एसिड घाइतेको उपचारार्थ चन्दा संकलन

शिव पुरी

रौतहट — रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल आइतबार एसिड पीडितको घर पुग्दा हजुरबुवा सुकदेब दास बरन्डामा एक्लै टोलाइरहेका थिए ।

एसिड घाइतेको उपचारार्थ चन्दा संकलन

भदौ २६ गते राति नातिनी १८ वर्षीया सम्झनाकुमारी दास र १५ वर्षीया सुस्मिता कुमारीमाथि अज्ञात समूहले एसिड प्रहार गरेको दिनदेखि घरको चुलोमा आगो बलेको छैन । उनी निराश छन् । घरमा उनीबाहेक कोही छैन । छोरा, बुहारी नातिनीको उपचारका लागी काठमाडौंं गएपछि घरमा एक्कै परेका हुन् ।

‘घटनापछि एक दिन पनि चुलोमा आगो बलेको छैन,’ उनले भने, ‘यतिखेर पीडा बाहेक केही छैन । अपराधीले दुबै नातिनीको जीवन वर्वाद बनायो ।’ उनी छिमेकीमा गएर खान्छन् । कहिले भोकै सुत्छन् । घरमा कोही नभएकाले भुतबंगला जस्तै भएको छ । चन्द्रनिगाहपुरको पुरानो बजारदेखि उत्तरीतिर सानो झुपडीमा दास परिबार बस्थे । अहिले घर सुनसान छ । बेलाबेलामा छिमेकीहरू दासको घर पुग्छन् । कोही मानिस आयो भने सम्झना र सुस्मितालाई ल्याएको हो ? भनेर सोध्छन् ।

घटनाले गाउँले समेत स्तब्ध छन् । एसिड कसले र किन हान्यो भन्ने गाउँले अहिलेसम्म अनविज्ञ छन् । घटनामा संलग्नको अहिले सम्म पहिचान हुन सकेको छैन । प्रजिअ रिजालले घटनाबारे गहिरिएर अनुसन्धान भइरहेको बताए । ‘तपाईंहरूलाई के सहयोग गर्नु पर्छ हाम्रोतर्फबाट पहल भइरहेको छ,’ उनले भने, ‘सबैभन्दा पहिले उपचार हो । दुबै जनालाई जसरी भए पनि बचाउनुपर्छ । घटनामा संलग्न अपराधीलाई चाँडै कानुनी दायरामा ल्याउँछाैं ।’

छोरा जादोलाल दास अर्काको पुल हाउस भाडा लिएर चलाउथे । त्यही पैसाबाट घरको जीविका चलाउँथे । पुल हाउसको रखबारी गर्न जादोलाल सधैं त्यही सुत्थे । ‘म पनि त्यस दिन घरमा थिइन,’ सुकदेव भन्छन्, ‘राति अबेरसम्म नातिनीहरू मोबाइल खेलाएर त्यतिकै ढोका नलगाई सुतेछन् । त्यही मौका छोपेर अपराधीले एसिड प्रहार गर्‍यो ।’ दासको घर बाहिर दुई स्थानमा विद्युत् बल्ब लगाइएको थियो । अज्ञात व्यक्तिले दुबै निकालेर अन्धकार बनाइए ।

त्यसपछि भित्र छिरेर दुबैको शरीरमा एसिड प्रहार गरी भागेका थिए । एसिड प्रहार गरे लगत्तै बिहिनी सुस्मिता जोडले कराइन् । दिदीलाई के भयो भनेर सोध्न समेत नपाई पाखुरामा आगो लगाएजस्तो गरी पोल्यो । शरीरमा फैलिएको पीडा सहन नसकेर दिदीबहिनी दौडेर आँगनको धारामा रुदै नुहाउन थाले । जादोलालले घटनाबारे भने, ‘दुबै छोरी एसिड लागेर छटपटाइरहेका थिए, त्यस पछि मलाई खबर गयो र आएर एम्बुलेन्स बोलाएर हतारमा अस्पताल लग्यौं ।’

उनी घर आइपुग्दा छिमेकीले छोरीहरूलाई नुहाइदिँदै थिए । के भएको भनेर उनलाई थाहा थिएन । त्यति खेर बिहानको २ बजेको थियो । प्रहरीलाई ढिला गरी खवर गरिएको थियो । प्रहरी पनि घटनास्थल पुगेको थियो ।

चन्द्रनिगाहपुर अस्पतालमा उपचारका सम्भव नभएपछि उनीहरूलाई सोही रात काठमाडौं रेफर गरिएको थियो । अहिले दुबैको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सम्झनाको अवस्था अहिले पनि निकै गम्भीर छ । उनको शरीरको ३५ प्रतिशत भाग जलेको छ । घाउ पनि निकै गहिरो रहेको चन्द्रनिगाहपुर अस्पतालका चिकित्सक सुभाष चौधरीले बताए ।

एसिडले उनको अनुहार, घाँटी, ढाड र छातीको भाग जलेको छ । उनलाई आईसीयूमा भर्ना गरिएको छ । भेन्टिलेटरमा राखिएको छ ।चिकित्सकले उनको शल्यक्रिया गरी जलेको भाग काटेर फालिएको छ । सुस्मिताको भने अवस्था धेरै गम्भीर छैन । एसिडले उनले दाहिने हत्केलादेखि काखीसम्म पूरै जलेको छ । उनलाई आकस्मिक वार्डमा राखेर उपचार गरिएको छ । ५ प्रतिशत मात्रै जलेकाले उनी खतरामुक्त रहेको चिकित्सक बताउँछन् ।

चन्दा संकलन
एसिड पीडितका लागि स्थानीयले चन्दा संकलन सुरु गरेका छन् । महिला सुरक्षा दबाब समूहले एसिड घाइतेलाई राजधानीसम्म लगेको एम्बुलेन्सको भाडा बापतको रकम तिरिदिएको छ ।समूहकी देबकी नेपालले दुबैको उपचारमा कुनै कसर बाँकी नराख्न जस्तो सुकै सहयोग गर्न पछि नहट्ने बताइन् । प्रजिअ रिजाल सहितको टोलीसित उनी पीडितको घर गएकी थिइन् । महँगो उपचारका लागि आफूसँग खर्च नभएको पीडितको आग्रहपछि गाउँमा चन्दा उठाउन थालिएको हो । अहिले सबैले धेरथोर सहयोग गरेका छन् ।

सुस्त अनुसन्धान
घटनामा संलग्न अपराधीहरू अहिलेसम्म पहिचान हुन सकेको छैन । इलाका प्रहरी चन्द्रनिगाहपुरले घटनामा प्रयोग गरिएको एसिड कहाँबाट खरिद गरेको भन्नेमा स्थानीय पसलहरूमा सोधपुछ गरेको थियो । पीडितका साथी, आफन्त र शंका लागेका व्यक्तिहरूलाई प्रहरीले बोलाएर सोधपुछ गरिरहेको छ ।

इलाका प्रहरीका डीएसपी युवराज खडकाले एसिड प्रहार गर्नेको खोजतलास जारी राखेको बताए । ‘हामीले शंकास्पद व्यक्तिहरूको निगरानी र कार्यालयमै बोलाएर सोधपुछ गरिरहेका छाैं,’ उनले भने, ‘अब चाँडै नै केही न केही रिजल्ट आउँछ होला । अनुसन्धानमा हामीले कुनै कसर बाँकी राखेका छैनौं ।’ प्रहरीले मोबाइल कल डिटेल्स निकालेर सम्झना र सुस्मितालाई त्यस दिन आएका कलहरूबारे सोधपुछ गरेको थियो ।

प्रकाशित : आश्विन १, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?