१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

शिक्षक सरुवा विवाद: उपमेयरलाई दुर्व्यवहार

पवन यादव

सिमरा — शिक्षक सरुवा विवादका कारण असन्तुष्ट विद्यार्थीले बिहीबार बरियारपुरमा महागढीमाई नगरपालिकाका उपमेयरलाई दुव्र्यवहार गरेका छन् । विवाद समाधान गर्न वार्तामा बस्नका लागि विद्यार्थीलाई सम्झाउने क्रममा उपमेयर तारा देवी कानुलाई दुर्व्यवहार भएको हो ।

शिक्षक सरुवा विवाद: उपमेयरलाई दुर्व्यवहार

गणित विषयको शिक्षकको नगर क्षेत्रकै अर्को विद्यालयमा सरुवा भएपछि स्थानीय गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । शिक्षक सरुवा समस्यालाई समाधान गर्न छलफलमा बस्नुपर्ने आग्रह गर्ने क्रममा आन्दोलनरत विद्यार्थीहरूको हुलबाट उपमेयरमाथि पानीले भरिएको बोतल प्रहर भएको प्रत्यक्षदर्शीले बताए ।


‘तपाईंहरू शान्त भई दिनुस्, वार्ताबाट हामी समस्या समाधान गर्न सक्छौं,’ उपमेयरले भन्दै थिइन्, ‘वार्ताबाटै समस्या समाधान हुन्छ, विश्वास गर्नुस् ।’ त्यही क्रममा उनीमाथि बोतल प्रहार भएको प्रत्यक्षदर्शीले बताए । उपमेयर कानुमाथि विद्यार्थीहरूको आडमा केही व्यक्तिहरूले गढीमाई मन्दिर नजिक बोतल प्रहार भएको स्थानीयले बताए ।


विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले काज सरुवा भएको शिक्षक मनोज साह गोंढलाई फिर्ता गर्न माग गर्दै गएको मंगलबारदेखि चरणबद्ध आन्दोलनमा उत्रेका छन् । महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवसँग भएको कुराकानीमा उपमेयरमाथि हातपात भएको सुनिएको तर हातपात भएको हो होइन भने आधिकारिक जानकारी नआएको बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले बताए ।


‘हातपात भएको अधिकारिक जानकारी वा निवेदन हामी कहाँ आएको छैन,’ उनले भने, ‘हातपात हुने आशंका लागेपछि स्थानीय प्रशासनले सुरक्षाको प्रबन्ध मिलाएको छ ।’ यदी हातपात गरेको व्यक्तिको पहिचान खुलेमा कानुनी कारवाही गरिन्छ । महागढीमाई नगरपालिका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले यसअघि विद्यालयमा आगजनी र तोडफोड समेत गरेका थिए ।


गढीमाई मन्दिर नजिक विद्यार्थीहरूले टायर बालेर प्रदर्शन गरिरहेका बेला वार्ता समिति बस्दा समेत विद्यार्थीहरू नआएपछि विद्यार्थीलाई वार्तामा बस्नका लागि उपमेयर कानुले आग्रह गर्न जांदा विद्यार्थीसँगै रहेका केही व्यक्तिले हातपात गर्दै दुव्र्यवहार गरेको महागढीमाई नगरपालिकाले दाबी गरेको छ ।


विद्यार्थीहरू आन्दोलनमा उत्रेपछि नगरपालिकाले वडा नं. १ का वडा अध्यक्ष सुदामा साह कानुको अध्यक्षतामा १७ सदस्यीय छानबिन तथा समन्वय समिति गठन गरेको छ । आन्दोलित विद्यार्थी र विद्यार्थीसँग रहेका केही व्यक्तिले बरियारपुर बजार, इनर्वा बजार बन्द गराएका छन् ।


छानबिन समितिले दिएको प्रतिवेदनअनुसार माग पूरा गर्ने सार्वजनिक रूपमै पटकपटक प्रतिबद्धता दिएको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले बताए । ‘कक्षा १० का एक सय ८ जना विद्यार्थी र तिनका अभिभावकलाई विद्यालयबाट पत्राचार गरी छलफलका लागि बोलाएका थियौं,’ मेयर यादवले भने, ‘विद्यार्थीहरू आन्दोलित भएपछि आफूले आन्दोलनको दिनदेखि नै विद्यार्थीको माँग पूरा गर्ने आश्वासन दिँदै आएको छु ।’

प्रकाशित : भाद्र २९, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?