१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

विद्युतीय सिल लागेका कन्टेनर आए

पर्सा — कस्टम ट्रान्जेट डिक्लेरेसनको विद्युतीय सिल लागेको एउटा मालवाहक रेल्वे र्‍याक सोमबार साँझ सिर्सिया सुक्खा बन्दरगाह वीरगन्ज आइपुगेको छ । ९० वटा कन्टेनर बोकेको र्‍याक साँझ करिब ६ बजे यो बन्दरगाह भित्रिएको हो ।

विद्युतीय सिल लागेका कन्टेनर आए

भदौ १२ गते भारतको विशाखापट्टनम् बन्दरगाहबाट हिँडेको यो रेल बाटोमा भएको रेलको प्राविधिक समस्याका कारण करिब एक साता ढिलो गरी आएको हो । सामान्यतया विशाखापट्टनमबाट हिँडेको रेल ४ देखि ५ दिनभित्र वीरगन्ज आइपुग्छ ।

र्‍याकमा रहेको प्रत्येक केन्टनरमा कस्टम ट्रान्जेट डिक्लेरेसन गरिएको विद्युतीय सिल लागेको थियो । यसलाई छोटकरीमा सीटीडी प्रणाली भनिन्छ । विशाखापट्टनम् बन्दरगाहमै ती सिल कन्टेनरमा लगाइएको थियो । नेपालका आयातकर्ताले तेस्रो मुलुकबाट आयात गरेको मालवस्तु बोकेका कन्टेनरमा भारतीय रेल्वेको भगिनी संस्था कोंकरले सिल लगाएर पठाएको सिर्सिया सुक्खा बन्दरगाह भन्सार प्रमुख सूर्य सेढाईले बताए ।

विद्युतीय सिलको मद्दतले मालवस्तु आयातकर्तादेखि भन्सार एजेन्ट, कर्मचारी, सिपिङ कम्पनी, भारतीय रेल्वेका सरोकारवाला कर्मचारीहरू समेतले उक्त रेल्वे र्‍याक कुन ठाउँमा छ, कति दिनमा गन्तव्यमा पुग्छ जस्ता जानकारी सहजै पाउने सेढाईले बताए । ‘यो वास्तवमै नेपालको तेस्रो मुलुकसँगको आयात निर्यात व्यापारमा कोसेढुंगा हो,’ उनले भने, ‘यो सिलले आयात निर्यातदेखि भन्सार प्रणालीमा रहेको कागजी रूपमा परम्परागत कामकाजको शैलीलाई पनि विस्थापित गरेर पूर्ण रूपले अनलाइन प्रणालीमा जोडेको छ ।’

यसरी विशाखापट्टनम् बन्दरगाहको यार्डबाट सुरु भएको अनलाइन प्रणालीले मालवस्तु नेपाली सीमासम्म अर्थात् आफ्नो गन्तव्यसम्म पुगेको जानकारी दिन्छ । नेपाल र भारतबीचको रेल्वे सम्झौतामा पनि नेपालको तेस्रो मुलुकसँगको आयात निर्यात व्यापारलाई अनलाइन ट्रान्स सिपमेन्ट मोडलमा लग्ने उल्लेख रहेकामा हाल आएर त्यो कार्यान्वयन भएको उनले बताए ।

अब तेस्रो मुलुकबाट भारतीय बन्दरगाह हुँदै आएका नेपाली आयातकर्ताका मालसामान भारतीय भन्सारको झन्झटिलो प्रणालीबाट मुक्तिका साथै तथा त्यहाँ यस प्रक्रियामा लाग्ने झन्डै एक साताको पटयारलाग्दो समय पनि बचत भएको उनले बताए । ‘हालसम्म सिपिङ कम्पनीहरूले नेपाल आउने मालसामान सीआईएफ (कस्टम इन्स्योरेन्स फ्रेड) कोलकाता लेख्दै आएका थिए,’ सेढाईले भने, ‘अब सीआईएफ वीरगन्ज हुन गयो ।’ यसले नेपाली आयातकर्ताको समय र अर्थ दुवैको बचत हुन गएको उनले बताए ।

कन्टेनरमा लगाइएको विद्युतीय सिल भने रक्सौल रेल्वे स्टेसनमै खोल्ने गरिएको छ । विद्युतीय सिल लगाउने ठेक्का ग्लोबल टेन्डरबाट ट्रान्स सेक्योर कम्पनीले पाएको उनले बताए । विगतमा कोलकाता बन्दरगाहबाट आउने तेस्रो मुलुकका कन्टेनरमा यो प्रणाली प्रयोगका रूपमा लागू गरिएकामा सफल हुन सकेको थिएन ।

प्रकाशित : भाद्र २७, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?