१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सुतिरहेका दिदीबहिनीमाथि तेजाब

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झना दास र बहिनी १५ वर्षीया सुस्मितालाई मंगलबार राति अज्ञात समूह अनुहारमा तेजाब हालेर भागेको छ । घरमा सुतिरहेको अवस्थामा दुवैजनाको अनुहारमा तेजाबले आक्रमण गरिएको हो । फरार भएकाको पहिचान हुन सकेको छैन ।

सुतिरहेका दिदीबहिनीमाथि तेजाब

अनुहारमा तेजाब परेर सख्त घाइते दिदीबहिनीलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनायो । राति १२ बजे अज्ञात समूह घरमा पसेर दुवै छोरीको अनुहारमा तेजाब फालेर भागेको बुवा जादोलाल दासले बताए । ‘म पुल हाउसमा सुत्थेँ । छोरीहरू र आमा घरमै थिए,’ उनले भने, ‘राति अचानक तेजाब आक्रमण भएको थियो ।’


सम्झना शौचालय जान बाहिर निस्केकी थिइन् । त्यसपछि भित्र पसेर ढोकाको चुकुल लगाइन् । चुकुल कमजोर भएकाले तेजाब आक्रमणकारी सहजै पस्न सकेका थिए । तेजाबबाट सम्झनाको आँखामा गहिरो चोट लागेको जादोलालले बताए । उनका अनुसार सुस्मिताको कपाल र अनुहारमा घाउ भएको छ । दुवै बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनायो । चन्द्रनिगाहपुर अस्पतालले थप उपचारका लागि बिहान ५ बजे नै काठमाडौं पठाएको छ । डा. सुभास चौधरीले दुवैको अवस्था खतरामुक्त रहे पनि थप उपचारका लागि रेफर गरेको बताए । ‘दिदीको आँखामा गम्भीर चोट छ,’ उनले भने, ‘बहिनीको मुटुको धड्कन स्थिर नभएको र घाउ बढी भएकाले काठमाडौं पठाएका हौं ।’


घटनापछि तत्कालै इलाका प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले तेजाब आक्रमणकारीको खोजी भइरहेको बताएको छ । घाइते दुवैले तेजाब हान्नेलाई नचिनेको बताए । जादोलाल घाइते छोरीलाई लिएर काठमाडौं गएका छन् । उनीहरूलाई कीर्तिपुर अस्पतालमा भर्ना गरिएको जादोलालले जानकारी दिए । ।

प्रकाशित : भाद्र २७, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?