२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जनकपुरमा सद्भावपूर्ण तीज

शाहीमान राई

जनकपुर — प्रदेश २ को राजधानी जनकपुरमा पहाडे र मधेसी महिलाले बुधबार सद्भावपूर्ण तीज मनाए । हिन्दु नारीको पवित्र पर्व हरितालिका तीजको अवसरमा जनकपुरस्थित विभिन्न संस्थाले सांस्कृतिक कार्यक्रम आयोजना गरी धुमधामसाथ मनाएका छन् ।

जनकपुरमा सद्भावपूर्ण तीज

हिन्दु नारी पर्व तीजको अवसरमा प्रसिद्ध धार्मिकस्थल जनकपुरधामस्थित राममन्दिर, रामचोक, रामतलाउ किनारामा राम युवा कमिटी कार्यालय परिसरमा धनुषा जिल्ला प्रहरी कार्यालय, महिला मानव अधिकार रक्षक सञ्जाल ओरेक नेपाल, राम युवा कमिटी, गणेश युवा कमिटीलगायत विभिन्न संघसंस्थाले संयुक्त रूपमा आयोजित सांस्कृतिक कार्यक्रममा पहाड र मधेसी महिलाले आपसी सद्भाव, भ्रातृत्व र समानताको व्यावहार गर्ने प्रतिबद्धता जनाए ।

मुलुकमा परम्परादेखि चलिआएका रुढिवादी संस्कार, मान्यता, विश्वास, सामाजिक कुरीति, विकृति, विसंगति र महिला हिंसाविरुद्धको आन्दोलनमा ऐक्यबद्धता गर्दै सद्भावपूर्ण तीज मनाएको अधिकारकर्मी संघसंस्थाका प्रतिनिधि बताए । लैंगिक विभेद, दाइजो प्रथा, बालविवाह र दैनिकजसो महिलामाथि भइरहेको बलात्कार, हत्या र हिंसाविरुद्ध ऐक्यबद्धता गर्दै सामाजिक सद्भाव तीज कार्यक्रम आयोजना गरेको ओरेक नेपालकी धनुषा संयोजक निर्मला काफ्लेले बताइन् ।

सद्भाव तीज कार्यक्रमको प्रमुख अतिथिका रूपमा आएकी कानुन व्यवसायी अधिवक्ता रेखा झाले प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम घोषणा गरेपछि तराईमा बालिका बलात्कार र महिला हिंसाका घटना बढेको भन्दै प्रदेश सरकारप्रति कटाक्ष गरिन् । उनले बलात्कार, हत्या, हिंसाका घटना न्यूनीकरण गर्न प्रदेश सरकार असफल रहेको बताइन् ।

मन्दिरै मन्दिरको सहर जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न चोक, बस्ती तथा मठमन्दिर र सार्वजनिक स्थलमा संघसंसथाले आयोजना गरेको कार्यक्रममा मधेसी र पहाडी मूलका महिला दिदीबहिनीले मनोरञ्जनपूर्ण रूपमा तीज मनाए ।

एमनेस्टी इन्टरनेस्नल नेपालको धनुषा संयोजकसमेत रहेकी जमुना भुजेलले मुलुकभर महिलाविरुद्ध भइरहेका हिंसा, बलात्कार, हत्या र यौन दुव्र्यवहार अन्त्यका लागि जनचेतना अभिवृद्धि तथा बलियो कानुन आवश्यक रहेको बताइन् ।

प्रकाशित : भाद्र २८, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?