१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पाइपलाइन परियोजनामा ‘ड्रिलिङ’

शंकर आचार्य

पर्सा — निर्माणाधीन अमलेखजन्ज–रक्सौल–मोतिहारी तेल पाइपलाइन परियोजनाअन्तर्गत बाराको जितपुरमा स्थानीयले जग्गा नदिए जमिन मुनिबाट पाइप लग्ने सम्भावना छ ।

पाइपलाइन परियोजनामा ‘ड्रिलिङ’

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टका इन्जिनियर शरदप्रसाद पौडयालका अनुसार जितपुरबाहेक अन्य क्षेत्रमा काम धमाधम भई रहे पनि जितपुरको समस्या समाधान भएकाले विकल्पको रूपमा ‘ड्रिलिङ’ गरेर भए पनि पाइपलाइन लान सकिने सम्भावना रहेको छ । ‘हालसम्म जितपुरको समस्या समाधान हुन सकेको छैन,’ उनले भने, ‘पाइपलाइनको बाटामा पर्ने नालामा हाल जारी ड्रिलिङ जस्तै जितपुरमा पनि स्थानीय सहमतिमा नआए ड्रिलिङ गरेर भए पनि पाइपलाइनको कामलाई निरन्तरता दिन सकिन्छ ।’


हाल जितपुरदेखि दक्षिण र परवानीपुरदेखि उत्तरतर्फ ८/१० स्थानमा यसरी नाला मुनिबाट पाइप ड्रिलिङ गर्ने काम भइरहेको उनले बताए । ‘यसरी ड्रिलिङ गर्न थोरै क्षेत्रमा मात्रै गरेर नपुग्ने रहेछ,’ उनले भने, ‘कम्तीमा एक सय मिटरजति पाइप जमिनमुनि छिराउनुपर्ने रहेछ ।’


जितपुर बजारमा १ हजार ८ सय मिटर पाइप ओछ्याउनुपर्नेमा त्यहाँ स्थानीयले पाइपलाइनका लागि जग्गा दिन ढिलाइ गरे अन्तत: यसरी नै पाइप ड्रिल गरेर जमिनमुनि ओछ्याइने उनले बताए । त्यसो भए यो परियोजनाकै सबैभन्दा ठूलो ड्रिलिङ गरिएको क्षेत्र हुनेछ ।


जितपुरको समस्या समाधान हुने सम्भावना अझै पनि रहेको र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने करिब ५ हजार रुख काट्ने अनुमति पनि पाउने सम्भावना नजिकिएकाले परियोजनाको कामले अब गति लिने सम्भावना रहेको उनले बताए ।


वर्षाकै बीच पनि परियोजनाको काम भने हाल जारी नै रहेको पौड्यालले बताए । हाल सिमरादेखि जितपुरको बीचमा परियोजनाको काम भइरहेको छ । हालसम्म नेपालतर्फ १७ किमिभन्दा केही बढी पाइप ओछ्याइसकिएको उनले जानकारी दिए । भारततर्फ नेपालभन्दा दु्रत गतिमा काम हँुदै गरेकाले त्यहाँ करिब २५ किमि पाइप ओछ्याइसकिएको छ ।


नेपालतर्फ वीरगन्जस्थित नेपाल भारत सीमादेखि अमलेखगन्जस्थित आयल निगमको डिपोसम्म गरी ३६ किमि पाइप ओछ्याउनुपर्नेछ । हालसम्म पथलैया काँटादेखि सिमरा हुँदै जितपुरसम्म, वीरगन्जको बाइपास क्षेत्रमा बढी काम भएको छ ।


वीरगन्जस्थित नेपाल भारत सीमा क्षेत्रमा १ किमि, जितपुर बजार, परवानीपुर बजार र पथलैया काँटादेखि उत्तर राष्ट्रिय वन र पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्र हुँदै अमलेगखन्जसम्म पाइप लाइनको काम पूर्ण रूपले बाँकी छ । यो परियोजनाअन्तर्गत भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३ दशमलव ७ सय किमि पाइप ओछ्याइँदै छ । यता रक्सौलदेखि अमलेखगन्जसम्म २६ दशमलव २ सय मिटर लामो पाइप लाइन ओछ्याइँदै छ ।


परियोजना लागत प्रतिकिमि भारु ४ देखि ५ करोड रुपैयाँ रहेकाले परियोजनाको कुल लागत झन्डै ३ सय ५० करोड भारु रहेको छ । यो परियोजनाअन्तर्गत फागुन २५ देखि पाइप लाइन ओछ्याउने काम सुरु गरिएको थियो । पाइप लाइन ओछ्याउने र वेल्डिङ गर्ने कामको ठेक्का भारत महाराष्ट्रको लिखित इन्फ्रास्टक्चर प्रालिले लिएको छ । परियोजनामा भारत महाराष्ट्रको सिमलेस लिमिटेडले उत्पादन गरेको स्टिल पाइप प्रयोग गरिँदै छ ।


इन्डियन आयल कर्पोरेसनको लगानीमा सञ्चालित यो परियोजनाका लागि नेपालले पाइप लाइन ओछ्याउने स्थान र वीरगन्जका केही स्थानमा नेपाल आयल निगमले मुआब्जा वितरणको कामबाहेक नेपाल सरकारको लगानी छैन ।


यसै परियोजनाअन्तर्गत अमलेखगन्जस्थित आयल निगम डिपोमा ४ वटा ट्यांकीको स्तरोन्नतिको काम पनि भइरहेको छ । भारत फरिदाबादको मोतिप्रभा इन्फ्राटेक प्रालिले यो काम गरिरहेको छ । पाइपबाट भारतबाट आउने इन्धन ती ओभरहेड ट्यांकीमा भण्डारण गरिनेछ । ३ हजार ९ सय किलोलिटर क्षमताका २ वटा, ४ हजार १ सय र १ हजार ५ सय केएलका १/१ वटा गरी ४ वटा ट्यांकी स्तरोन्तति गरिँदै छ जसमा कुल १३ हजार ४ सय केएल इन्धन भण्डारण हुनेछ ।

प्रकाशित : भाद्र २८, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?