कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

रोकिएन बलात्कार–हत्याको शृंखला

बलात्कारको संगिन अपराधलाई पनि राजनीतिक आवरणमा लुकाउने प्रयास
अजित तिवारी

जनकपुर — सर्लाही, मलगंवा–७ मुसौलीस्थित धानखेतको आलीमा अधबैंशे महिला मृत अवस्था भेटिए । घिसारेर खेतको आलीमा छोडिएको महिला शव आइतबार साँझ घाँस काट्न गएकी स्थानीय महिलाले हेरेपछि प्रहरीलाई खबर गरिएको थियो । पहिचान खुल्न नसकेको त्यो महिलाको हत्या गरिएको सर्लाही प्रहरीको अनुमान छ ।

रोकिएन बलात्कार–हत्याको शृंखला

– रौतहट, गम्हरियाकी १२ वर्षीया बालिका बलात्कार घटनालाई ढाकछोप गर्न प्रदेशसभाका सांसद नै सक्रिय भए । उनले आफ्नै घरमा पञ्चायती डाके र पीडित परिवारलाई आर्थिक प्रलोभन देखाउँदै घटना ढाकछोपको प्रयास गरे । आइतबार पर्साको वीरगन्जमै १२ वर्षीया बालिकालाई छिमेकीले बलात्कार गरे ।


– भदौं १० गते महोत्तरी, औरहीकी ९ महिने सोनाली चौधरीको अपहरणपछि हत्या गरियो । गाउँनजिककै आँप बगैंचामा सोनालीको शव भेटिएको थियो । महोत्तरी प्रहरीले सोनालीको हत्यामा संलग्नलाई अझै नियन्त्रणमा लिन सकेको छैन ।


पछिल्लो समय प्रदेश २ का ८ जिल्लामा अपराध मौलाएको छ । अपराध र त्यसमा जोडिएको राजनीतिले मधेसमा महिला र बालबालिकालाई झन् असुरक्षित बनाएको छ । अपराधको डरलाग्दो ग्राफ बढे पनि त्यसलाई नियन्त्रण गर्न प्रहरी–प्रशासन संवेदनशील नभएको देखिन्छ । प्रदेश सरकार भने आफ्नो हातमा प्रहरी–प्रशासन नरहेकाले अपराध रोक्न नसकिएको लचारी व्यक्त गर्छन् ।


बिड्म्बना कतिसम्म छ भने बलात्कारजस्तो संगिन अपराधलाई पनि राजनीतिक आवरणमा लुकाउने प्रयास गरिएको छ । रौतहटको गम्हरियामा १२ वर्षीया बालिका बलात्कार गरिएको घटना लुकाउन प्रदेश २ का सांसद अवुल कलाम अजाद आफैं पञ्चायतीमा उत्रिए । पीडित परिवारलाई आर्थिक प्रलोभन देखाएर घटना ढाकछोपको प्रयास गरे । प्रदेशसभाको बैठकमा सांसदहरूले महिला र बालबालिकासँग जोडिएको अपराधमा कडा कानुन निर्माण गर्ने बचन दिइरहेको बेला सांसद अजाद भने अपराधीको संरक्षणमा आफैं अग्रसर भए ।


महिला र बालबालिकासँग सम्बन्धित हिंसामा कानुनी व्यवस्था कडा रहे पनि प्रहरी–प्रशासनकै कमजोरी र जानीजानी गर्ने छेड्खानीले पीडित झन् अन्यायमा परेको छ । प्रदेश सरकारले बेटी पठाऔं, बेटी बचाऔं अभियान थाले पनि यहाँ बेटीलाई जोगाउनै मुस्किल परेको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी दिनेश अमात्यले आपराधिक वारदातमा संलग्न रहेकालाई कानुनी दायरामा ल्याएर कारबाही गरिएको दाबी गर्छन् । ‘अपराध रोक्न र नियन्त्रण गर्न प्रहरीका सबै युनिट स्टैन्डवाइ बस्छ,’ डीआइजी अमात्यले कान्तिपुरसँग भने,’ धेरै घटनाका अभियुक्त प्रहरी नियन्त्रणमा छ । कारबाही प्रक्रियामा छ ।’


महिला हिंसाको मुद्दामा प्रहरी कतिसम्म गैरजिम्मेवार हुन्छ । त्यसको एउटा उदाहरण पर्सामा देखिएको छ । बोक्सी आरोपमा प्रताडना खेपेकी पर्साको बिन्दवासिनी गाउँपालिका–५ की ५५ वर्षीया लाइची देवी बिन बिहीबार जिल्ला प्रहरी कार्यालय फेरि पुगिन् । भदौ १४ गते सााँझ छिमेकी रुदल मुखिया समेत उनका परिवारका सदस्यहरूले आफूलाई बोक्सी भन्दै मलमूत्र खुवाउन खोजेको घटनामा आफूले न्याय नपाएको गुनासो उनले डीएसपी सत्यनारायण थापालाई सुनाइन् ।


मैले बहुअर्वाभाठा प्रहरी चौकीका असईलाई सबै कुरो बताए, ममाथि कुटपिट र बलजफ्ती भएको प्रमाण पनि देखाए,’ उनले भनिन्,’ तर मलाई दु:ख दिनेहरू छाति तानेर हिँडेका छन् । प्रहरीले केही गर्दैनन् ।’


वीरगन्ज महानगर–१२ का एक १५ वर्षीय किशोरले आफ्नै छिमेककी १२ वर्षीया बालिकालाई आइतबार बलात्कार गरे । किशोरले बालिका आफ्नो घरको चापाकलमा सधैं पानी भर्न आउने र उनी आफूसँग जिस्किने गरेकाले आफू उत्तेजनामा आई घरमा कोही नभएको मौका पारी बालिकालाई जबर्जस्ती गरेको बयान दिए । पीडक र पीडित दुबै नाबालक छ ।


बेटी पठाऔं, बेटी बचाऔं अभियान थालेका प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको गृह जिल्ला पर्सामा पछिल्लो समय महिला र बालबालिका हिंसाका घटना बढेको छ । जिल्ला प्रहरी कार्यालयका तथ्यांक अनुसार कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा साउन र भदौ महिनामा विहिबार सम्ममा गरी २ सय ७० वटा बिभिन्न अपराध र घरेलु हिंसा तथा बिभिन्न ठाडो उजुरी परेका छन् । साउनमा १ सय ६२ र भदौमा १ सय ८ उजुरी परी सकेका छन् ।


साउनमा जबर्जस्ती करणीका ५, जबर्जस्ती करणी उद्योगका २, मानव बेचबिखनका १, कर्तव्य ज्यान २, आत्महत्याका ३ र घरेलु हिंसा तथा बिभिन्न ठाडो उजुरीका गरी १ सय ४९ घटना दर्ता भएका छन् । भदौमा जबर्जस्ती करणीका २, आत्महत्याका २ र घरेलु हिंसा तथा बिभिन्न ठाडो उजुरीका गरी १ सय ४ घटना दर्ता भएकाछन् ।


त्यसैगरी, साउन महिनामा ५/५ महिला र बालक, १० बालिका हराएको उजुरी परेको छ । भदौ महिनामा ७ महिला, २ बालक र ८ बालिका हराएको उजुरी परेको छ । साउनमा ३ महिला, ५ बालक र ८ बालिका फेला परेका छन् भने भदौमा १/१ महिला र बालक तथा ३ बालिका फेला परेको तथ्यांक प्रहरीको छ ।


बढदो अपराध
पछिल्लो समय रौतहटमा महिला तथा बालबालिका केन्द्रित हिंसा बढेको छ । दिनहुँजसो बढेको बलात्कार र घरेलु हिसाका घट्नाले समाज अक्रान्त बनेको छ ।


महिला तथा बालबालिका सेवा केन्द्रमा महिला कुटपिट र बालबालिका हिंसाका घटनामा दैनिक छलफल हुन्छ । धेरैजसो मामिला केन्द्रमै मिलाइन्छ । संगिन अपराध प्रहरीको पुग्छ । महिला तथा बालबालिका सेवा केन्द्र गरुडाका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा महिला तथा बालबालिका विरुद्ध ३ सय ५२ वटा घरेलु हिंसाका निवेदन परेका थिए । हिंसाको घटना बढेर २०७४/०७५ मा पीडितका तर्फबाट ६ सय वटा निवेदन परेको थियो ।


चालु आर्थिक वर्षको साउनयता २ महिनाको अवधिमा ५६ वटा हिसाका मुद्दा परेका छन । यस्तै, महिला तथा बालबालिकाविरुद्धका लंैगिक हिंसाका ५ सय ५४ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ । अधिकाश निवेदन श्रीमानविरुद्धका घरेलु हिंसाको रहेको कार्यालयले जनायो । घरमा सासू, ससुरा र श्रीमानबाट हिसा हुने गरेको भन्दै निवेदन दिनेको संख्या बढी छन् ।


रौतहटका अधिकारकर्मी बिपिन गौतमले महिला तथा बालबालिकाको हिंसा डरलाग्दो गरी बढेको बताए । चेतनाको कमी भनौ भने गाउँगाउँमा विभिन्न संघसंस्थाहरूले कार्यक्रम गरेको हुन्छ,उनले भने, ‘पछिल्लो समय दण्डहिनताको आडमा अपराध मौलाएको छ ।’ हिंसाका घट्ना गाउँमै पञ्चायती गर्ने शैलीले पनि यसले प्रश्रय पाएको हो ।


रौतहटमा पछिल्लो समय बलात्कारका घटना समेत बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा जबरजस्ती करणीका १८ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै जबरजस्ती करणी उद्योगमा ९ वटा मुद्दा दर्ता छन् । चालु आर्थिक वर्षको साउन यता २ महिनाको अवधिमा ६ वटा बलात्कारका घटना भएका छन् ।


जबरजस्ती करणी उद्योगका ५ वटा घटना दर्ता छन् । अपहरण तथा शारीरिक बन्धक बनाई जबरजस्ती करणीका एउटा घटना दर्ता रहेको प्रहरीले जनायो । जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले महिला तथा बालबालिका माथिको दुव्र्यवहारका घटना न्यूनीकरण गर्ने प्रयास भइरहेको बताए । सातायता गम्हरीयामा १२ वर्षीय बालिकाको बलात्कार र चन्द्रपुर नगरपालिका–६ मा दुई युवतीमाथि भएको तेजाव आक्रमणको घटना भएको छ ।


हिंसाको कारक
प्रदेश २ को पूर्वोत्तर जिल्ला सप्तरीमा पछिल्लो समय महिला तथा बालबालिका हिंसा बढेको छ । गरिबी, चेतना अभावका कारणले पनि महिला तथा वालवालिका हिंसा बढेको हो । महिला तथा बालबालिकामाथि हिंसा रोक्नका लागि विभिन्न सरकारी र गैरसरकारी निकायहरूबाट कार्यक्रमहरू सञ्चालन गरिए पनि उनीहरू लक्षित घटना नै बढेको हो । यौनजन्य हिंसा र घरेली हिंसाबाट महिला र बालबालिका बढी प्रभावित छन् ।


जिल्ला प्रहर िकार्यालय सप्तरीका अनुसार पछिल्लो साउन र भदौ महिनामा मात्र महिला तथा बालबालिकमाथि भएको हिंसाका २६ वटा मुद्दा दर्ता भएका छन् । उक्त अवधिमा महिला तथा बालबालिकामाथि भएको हिंसाको ठाडो निवेदन १ सय ५५ वटा र घरेलु हिंसाका ५५ वटा निवेदन जिल्ला प्रहरी कार्यालयमा आएको महिला तथा बालबालिका सेलकी प्रमुख प्रहरी निरीक्षक सुजाता तुम्बाहाम्फेले जानकारी दिइन् । उनले निवेदन आउने संख्या धेरै भए पनि अधिकांशमा परिवारका बीच सहमति गरिएपछि समस्या समाधान हुने गरेको छ ।


‘२ महिनामा २६ वटा त मुद्दै दर्ता भयो’, प्रहरी निरीक्षक तुम्वाहाम्फेले भने, ‘जघन्य कसुरमा कुनै मोलाहिजा हुँदैन, सीधा मुद्दा दर्ता गरी कारवाहीको प्रक्रिया अघि बढाइन्छ ।’ महिला र बालबालिकामाथि हुुने सबैखाले हिंसाको तथ्याक वर्षेनी दोब्बर हुँदै गएको उनले सुनाए । आर्थिक वर्ष ०७३/७४ मा सप्तरीमा महिला र बालबालिकाउपर भएको हिंसाका ६३ वटा मुद्दा दर्ता भएकोमा ०७४/७५ मा १ सय ५२ वटा मुद्दा दर्ता भएको थियो । धेरै घटना अझै पनि गाउँमै दबाउने गरिएको पाइए पनि प्रहरीमा आएका घटनाको तथ्यांक हेर्दा मात्र महिला हिंसाको घटना अत्यधिक भएको पाइएको हो ।


महिला तथा बालबालिकाउपर गालीगलौज, कुटपिट, मादक पदार्थ सेवन गरी कुटपिट, खान लाउन नदिएर घर निकाला, दाइजोका कारण प्रताडणाका र बोक्सीको आरोप कुटपिट र गालीगलौजका घटना हुने गरेका छन् ।


(अवधेशकुमार झा/सप्तरी, शिव पुरी/रौतहट र शंकर आचार्य/पर्साको सहयोगमा)

प्रकाशित : भाद्र २९, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?