२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

व्यस्त बन्यो लालगढ कुष्ठरोग अस्पताल

रवीन्द्र उप्रेती

महाेत्तरी — स्तरीय उपचार र समर्पित सेवाका लागि भारतमा समेत लोकप्रिय लालगढ कुष्ठरोग अस्पताल व्यस्त भएको जनाइएको छ । ब्राजिल, अफ्रिका, भारतलगायतका मुलुकमा सञ्चालित लेप्रोसी अस्पतालमा उपचारका लागि आउने बिरामी संख्याको तुलनामा लालगढ अस्पताल नम्बर एक बनेको हो ।

व्यस्त बन्यो लालगढ कुष्ठरोग अस्पताल

लालगढको तुलनामा काठमाडांैस्थित आनन्द वन कुष्ठरोग अस्पताल र पोखराको हरीयोखर्क अस्पतालमा आउने बिरामीको संख्या कम छ ।

अस्पतालका सपोर्ट सर्भिस म्यानेजर सुमन तामाङका अनुसार स्थापनाको २७ वर्षे अवधिमा यस अस्पतालबाट ३५ हजार कुष्ठ रोगीले सेवा पाइसकेका छन् । उनका अनुसार नेपालमा पत्तो लागेका एक तिहाई बढी कुष्ठरोगीको उपचार यही अस्पतालबाट नि:शुल्क हुने गरको छ । ‘कुष्ठ रोगीको चापको दृष्टिकोणले यो नेपालको मात्र नभई विश्वकै अति व्यस्त अस्पताल हो,’ तामाङले भने, ‘यसपछि भारतको उत्तर प्रदेशमा पर्ने नैनही अस्पतालको नम्बर दोस्रोमा पर्छ ।’

अस्पतालको रेकर्डअनुसार त्यहाँ दैनिक ३ सयदेखि ६ सय हाराहारीमा बिरामी आउने गर्छन् । गत १ लाख १७ हजार १९७ बिरामीको जाँच गरिएको थियो । जसमध्ये १ हजार १ सय नयाँ कुष्ठ रोगी फेला परेका थिए । नयाँसमेत गत आवमा ९ हजार ५ सय ३५ कुष्ठ रोगीले सेवा लिएका थिए । उपचारका लागि आउनेमध्ये भारतीय बिरामीको संख्या २० प्रतिशत छ ।

साउनमा पनि अस्पताल आएका १२ हजार ६ सय १५ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १ सय ७ जना नयाँ कुष्ठ रोग फेला परेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका कार्यक्रम संयोजक डम्बरबहादुर आलेका अनुसार बढदो कुष्ठ रोगीको संख्या मुलुककै लागि चुनौतीपूर्ण छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रति १० हजारमा एक जनाभन्दा कम कुष्ठ रोगी भए त्यस्ता मुलुकलाई निवारण भएको मानिन्छ । यही आधारमा स्वास्थ्य मन्त्रालयले १९१० मै नेपाललाई कुष्ठ रोग निवारण मुलुक घोषणा गरिसकेको छ ।

तर यो घोषणाविपरीत तराई भेगमा दिनहुँ फेला पर्ने गरेका कुष्ठ रोगीका संख्या चुनौतीपूर्ण रहेको उनले जनाए । अहिले तराईका जिल्लामध्ये सवैभन्दा बढी धनुषामा २ दशमलव ०३ प्रतिशत कुष्ठ रोगी पाइएका छन् । त्यस्तै, महोत्तरीमा १ दशमलव ४५ प्रतिशत, पर्सामा १ दशमलव ७६, बारामा १ दशमलव ५९, सर्लाहीमा १ दशमलव ५१, रौतहटमा १ दशमलव ३३ र सिरहामा १ दशमलव ३० प्रतिशत सर्वसाधारण कुष्ठ रोगबाट प्रभावित रहेको उनले जनाए । ‘यो संख्याले तराईमा कुष्ठ रोग अझै पनि समस्या बनेको देखाएको छ,’ आलेले भने, ‘जबकि स्वास्थ्य मन्त्रालयले दशकअघि नै निवारण भइसकेको घोषणा गरेको छ ।’ यो प्रतिशत आव ०७३/७४ मा डाइगनोसिका क्रममा पहिचान गरिएको बिरामी संख्याका आधारमा निकालिएको हो ।

नेपालमा रहेर कुष्ठ रोगको सेवामा समर्पित व्रिटिस नागरिक एलीन लजले काठमाडौंको आनन्द वन कुष्ठरोग अस्पतालमा मधेसबाट पुगेका बिरामीको भीडलाई देखेर मधेसतिरै यसतो अस्पताल स्थापना गर्न परिकल्पना गरेकी थिइन् । अहिले उनको उमेर ९० वर्ष कटिसकेको छ । ६ दशकअघि नै नेपालको नागरिकता ग्रहण गरिसकेकी एलिनलकै प्रयासमा ०४८ सालमा (सन् १९९१) मा महोत्तरी र धनुषाको सीमामा पर्ने लालगको अजिंगरे डाँडाको १० बिघा क्षेत्रफलमा स्थापना भएको हो । स्थापनामा तातकालीन स्वास्थ्य मन्त्री रामवरण यादवको सहयोग पनि स्मरणीय रहेको जनाइएको छ । त्यसपछिका अर्का स्वास्थ्य मन्त्री अर्जुन नरसिंह केसीले सन् १९९५ मा उद्घाटन गरेपछि यो अस्पतालले औपचारिक रूपमा सेवा दिन सुरु गरेको थियो ।

सुरुमा महोत्तरी, धनुषा, सर्लाही र सिन्धुलीका कुष्ठ रोग प्रभावितलाई उपचार दिने उद्देश्यले स्थापना भएको यो अस्पताल अहिले मुलुकभरका मात्र हैन भारतका समेत बिरामीका लागि पहिलो रोजाइको अस्पताल बनेको छ । ‘०४८ सालमा ८ जना स्वास्थ्यकर्मीद्वारा क्लिनिकल सेवा सुरु गरेको यो ‘रेफर’ अस्पताल थियो,’ आलेले यसको बढदो महत्त्व दर्शाए ‘अहिले विशेषज्ञ अस्पतालको दर्जा पाएको छ भने १ सय ३० कर्मचारी कार्यरत छन् ।’

उनका अनुसार क्रेही समयले लालगढ अस्पताल स्वास्थ्य परीक्षण र उपचार लागि मात्र नभई अध्ययन र अनुसन्धानको नयाँ गन्तव्य समेत बनेको छ । नेदरल्यान्डको सहकार्यमा ब्राजिल, बांलादेश र मुम्बैलाई पार्टनर बनाएर लालगढ अस्पतालमा ‘रिसर्च सेन्टर’ कायम गरिएको उनले जनाए । ‘उनीहरूको सहकार्यमा यहाँ लेप्रोसी र फाइलेरिया (हात्तीपाइले) रोगमा ३ वर्षसम्म रिसर्च भएको छ,’ आलेले भने । नयाँ खोजका साथै स्विटजरल्यान्ड, ब्रिटेन, नेदरल्यान्ड, अमेरिका, जर्मनी, इन्डोनेसियाजस्ता मुलुकका कलेजमा अध्ययनरत विद्यार्थीसमेत प्राक्टिकलका लागि आउने गरेको उनले जनाए ।

कुष्ठ रोगीका लागि मात्र नभएर यहाँका सुमुदायलाई सहज र सुलभ उपचारका लागि केही समयदेखि मतृशिशु सेवा, २४ घण्टे आकस्मिक सेवा, हाडजोर्नी उपचार, एक्सरे जस्ता सेवासमेत सञ्चालन गर्दै आएको छ । रोगीसँग संसर्ग र श्वासप्रश्वासको माध्यमले सर्ने कुष्ठ रोग उपचारले मात्र निवारण हुन नसकने आलेको भनाइ छ । उपचारभन्दा पनि रोग सर्न नदिनु नै कुष्ठरोग निवारणको प्रभावकारी कदम भएको उनले जनाए । यसका लागि समुदायमा चेतना जगाउनु आवश्यक छ ।

‘कुष्ठ रोग लागेको पहिलो चरणमै एक डोज औषधि खाँदा मत्रै पनि सर्ने जोखिम कम हुँदै जान्छ,’ आलेले भने । अस्पतालका सपोर्ट सर्भिस म्यानेजर सुमन तामाङका अनुसार यसलाई महसुस गरेर समुदायमा ‘स्वयं हेरचाह समूह’ (सेल्फहेल्प प्रोग्राम) ‘जीवन्त गाउँ परियोजना’ (भिलेज एलाइभ प्रोग्राम) लगायत गाउँ तहमा कार्यक्रम सञ्चालन हुँदै आएको छ । यसका अतिरिक्त प्रभावितलाई समाजमा उपेक्षा र हेला हुन नदिन आत्मनिर्भरताका लागि सीपमूलक तालिम जस्ता अभियान सञ्चालन हँुदै आएको जनाए ।

‘यस्ता अभियानले कुष्ठ अभिशाप नभएर एक प्रकारको रोग मात्र भएको मान्यता स्थापित गर्न सहयोग भएको छ,’ तामाङले भने, ‘आत्मनिर्भरताले अपहेलना र तिरस्कारबाट मुक्ति दिन्छ ।’झन्डै तीन दशकदेखि नेपाली तथा भारतीय बिरामीको आकर्षण बनेको यो अस्पतालका लागि नेपाल सरकारले अहिलेसम्म बजेट र कार्यक्रम छुट्याएको छैन ।

सेवाबाट प्रभावित भएर यूयसएआईडीले ल्याव, बहिरङ विभाग, आकस्मिक विभाग, प्रोस्थेटिक, अर्थोटिकजस्ता सेवाका लागि पूर्वाधार निर्माणमा १० करोड बराबरको सहयोग जुटाएको आलेले बताए । ‘यस्ता सहयोगले अस्पताललाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउँछ,’ आलेले भने । यसका साथै अमेरिकन लेप्रोसि मिसनले लालगढ अस्पतालको पूर्वाधार निर्माण, अंगभंग रोकथाम कार्यक्रम, जीवन्त गाउँ कार्यक्रम र स्वयं हेरचाह समूह जस्ता समुदायमा आधारित चेतनामूलक कार्यक्रमको सवलीकरणमा सघाउँदै आएको छ ।

अस्पताल परिसरमै शुक्रबार भेटिएका मिसनका मेडिकल डाइरेक्टर डा. पौल सन्डरसनले कुष्ठरोगीको सेवामा लालगढ अस्पतालले विश्वमै उदाहरणीय कार्य गर्दै आएकाले यहाँ सहयोग गर्न पाउनु सौभाग्य भएको बताए । देशविदेशका बिरामीको विश्वास जितन सफल लालगढ अस्पतालमा बिरामीको बढ्दो चामसँगै पूर्वाधारको पनि कमी हँुदै गएको छ ।

प्रकाशित : भाद्र ३१, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?