३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नि:शुल्क भर्नाले पनि विद्यार्थी तानेन

शाहीमान राई

दुवरकोट, धनुषा — अधिकांश बालबालिका नाङगै देखिन्छन् । तराईमा अत्यधिक गर्मीको बेला अर्धनग्न बस्ने चलन नौलो होइन । त्यसमा पनि केटाकेटी । तर जाडो होस् या गर्मी, लुगा नै नभएजस्तो दिनरात नाङगै बस्ने यहाँका बालबालिकाको रहर होइन, बाध्यता हो ।

नि:शुल्क भर्नाले पनि विद्यार्थी तानेन

प्रदेश २ को राजधानी जनकपुरदेखि करिब ७० किलोमिटर पूर्व कमला नदी किनारामा रहेको दलित बस्ती कमला नगरपालिका ९ हठमुण्डाका चरम गरिबीको चपेटामा परेका दलित समुदायका बालबालिका नाङगै सुत्छन्, नाङगै उठछन्, नाङगै खेल्छन् र नाङ्गै हिंडछन् । गाउँमा नौलो मान्छे आएको मौकामा चारैतिरबाट भेला भएर झुम्मिन्छन् । बढेका केटाहरू दिनभर कमला नदी किनारामा जम्मा भएर पोखरी, छिद्र पानीमा माछा मार्छन् ।

ससाना केटाकेटी घरआँगनमै दिनभर धूलो, मैलो र फोहोर खेल्दै दिन विताउँछन् । आमाबाबु भने परिवारको छाक टार्न मजदुरी गर्न जान्छन् । यी केटाकेटी विद्यालय जान त परै जाओस्, कति बेला बिरामी हुन्छन्, भोकाउँछन् र के खान्छन् कुनै मतलव छैन । यहाँका गरिव, विपन्न दलित समुदायका बालबालिका विद्यालय जानबाट समेत वञ्चित छन् ।

सरकारले हरेक वर्ष शैक्षिक सत्रका बेला विद्यालय भर्ना अभियान सञ्चालन गर्दै आएको छ । तर, धनुषाको दुर्गम गाउँ कमला नगरपालिका ९ हठमुण्डास्थित दलित समुदायका बालबालिकालाई विद्यालय भर्ना अभियानको प्रभाव परेन । यहाँका गरिब, विपन्न दलित मुसहर र चमार समुदायका एक सय २५ जना बालबालिका विद्यालय जानबाट वञ्चित रहेको स्थानीय कैलु यादवले बताए । दलित बस्ती नजिकै जनता राष्ट्रिय आधारभूत विद्यालय छ । तर विद्यालयले यहाँका बालबालिकालाई आकर्षित गर्न नसकेको कैलु यादलवले बताए ।

‘स्कुल नजिकै छ तर यहाँ दलित बालबालिका कोही पनि स्कुल जादैनन्, पढाइलेखाइमा चासो राख्दैनन् । पढेका पनि कोही छैनन्,’ ६५ वर्षीय कैलु यादवले भने, ‘स्कुलमा विद्यार्थी मात्रै होइन, शिक्षकहरू समेत आउँदैनन्, बेलाबेला स्कुल खोल्छन्, हाजिर गर्छन्, जान्छन्, पढाउँदैनन् ।’कमला नदी किनारामा करिब ५०/६० वर्षदेखि बसोबास गर्दै आएका दलित मुसहर समुदायका अधिकांश युवायुवती पढेका छैनन् ।

स्कुलसम्म गएकाहरूले पनि एसएलसी पनि पूरा गरेका छैनन् । ‘विद्यालयमा बालबालिकालाई सुविधा पनि छैन, सानो स्कुल छ, व्यवस्थित छैन,’ अर्का ५५ वर्षीय श्रीराम महतोले भने, ‘स्कुलका १५ जना जत्ति केटाकेटी आउँछन्, पढाइ नभएपछि खेल्छन् फर्किन्छन् ।’ उनले शिक्षकहरू बालबालिकालाई पढाउनुभन्दा बढी राजनीतिमा लागेको आरोप लगाए ।

‘स्कुल कहिलेदेखि लाग्ने, बिदा कुन दिन हो ? अभिभावकलाई केही थाहा हुँदैन,’ विद्यालयका अभिभावक महतोले भने, ‘शिक्षकहरू स्कुल नआएपछि विद्यालय सधैं बिदा जस्तो लाग्छ, बालबालिका कसरी आउँछन् विद्यालय ?’ दलित बस्ती नजिकै रहेको जनता राष्ट्रिय आधारभूत विद्यालयमा एक सय २५ जना बालबालिका भर्ना भएको प्रधानाध्यापक पेश्कार महतोले बताए ।

त्यसमध्ये मुसहर ४५ जना र चमार महरा २० जना गरी ६५ जना दलित समुदायका बालबालिका छन् । ‘विद्यालय त्यस्तो नराम्रो छैन, पठनपाठन हुन्छ, विद्यालय खुल्छ तर अभिभावकले नै छोराछोरीलाई नपठाएकोमा अभिभावकसित गुनासो छ,’ उनले भने, ‘दलित बालबालिकालाई अभिभावकले नै गैर सरकारी संस्थाले दिएको गाई, भैंसी, बाख्रा चराउन पठाउँछन् ।’

उनले विगतमा संचालित एउटा विद्यालय राजनीतिक खिचातानीका कारण बन्द भएपछि, केही वर्षअघि पुनस्र्थापना गरिएको जनता राष्ट्रिय विद्यालयमा अधिकांश दलित समुदायका बालबालिका भर्ना भएको बताए । ‘अभिभावकले नै छोराछोरीलाई स्कुल नपठाएपछि के गर्ने ?’ प्रश्न गर्दै प्रधानाध्यापक महतोले भने, ‘अभिभावकले बालबालिकालाई स्कुल पठाउनुपर्‍यो, घरघरमा लिन जान सकिँदैन ।’

कलिलैमा विहे गर्ने र सन्तान जन्माउने गरेका मुसहर समुदाय कसैको नाममा जग्गाजमिन छैन । सम्पत्तिको नाममा वर्षौंदेखि सार्वजानिक जग्गामा बनाएको छाप्रो बाहेक केही छैन । बाबुबाजेकै पालादेखि छाप्रो बनाएर बसेका २५ घरपरिवारको एउटै आँगन छ । कतिपयले बहुविवाह समेत गरेर १३/१४ जनासम्म छोराछोरी जन्माएका छन् ।

एक दम्पतीले जन्माएका ५ जनादेखि १४ जनासम्मको परिवार त्यही छाप्रोमा अटाएको स्थानीय कैलु यादवले दलित बस्तीको नालीबेली सुनाए । मुलुकमा सुखी नेपाली, समृद्ध नेपाल भन्ने राष्ट्रिय नारा बने पनि यहाँका दलित समुदायको मुहार फेरिएको छैन ।

मुसहर समुदायलाई जग्गा जमिन दिने, बेरोजगारलाई नोकरी दिने र छोराछोरीलाई पढाइदिने आश्वासन दिँदै चुनावका बेला राजनीतिक दलका नेताहरूले आश्वासन दिए पनि चुनाव सकेपछि कोही पनि फर्केर नआएको ७० वर्षीय जनक सदाले गुनासो गरे । ‘घरमा खानेकुरा छैन, जीउमा लुगा छैन, छोराछोरीलाई कसरी पठाउने स्कुल ?’ छोराछोरी बुहारी नाति नातिनासहित २५ जनाको अभिभावक जनक सदाले भने, ‘भोको पेटले शिक्षा कसरी आर्जन गर्ने ?’

बेलायत सरकारको सहयोगमा सञ्चालित सामुदायिक कार्यक्रमअन्तर्गत ग्रामीण पुनर्निर्माण नेपाल नामक गैरसरकारी संस्थाले बनाइदिएको सामुदायिक भवनमा बस्दै आएका उनले दलित बस्तीमा कुनै विकास नभएको गुनासो सुनाए ।

विद्यालय जानबाट वञ्चित दलित समुदायका बालबालिकालाई विद्यालयमा आकर्षित गर्न अभिभावकसित छलफल गर्ने, जनचेतना अभिवृद्धि गरी शिक्षाको अवसरबाट कसैलाई नछुटाउने योजनामा रहेको कमला नगरपालिका ९ का वडाध्यक्ष धर्मनाथ मण्डलले बताए ।

प्रकाशित : आश्विन १, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?