मूर्तिले पायो बजार

शंकर आचार्य

पर्सा — एक महिनादेखि वीरगन्जको तेजारथटोलमा भगवान विश्वकर्माको मूर्ति बनाइरहेका पन्नालाल र सोनालाल दाजुभाइ खुसीले गदगद छन् । यस वर्ष ५ दर्जन मूर्ति बनाएका उनीहरूको त्यसमध्ये झन्डै आधा मूर्ति बिक्री भइसके ।

मूर्तिले पायो बजार

‘ग्राहक आएर आधा मूर्ति बुक गरेर गएका छन्,’ २२ वर्षीय पन्नालालले भने, ‘अब मूर्ति नबिक्ला भन्ने चिन्ता रहेन ।’

उनले यसो भनिरहदा भाइ सोनालाल मूर्तिलाई अन्तिम रूप दिन रंगरोगनमा व्यस्त थिए । असोज १ गते परेको विश्वकर्मा पूजाका लागि १ महिना लगाएर बनाएका मूर्तिहरूलाई यी दाजुभाइ धमाधम अन्तिम सजावट गरिरहेका छन् । ‘अब समय नजिकिदै गएको छ,’ सोनालालले भने, ‘अहिलेदेखि लागिएन भने अन्तिम समयमा भ्याइनभ्याइ हुन्छ ।’

यस वर्ष आफूहरूले १ हजारदेखि २ हजारसम्म मूल्य पर्ने मूर्ति बनाएको उनीहरूले बताए । पर्सा बारा औद्योगिक करिडोरका उद्योग तथा यस भेगका ससाना व्यवसायीहरू मूर्तिका ग्राहक हुन्छन् । विश्वकर्मा पूजा मजदुरहरूले मनाउने भएकाले यो पूजामा तुलनात्मक रूपमा मूर्तिको माग बढी हुन्छ । विश्वकर्मा पूजा लगत्तै दुर्गा पूजाका लागि यी दाजुभाइलाई मूर्ति बनाउने अर्डर आइसकेको छ । ‘२ ठाउँबाट दुर्गा पूजाको मूर्तिको अर्डर आएको छ,’ पन्नालालले भने, ‘असोज १ पछि हाम्रो ध्यान त्यतातिर जान्छ ।’

यी दाजुभाइ मात्र होइन वीरगन्जको एक दर्जन बढी स्थानमा यस्ता कालिगढको समूह हिजोआज माटो र रंगरोगनसँग खेलेर कालिगढीको नमुना पेस गरीरहेका छन् । तीमध्ये थोरै मात्र नेपाली बाँकी भारतीय कालिगढ छन् । स्थानीय कालिगढमा मूर्ति बनाउने सीप कम भएको र मूर्तिको माग अत्यधिक हुने भएकाले यहाँको मूर्तिको माग र बजार भारतीय कालिगढले नै धानेका छन् ।

भारतबाट आउने कालिगढको प्रत्येक समूहमा तीन/चार जना कालिगढ हुन्छन् । कोही कालिगढ अर्डर बमोजिम यहा आई ज्यालादारीमा काम गर्छन भने कोही आफै साहु भएर मुर्ति बनाउछन् र नाफा कमाउँछन् । कतै मुर्तिका लागि माटो मुछने, बनाउने, रङ्गरोगन र अन्तिम तयारी एउटै कालिगढको समूहले गर्छ भने कतै कालिगढले मूर्ति बनाएर गएपछि रंगरोगन र बाकी काम अर्को व्यक्तिले गर्छन् ।

प्रकाशित : भाद्र २७, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?