारमा मासिक ५ सय मात्र पाए । ‘दुई वर्षसम्म विदेशको कमाइ साहलाई नै पठाइदिएँ तर अझै पनि ऋण चुक्ता भएको छैन,’ जीत सदाले भने, ‘खाएर बचेको सबै साहलाई नै पठाइदिएँ तर हिसावकिताव छैन ।’


अर्का ४० वर्षीय जलधारी सदासित आकस्मिक भिसा आएको भन्दै १ लाख दस हजार तमसुकमा सहिछाप गराए । ‘कतारमा ३ वर्षको कमाइ करिब ४ लाख साहलाई नै पठाएँ,अझै ४२ हजार माग्दैछन्,’ जलधारीले भने, ‘सबै कमाइ उसैलाई दिएँ, हिसावकिताव छैन, लिएको कागज छ, दिएको छैन ।’ जलधारी र जीत सदाजस्तै प्रकाश राम, रामेश्वर राम, चन्द्रेश्वर रामलाई पनि विदेश पठाए । कतारमा ११ सय पाउने सर्तमा कतार गएका उनीहरूले काम नपाएपछि ३ महिनामै फर्किए । तीन जनालाई जनही एक लाख दस हजार तिर्ने गरी कपाली तमसुक गराए । तीन महिना काम गर्दा कमाएको ४५/४५ हजार पनि उसैलाई दिएको पीडितले बताए ।


उनीहरू कतारबाट फर्किएपछि भारतको मद्रासमा मजदुरी गर्दैछन् । तर उनीहरूसित जनही ३ लाख गरी ९ लाख बुझाउन घर परिवारलाई दबाब दिँदै आएको प्रकाश रामको आमा ५४ वर्षीया रामतोला रामले बताइन् । ‘हामीलाई साहुको ऋण तिर्न नसक्दा बसिनसक्नु भाको छ, दिनमा शान्ति छैन, रातमा निन्द्रा छैन,’ रामतोला रामले भनिन्, ‘अब कहाँबाट दिने साहुलाई पैसा ? सम्पत्तिको नाममा ओइलानी जग्गा एक धुर र छाप्रो छ ।’


साहले विदेश पठाउँदा ३५ हजार मेनपावर कम्पनीलाई दिने र वैदेशिक रोजगारीमा जानेबाट न्यूनतम ८० हजारदेखि १ लाख ५ हजारसम्मको मासिक ५ रुपैयाँ व्याजमा कपाली तमसुक बनाइदिने गरेको अर्का इसरलाल सदाले बताए ।


वैदेशिक रोजगारीमा जाँदा श्रीमानलाई लागेको ऋण सावाँ व्याज बुझाउन साहले दबाब दिएपछि सञ्चारकर्मीलाई सुनाउन महोत्तरीको भंगाहादेखि जनकपुरसम्म आएका ६ महिनाको काखे बालक लिएर आएकी रितादेवी सदा र ३५ वर्षीय सुनितादेवी रामले बृतान्त सुनाए । उनीहरूजस्तै साजन सदा, रामप्रसाद सदा, झग्नु सदा, शिवनारायण सदा, गोविन्द सदा, मिठु सदा, देवलाल सदा समेत ठगिएका छन् ।


दलित समुदाय ठगिएको विषयमा महोत्तरी अदालतका खरिदार साहसित सम्पर्क हुन सकेन । अदालतका श्रेष्तेदार रामानन्द प्रसाद अधिकारीले उनका बारेमा गुनासोहरू आउने गरेको भए पनि ठगि गरेको जानकारी नआएको बताए । साहले निमुखा दलितमाथि अन्याय गरेको भए सम्झाउने श्रेष्तेदार अधिकारीले बताए ।

प्रकाशित : भाद्र २७, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?