शिक्षा एकाइमा सरुवाको झमेला

सन्तोष सिंह

जनकपुर — शिक्षा विकास तथा समन्वय एकाइ धनुषाका निमित्त प्रमुख मिहिलाल यादवको कार्यकक्षमा शिक्षक नेताहरू जहिल्यै चर्को स्वरमा बोल्दै गरेको भेटिन्छ । प्रमुख यादवको कार्यकक्षमै उनलाई दुव्र्यवहार गर्ने प्रयास पनि गर्छन् ।

शिक्षा एकाइमा सरुवाको झमेला

विगतमा शिक्षा कार्यालयमा हालिमुहाली गरेका शिक्षक नेताहरू पछिल्लो समय दिनहुँ शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा पुगेर आक्रोस पोख्छन् ।

शिक्षा कार्यलयमा चलखेल, सरुवा, काज सरुवा लगायतको गतिविधि र विद्यालयमा नगएर शिक्षा कार्यालयमा धर्ना बस्ने शिक्षक नेताको सिफारिस र आर्थिक चलखेल रोकिएपछि प्रमुख यादवलाई कार्यकक्षमा दुव्र्यवहार गर्ने प्रयास बढेको छ । जिल्ला शिक्षा तथा समन्वय एकाइ धनुषाका प्रमुख देवीरञ्जन हुमागाईं सरुवा भइसकेपछि शिक्षकको जिल्लान्तर सरुवाले धनुषामा विवाद चुलिएको छ ।

बैतडीमा कार्यरत माध्यमिक शिक्षक जिवच्छ यादवलाई शिक्षक सेवा आयोगले जिल्लान्तर सरुवा रोक्का गरेपछि आर्थिक लेनदेन गरी हुमागाईले पछाडिको मितिमा सरुवा गर्दा व्यवस्थापनमा समस्या भएको निमित्त प्रमुख यादवले बताए । ‘जिलान्तर सरुवा रोकिएको बेला सरुवा भइसकेका शिक्षा अधिकारीले प्रलोभनमा परी यादवको सरुवा गर्दा कार्यान्वयन गराउन शिक्षक संघबाट दबाब आएको छ,’ निमित्त प्रमुख यादवले भने, ‘कार्यालयमा आर्थिक चलखेल रोक्ने प्रयास थालेको छु । शिक्षक सरुवामा बिचौलियाको चलखेल रोकिँदा कार्यकक्षमा आक्रोष पोख्छन् ।’ जिल्ला शिक्षा तथा समन्वय एकाइ धनुषाले जनकपुर उप–महानगरपालिका ९ स्थित सरस्वती उमाविमा शैक्षिक तालिम केन्द्रका प्रशिक्षक सुनिल मल्लिकलाई कुमरौडा माविबाट सरुवा गरेपछि थप विवाद चर्केको छ ।

सबै प्रक्रिया पूरा भएका शिक्षकलाई निमित्त प्रमुख यादवले सरुवा गरेकालाई अवरोध र आर्थिक चलखेल गरी सरुवा भएकालाई हाजिरी गराउन शिक्षक संघको नेतृत्वले दबाब दिँदै आएको छ । धनुषामा विद्यार्थी बढी भएको विद्यालयमा शिक्षक कम र थोरै विद्यार्थी भएको विद्यालयमा शिक्षक बढी छन् । उनीहरूको व्यवस्थापन गर्न खोज्दा राजनीतिक हस्तक्षेपले शिक्षक समायोजन अन्यौलमा परेको छ ।

धनुषामा १ सयभन्दा बढी शिक्षक काज सरुवा गराएर वर्षौंदेखि अन्य विद्यालयमा बस्दा दरबन्दी भएको विद्यालयमा शिक्षक पूर्ति हुन सकेको छैन । स्वास्थ्य, पारिवारिक समस्या देखाएर सहर बजार र पायक पर्ने विद्यालयमा सरुवाका लागि शिक्षकले ५ लाखसम्म खर्चेको समेत पाइएको छ । शिक्षकको हकहितका लागि गठन भएका संगठनका पदाधिकारीहरूले नै शिक्षकबाट रकम संकलन गरी शिक्षाका कर्मचारीलाई प्रलोभनमा पारेर शिक्षक सरुवा गर्दा यहाँ शिक्षकको दरबन्दी मिलान र नियमित सरुवा समेत प्रभावित भएको छ ।

धनुषामा १४ विद्यालयमा मावि शिक्षक नै छैन । अपग्रेड भएको विद्यालयमा मावि शिक्षकको दरबन्दी नहुँदा शिक्षक पठाउन समस्या छ, प्रमुख यादवले भने, ‘दरबन्दी नभएको विद्यालयमा मन्त्रलायबाट आएको अनुदान शिक्षा समन्वय एकाइका कर्मचारीको लपरवाहीले गुमेको छ ।’ मावि विद्यालयमा करार शिक्षकका लागि १४ विद्यालयका लागि करिब ५ करोड रकम मन्त्रालायले अनुदान छुट्याइए पनि प्रक्रिया ढिलाइ हँुदा फ्रिज भएको उनले भने ।

स्थानीय तहविरुद्ध उजुरी
स्थानीय तहका जनप्रतिनिले आफूले पाएको अधिकारको दायरा बाहिर गएर शिक्षक सरुवा गर्दा विवाद उत्पन्न भएको छ । स्थानीय तहका जनप्रतिनिधिले शिक्षक सरुवा, तलब नदिएको र काज सरुवा गरेको भन्दै शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय धनुषामा उजुरी परेको छ । बटेश्वर गाउँपालिकाले ८ जना शिक्षकको सरुवा गरिदिएका छन् ।

गाउँपालिकाले शिक्षक सरुवा गर्न पाउँदैन । तर, बटेश्वर गाउँपालिकाले शिक्षक सरुवा गरेपछि पीडित शिक्षक गाउँपालिकाविरुद्ध शिक्षा विकास तथा समन्वय एकाइमा उजुरी गरेका छन् । उजुरीबारे अनुुसन्धान भइरहेको प्रमुख यादवले बताए । लक्ष्मिनिया गाउँपालिकाले शिक्षकको सञ्चयकोष भुक्तानी नगरेको उजुरी एकाइमा परेको छ ।

शिक्षकको तलव नियमित पठाए पनि उनीहरूको सञ्चयकोषको रकम भुक्तानी नभएको भन्दै कार्यालयमा शिक्षकले उजुरी गरेको छ । क्षिरेश्वर नगरपालिकाले शिक्षकलाई काज सरुवा गरेका छन् । जनप्रतिनिधिले नपाएको अधिकार प्रयोग गर्दै काज सरुवा गरेको भन्दै एकाइमा शिक्षकले उजुरी गरेका छन् ।

प्रकाशित : भाद्र ३१, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?