१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

खानेपानी उत्पादनमा सुधार आएन

नौ जिल्लाका ६० देखि ७० उद्योगमध्ये आधाजसो उद्योगमा मानव स्वास्थ्यमा नोक्सानी गर्नेखालका पानी उत्पादन
लक्ष्मी साह

बारा — कलैया उपमहानगरपालिका–१४ बघवनस्थित ‘न्यु अक्वा वाटर किङ’ पानी उत्पादन उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंले मंगलबार अनुगमन गर्दा पानीको सूक्ष्म जीवाणु नष्ट गर्ने यूबी लाइट र ओजोन जेनेरेटर प्रयोगमा थिएन ।

खानेपानी उत्पादनमा सुधार आएन

‘वाटर किङ’ ब्रान्डको यी पानी उद्योगमा ती प्रविधि भए पनि खर्च बढ्ने भएकाले उद्योगीले प्राविधिकसमेत राखेको थिएन ।


सरसरफाइ त झनै थिएन । उद्योगमा कामदारहरूले प्रयोग गर्ने हेड नेट, पोसाक, मास्क, ग्लोब त छँदै थिएन । पानी भर्ने र प्रशोधन गर्ने ठाउँ नजिकै चर्पी थियो । चर्पीको पानी यत्रतत्र थियो । उद्योगभित्र चारैतिर पानी जमेको थियो । पानी भर्ने ‘क्लोज रुम’ थिएन, खुला थियो । पानीको शुद्धता परिक्षण गर्ने किड्ससमेत थिएन । पानी नजम्ने ड्रेन थिएन । त्यसैले प्रमुख जिल्ला अधिकारीको समन्वयमा उद्योग सिल गरियो ।


जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी अधिकृतको रोहबरमा उद्योग सिल गरिएको हो । यसबाहेक जिल्लाका जितपुर सिमरा उपमहानगरपालिका स्थित ‘वीरगन्ज फुड इन्डस्ट्रिजले उत्पादन गर्दै आएको स्टार अक्वा र कलैया उपमहानगरपालिका सिसहनीयास्थित टिनिटी नेचुरल रिसोर्सेज प्रालिले उत्पादन गर्दै आएको इमेज ब्रान्डको पानी उत्पादन उद्योगमा सिल गरिएको प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले जानकारी दिए ।


उनका अनुसार पानी उत्पादन उद्योगमा लामो समयदेखि अनुगमन नभएकाले उद्योगीले मनोमानी रुपमा बेथिति बढाएका छन् । त्यसैले मान्छेको बाँच्ने आधार पानीजस्तो संवेदनशील विषयमा जिल्लामा भएका अझै त्यस्ता दूषित पानी उत्पादन गर्ने उद्योगमा अनुगमन गरिने उनले बताए । ‘ती उद्योगको अवस्था हेर्दा ‘थर्ड क्लास’ को थियो,’ खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख राजकुमार रिजालले भने, ‘पानी प्रशोधन गरेर बोतलमा पानी भर्न चाहिने प्राविधिक पनि थिएनन् । कसरी र कसले शुद्ध पानी जाँच्ने ? उद्योगभित्र फोहोर र प्रविधि अभावको कुरै गर्न साध्य छैन ।’


यी उद्योग दृष्टान्त मात्र हुन् । खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय हेटांैडांका प्रमुख रिजालका अनुसार हेटौंडा कार्यालयअन्तर्गत पर्ने नौ जिल्लाका ६० देखि ७० उद्योगमध्ये आधाजसो उद्योगमा यस्तै बिजोग देखिएको छ । ‘पानी उत्पादनका लागि सरकारले बनाएको मापदण्ड र जारी गरेको निर्देशिकाअनुसार थोरै पनि मेल नखाने छ्याप्छ्याप्ती पानी उत्पादन भइरहेको छ ।’ दुई महिनायता नौ जिल्लामा अनुगमन गर्दा सञ्चालनमा रहेका ती पाँच दर्जन उद्योगमध्ये आधाजसो पानी उद्योगको बेथिति त्यस्तै रहेको उनले बताए । ‘ती उद्योगले थोरै पनि मापदण्ड पूरा गरेको पाइएको छैन् । हचुवामा उद्योग चलाएर पानी उत्पादन गरिरहेका छन् ।’


२०७४ माघमा ती नौ जिल्लाका सबै उद्यागीलाई वीरगन्जमा भेला गरेर सरकारी मापदण्ड पूरा गर्न निर्देशनसहित सरधारका लागि ‘थ्रेट’ दिइएपनि सुधार नभएको रिजालको भनाइ छ । ‘सुधारात्मक कारबाहीले होइन, अब मुद्दा नै चलाउनुपर्ने अवस्था छ,’ उनले भने । उनका अनुसार धनुषाको जनकपुरमा ५, रौतहटमा १, बारामा ३, पर्सामा ३, मकवानपुरको हेटौंडामा ४, चितवनमा १० उद्योगमा अनुगमन गर्दा त्यस्तै बेथिति पाइएकाले उद्योग सिल गरिएको उनले बताए ।


सुधार नगर्ने कतिपय उद्योगको हकमा अवस्था हेरेर मुद्दाको तयारीसमेत गरिएको उनको भनाइ छ । ‘साना उद्यागीले थोरै लगानी गरेर धेरै पैसा कमाउने मनसायले नियतवश जसोजसो दूषित पानी उत्पान गरी बजारमा बिक्री गरिरहेका छन्,’ बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीले भने, ‘त्यस्तो पानीले मानव स्वास्थ्यमा पुर्‍याउन सक्ने हानिलाई उनीहरूले ख्याल गरेको देखिएन । मानवको स्वास्थ्यसित सिधा खेलबाड गरेका हुन् ।’ स्टार अक्वा, वाटर किङ, इमेज ब्रान्डलगायतमा यस्तो समस्या देखिएको उनले बताए ।


स्टार अक्वा ब्रान्डमा कीरा नै फेला परेको उनले बताए । ‘धेरै नै जनगुनासो छ,’ उनले भने, ‘सात रुपैयाँ पर्ने पानी बजारमा २० देखि ३० रुपैयाँमा बिक्री हुन्छ र त्यो पनि अशुद्ध । त्यस्तो पानी पिउनाले झाडापखाला र आउँ हुन सक्ने जोखिम हुन्छ ।’

प्रकाशित : भाद्र २८, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?