कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सत्तामा रहेर संविधानको विरोध ?

अजित तिवारी

जनकपुर — संघीय (केन्द्रीय) सरकारलाई समर्थन र प्रदेश २ मा आफ्नै सरकार हाकिरहेको मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा) ले गोप्य सर्कुलर गर्दै संविधान दिवसको विरोध गर्न पत्राचार गरेको छ । सत्तामा पनि बस्ने र संविधानको विरोध पनि गर्ने राजपाको द्वैधचरित्रको मधेसमा आलोचना भइरहेको छ ।

सत्तामा रहेर संविधानको विरोध ?

मधेसको असन्तुष्टि र माग नसमेटिएको भन्दै राजपाले संविधानको पुनर्लेखनसम्मको माग गर्दै पछिल्ला दुई वर्ष असोज ३ लाई ‘कालो दिवस’ कै रूपमा मनायो । ‘खोलामा धेरै पानी बगेझैं’ उसलाई २०७५ को ३ असोज फलामको च्युरा बनेको छ । त्यसैले होला, राजपाले सबै जिल्लाका अध्यक्ष मण्डललाई संविधान दिवसको विरोध गर्न ‘लुकाएर’ पत्र पठायो । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको हस्ताक्षर रहेको त्यो सर्कुलरलाई पार्टीले ‘गोप्य’ भनेको छ ।


२५–२६ भदौमा काठमाडौंमा बसेको राजपाको अध्यक्ष मण्डलको बैठकले ११ वटा निर्णय गरेको छ । निर्णयको अन्तिम बुँदामा छ, ‘असोज ३ गते मधेसी विरोधी संविधान जारी गरेकाले त्यो दिन विभिन्न विरोधका कार्यक्रमहरू गरी विरोध दिवस मनाउनू ।’ जुन संविधान टेकेर तीन तहको निर्वाचनमा सहभागी भएको राजपाको प्रदेश २ मा गठबन्धनको सरकार छ । संघीय समाजवादी फोरमसँग मिलेर उसले प्रदेश २ मा सरकार बनाएको छ । राजपाले संघीय सरकारलाई पनि समर्थन गरेको छ ।


राजपा यहींनिर धर्मसंकटमा फसेको छ । ‘कालो दिवस’ लाई ‘विरोध’ दिवसमा बदलेर ऊ धर्मसंकटबाट उम्किन खोजेको देखिन्छ । मधेस मामिलाका जानकार विजयप्रसाद मिश्रले सत्तामा बस्ने र संविधानको विरोध पनि गर्ने नसुहाउने पाटो रहेको बताउँछन् । ‘संविधान टेकेरै सत्तामा पुगेको हो,’ विश्लेषक मिश्रले भने, ‘पूरै संविधानको विरोध गर्नुभन्दा कुन–कुन बुँदामा चित्त बुझेको छैन, त्यो भन्नुपर्छ ।’


उनले २०४७ सालमा जारी गरिएको संविधानको उदाहरण पनि दिए । त्यति बेला पनि नेपाल सद्भावना पार्टीले संविधानको आलोचनात्मक समर्थन गरेको थियो ।


‘नेकपा एमालेले पनि पूर्ण समर्थन गरेको थिएन,’ मिश्रले भने, ‘संविधान आफैंमा परिवर्तनशील हुन्छ । कालो दिवस मनाउनुभन्दा यो–यो धारामा संशोधन गर्नुपर्छ भनेर अडान राख्नुपर्छ ।’
राजपाले ३ असोजमा विरोध प्रदर्शन र विरोध सभा, त्यही दिन साँझ ७ बजेदेखि ७ :१५ बजेसम्म ब्ल्याक आउट र विरोधका अन्य कार्यक्रम तय गर्ने अधिकार सबै जिल्ला कमिटीलाई दिएको छ । राजपाका केन्द्रीय प्रवक्ता कृष्णा सिंहका अनुसार संविधान दिवसको दिन अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर पर्सामा, राजेन्द्र महतो धनुषामा, राजकिशोर यादव सिरहामा र शरदसिंह भण्डारी महोत्तरीमा रहनेछन् । ती जिल्लामा आयोजित विरोधसभामा राजपाका शीर्ष नेता सहभागी हुनेछन् ।


‘३ असोज मधेसका लागि कालो दिन नै हो,’ राजपाका प्रवक्ता सिंह भन्छन्, ‘संविधानप्रति असन्तुष्टि जनाउँदै सडकमै उत्रिएर विरोध गर्दा पनि हाम्रो सुनुवाइ भएन । मधेसीको टाउको र छातीमा गोली हान्दै संविधान जारी गरियो । त्यसैले त्यो दिन हाम्रो लागि ब्ल्याक नै हो ।’


‘मौन’ फोरम
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गत वर्ष ३ असोजमा मधेसमा कालो दिवस मनायो । संघीय समाजवादी फोरमका नेता/कार्यकर्ता कालो दिवसमा सहभागी मात्र भएनन्, चर्का भाषणा नै गरे ।


०७५ को ३ असोज नजिकिँदा पनि फोरमको मौनता ‘अर्थपूर्ण’ छ । संविधान दिवसको दिन संघीय सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । हर्षोल्लास गरेर त्यो दिन मनाउन सरकारको उर्दी छ । प्रदेश २ मा सरकारको बागडोर सम्हालेको फोरमलाई ३ असोजको दिन ‘कष्टपूर्ण’ बन्ने देखिन्छ ।


प्रदेशमा आफ्नै सरकार रहेकाले संविधानकै विरोधमा सडकमा उत्रिनु कि समर्थनमा हर्षोल्लास मनाउनु, यी दुवै मामिलाले फोरम तनावमा छ । सरकार बाहिर रहेका फोरमका नेताहरूले भने संविधान दिवसलाई कुनै न कुनै रूपमा विरोध गर्न पार्टीमा दबाब बढाएको छ । फोरमका प्रदेशस्तरका एक नेताले आफूहरूलाई संविधान दिवसको विरोध गर्न जनस्तरबाट दबाब बढेको बताउँछन् । ‘तर, पार्टी मौन छ, हामी दोधारमा छौं,’ ती नेताले भने ।


संविधान संशोधनको मुद्दामा सत्ताको ‘स्वाद’ र मधेसी जनताको ‘दबाब’ खेपिरहेको दुवै मधेसवादी दललाई संविधान दिवस कालो बादल मडारिएजस्तै संकट बनेर आइदिएको छ । जसलाई उनीहरू न पन्छाउन सक्छन् । न त अँगाल्न नै ।


अलगाववादको मुद्दा बोकेको सिके राउत पनि संविधान दिवसको दिन मधेसमा छुट्टै कार्यक्रम राखेको छ । सुरक्षा निकायको सूक्ष्म निगरानीमा रहेको राउतको ३ असोजको गतिविधि निस्तेज गर्ने सुरक्षा निकायको तयारी छ । २ भदौमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा संविधान संशोधन गर्न तयार रहेको बताएका थिए । संविधानलाई धर्मशास्त्र नबनाएको भन्दै प्रधानमन्त्री ओलीले कुन–कुन बुँदामा असहमति छ, त्यसमा संशोधन गर्न सरकार तयार रहेको बताएका थिए ।


मधेसको असन्तुष्टि मधेसकै प्रदेश सभामा आएर थामथुम गर्ने प्रयास गरेका प्रधानमन्त्री ओलीले मधेससँग मिलेर आफू विकास पथमा अगाडि बढ्न तयार रहेको संकेत पनि गरेका थिए । मधेसको राजनीति मुद्दाभन्दा विकासलाई प्राथमिकतामा राखेको ओलीले मधेसी फकाउन विकास निर्माणमै जोड दिएका थिए । २०७२ मा संविधान जारी गर्ने बेलामा मधेसमा विषमय चलिरहेका बेला ओलीको मधेस प्रवेशमै रोक लगाएको फोरम र राजपाको सरकारले नै उनलाई आमन्त्रित गरेका थिए ।

‘हामी विरोधमै छौं’


कृष्णा सिंह
केन्द्रीय प्रवक्ता, राजपा

प्रदेश २ मा आफ्नै सरकार छ । संघीय सरकारलाई समर्थन पनि छ । अनि, किन संविधानप्रति असन्तुष्टि ?
हाम्रो प्रमुख माग नै संविधान संशोधन हो । संविधान जारी गर्ने बेलामा मधेसीलाई बाइपास गरियो । सडकमा उत्रिएर आफ्ना कुरा संविधानमा समेटभन्दा गोली ठोकियो । धेरैजना सहिद भए । घाइते कति भए कति । धेरैलाई झुटो मुद्दा लगाइयो । बलजफ्ती संविधान जारी गरियो । त्यसपछि हामी संविधान संशोधनको मुद्दा लिएर चुनावमा सहभागी भयौं । चुनावमा जानु बाध्यात्मक स्थिति थियो । त्यसपछि पनि संविधान संशोधन भएन । नेकपाको सरकारलाई दुई तिहाइ पुगोस् र संविधान संशोधन होस् भनेर संघीय सरकारलाई राजपाले समर्थन दिएको हो । संविधान संशोधन गरेर देशलाई निकास दिन ३ असोजमा हामी विरोधका कार्यक्रम गर्छौं ।


संविधानको कुन–कुन बुँदामा संशोधन खोज्नु भएको हो ?
हामीलाई पूरै बाइपास गरेर संविधान बनाइयो । संविधान जारी गर्ने दिनसम्म पनि हामी सडकमै थियौं । नागरिकताको समस्या हल गर्न धेरै पटक भनियो । तर, टेरिएन । नागरिकताको मुद्दा अझै थाँती छ । त्यसमा पनि संविधान संशोधन गर्नुपर्छ । प्रदेशको सीमांकन पनि आफूखुसी गरियो । प्रदेशको सीमांकनमा हाम्रो चित्त बुझेको छैन । जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्छ । पहिचान र सामथ्र्यका आधारमा प्रदेशको संरचना कायम हुनुपर्छ । देशको हरेक अंगमा समानुपातिक–समावेशी प्रतिनिधित्व र नेपाली सेनामा समूहगत प्रवेश जस्ता मधेसका मुद्दा अझै हल गरिएको छैन । त्यसैले संविधान संशोधन गरेर मधेसमा यी सबै माग नसमेटेसम्म ३ असोजलाई कालो दिवसकै रूपमा मनाउनेछौं ।


३ असोजमा कालो दिवस कि विरोध दिवस ?
संविधान जारी गरिएको ३ असोज मधेसका लागि कालो दिन नै हो । यसपालि पनि त्यो दिन हामी कालो दिवस नै मनाउने छौं । हाम्रा लागि ३ असोज ब्ल्याक डे नै हो । संविधान जारी गरिएको दिन पनि मधेसमा सरकारले हत्याको शृंखला चलाए । शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकालाई गोली हानेर मारियो । त्यसैले संविधान दिवस हाम्रा लागि कालो दिवस नै हो ।

प्रकाशित : भाद्र ३०, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?