मुसहर वृद्धको पढाइ ‘मोह’

शिव पुरी

डुमरिया, रौतहट — चढ्दो उमेर र अभावग्रस्त जिन्दगीलाई पन्छाएर चन्द्रपुर नगरपालिका १० बडेहरबाका अकलु मुसहर दिनहुँ विद्यालय जान्छन् । सामाजिक सेवासँगै उनी डुमरियास्थित श्रीमाविको कक्षा १० मा पढ्छन् ।

मुसहर वृद्धको पढाइ ‘मोह’

गाउँकै श्रीप्राविको कक्षामा १ मा भर्ना हुँदा उनको उमेर ४९ वर्षको थियो । त्यहाँको पढाइ सकेर डुमरियामा कक्षा ६ मा भर्ना भए । परीक्षामा पास हुँदै ५९ वर्षको उमेरमा १० मा पुगेका छन् । विद्यालय पोसाक र नेपाली ढाका टोपीमा सजिएर उनी विद्यालय आउँछन् ।

नातिनी सीमाकुमार माझी (मुसहर्नी) लाई घरबाट सँगै लिएर विद्यालय आउँछन् । सिमा उनको स्कुल जाने साथी हुन् । उनी कक्षा ९ मा पढ्छिन् । हजुरबुबा र नातिनीको कक्षाकोठा आमनेसामने छ । घर र विद्यालयको दूरी झन्डै अढाई किलोमिटर छ । ‘उमेर ढल्केर के भयो र ? मलाई पढ्ने रहर छ ।

उच्च शिक्षा हासिल गर्छु,’ उनले भने, ‘पढ्नलाई उमेरले छेक्दैन । सामाजिक सेवाको साथै अध्ययनलाई निरन्तरता दिन्छु ।’

उनी विद्यालय जान थालेपछि गाउँका अन्य अभिभावकले आफ्ना छोराछोरीलाई पढाउन थालेका छन् । बिद्यालय नपठाउनेहरूको घरमै पुगेर उनी अनुरोध गर्छन् । मुसहर बस्तीमा नागरिकता, जन्मदर्ता, मृत्युदर्ता र शिक्षाको कमी छ । यही कमी पूरा गर्न उनको समाजसेवा पनि निरन्तर छ । गाउँमा कसैलाई दुखबिराम पर्दा उनी सहयोग गर्छन् ।

घरमा १३ जनाको जम्बो परिवार । ३ छोरा र बुहारी ज्यालामजदुरी गरेर घर चलाउँछन् । विद्यालयको पढाइ सकेर बचेको समय उनी बाहिर समाज सेवामा लगाउँछन् । डुमरियाका सुरेश मुसहर बिरामी हुँदा उनले आर्थिक सहयोग गरेको सुनाए । मुसहर समुदाय र बस्तीमा सधैं अन्नकै अभाव हुन्छ ।

सुकुम्बासी भएकाले उनीहरूको जीवनमा परिवर्तन आउन सकेको छैन । गाँस, बास र कपासकै समस्या भोगेको पुर्खा । शिक्षाको अवसरबाट सधैं टाढा । तर, यही अभावलाई तोडेर उनी पढ्नका लागि १० वर्षदेखि निरन्तर लागिपरेका छन् । स्कुलले उनको उत्साहलाई कदर गर्दै वातावरण मिलाइदिएको छ ।

उनको उत्साह देख्दा हामीलाई नै अचम्मित बनाएको छ । विद्यालयका प्रधानाध्यापक राजेशकुमार चौधरीले भने, ‘दलित त्यसमा पनि मुसहर समुदायको यस्तो उत्साह देख्दा साँच्चिकै गर्व गरेका छौं ।’ भर्ना लगायतको सहयोग स्कुलले गरिदिएको छ ।

प्रकाशित : भाद्र २८, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?