कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

किसानी गरेर छोरालाई पाइलट

लक्ष्मी साह

बारा — आदर्शकोतवाल गाउँपालिका १, च्युँटाहाका ३० वर्षीय अमित पटेल गाउँमा पढदै आफ्नै टयाक्टर चलाउँथे । पढाइमा मेहनती थिए । गाडी चलाउन रुचाउँथे । गाउँकै रामचरित्र माविबाट एसएलसी सकेर प्लस टु पढ्न काठमाडौं गए ।

किसानी गरेर छोरालाई पाइलट

पाइलट बन्ने सिलसिलामा त्यहाँबाट पछि भारतको लखनऊ हुँदै फिलिपिन्स पुगे । जहाज चलाउन सिके । अहिले उनी जहाज चलाउँदैछन् । उनी बारा जिल्लाभर एक्लै पाइलट छन् । एक वर्षदेखि नेपालगन्बाट लुक्ला, जोमसोमका लागि उनी तारा एयरको जहाज चलाउँदै आफ्नो पाइलट बन्ने धोको पूरा गरिरहेका छन् ।

‘अमित गाडी चलाउन सानैदेखि रुचाउँथ्यो । टयाक्टरदेखि जिप चलाउँदा चलाउँदै पाइलट बन्ने इच्छा देखाएपछि पाइलट बनाएर उनको धोको पूरा गरें,’ हुनेखाने किसान परिवारका अमितका बाबु ५५ वर्षीय गजेन्द्र पटेलले भने, ‘किसानी गरेर छोरालाई पाइलट बनाएँ ।’ पाइलट बन्न खर्च भएको ६० लाखको केही जग्गा बेचेर पूरा गरेको उनले बताए ।

पाइलट अमितका बुवा गजेन्द्र पञ्चायतकालीन गाउँ पञ्चायत महेन्द्रआदर्श जयनगर च्युँटाहाका मुखिया (गाविस अध्यक्ष) थिए । १० कक्षा पढेका गजेन्द्र भन्छन्, ‘एउटा छोरालाई पाइलट बनाएँ । अर्कोलाई एमबीबीएस पढाउँदैछु ।’ खेत बेचेर खर्च गरे पनि छोरा अमितको पाइलट बन्ने चाहना पूरा गर्दा समाजमा आफ्नो प्रतिष्ठा बढेको उनी बताए । ‘आफूलाई गर्व छ, उनले भने, ‘छोरालाई पाइलट बनाएर समाजमा उदाहरणीय काम गरेको छु ।’ उनी भन्छन्, ‘२०४३ सालमा प्रधानपञ्चमा चुनाव जित्दा जति खुसी थिइनँ, त्यति खुसी अहिले छोरालाई पाइलट बनाउन पाउँदा खुसी छु । यस्तै अरुको पनि छोरा बनून् भन्ने आफ्नो चाहना छ ।’

छोरा पाइलट पढदा खर्च जुटाउन गजेन्द्र सधैं तनावमै रहन्थे । उनको विगतको पाँच वर्ष निकै चुनौतीपूर्ण समय थियो, जुन बेला छोरा अमितलाई पाइलट बनाउन पढाइ खर्च जुटाउनुपथ्र्यो । खेत बेच्न खोज्दा ग्राहक नपाउने, ग्राहक पाए पनि खाँचोको मौका छोपेर कम मूल्य दिने चिन्ताले उनी तनावमै रहन्थे । तर अचेल उनी छोरालाई पाइलट बनाएर खुसी देखिन्छन् । ‘अमितको सम्झना गर्दा उनले आफूलाई गौरवान्वित ठान्छन् । उनी सधैं प्रफुलित भएर गफिन्छ,’ अमितका छिमेकी रामाकान्त साहले भने, ‘हाम्रो समुदायमा अभिभावकले छोराछोरीलाई पढाएर डाक्टर, मास्टर, इन्जिनियर, वकिल बनाउँछन् । तर मधेसी समुदायमा पाइलट बनाउने गजेन्द्रको इच्छा जस्तो कमै भेटिन्छन् ।’

यसले शिक्षाका लागि आम अभिभावकलाई सिकाइको सन्देश दिएको उनको भनाइ छ । छोरालाई पाइलट बनाउन मूल्यवान घडेरी र खेत बिक्री गर्दा पनि अमितको बुवालाई चिन्ता नरहेको अर्का छिमेकी विजय पटेल सुनाउँछन् । ‘आँट गरी घडेरी र खेत बेचेर छोरा पाइलट बनाउँदा उनी उत्साही छन्,’ विजयले भने, ‘शिक्षाले पिछडिएको मधेसी समुदायमा त्यस्ता आँट गर्ने अभिभावक बिरलै भेटिन्छन् ।

हाम्रो समाजमा छोरालाई किसानी गरेर पाइलट बनाउनु चानचुने छैन ।’ ‘पाइलट’ मा आकर्षण कुनै बेला नेपाली सेनामा मधेसी बिरलै भेटिन्थे । जहाजको ‘पाइलट’ पनि उस्तै, मुस्किलले भेटिन्थ्यो । तर अचेल तराई मधेसमा पनि अभिभावकले सन्तानलाई पाइलट बनाउन थालेका छन् । मधेसमा पाइलट भेटिनु भनेको शिक्षाको विकास हुँदै गएको अगुवा शिक्षक देवेन्द्र गिरी बताउँछन् ।

‘मधेसी समुदायमा डाक्टर, इन्जिनियर, शिक्षक, प्राध्यापक, वकिल थुप्रै भेटिन्छ,’ उनले भने, ‘मधेसी समुदायका हुनेखाने अभिभावकले यिनै पेसाका लागि छोराछोरीलाई पढाएको त भेटिन्छन् । तर ‘पाइलट’ बनाउने इच्छाशक्ति कमै देखिन्छन् ।’ विस्तारै अब ‘पाइलट’ मा आकर्षण बढ्न थालिएको उनले बताए ।

‘मधेसी समुदायमा बिरलै भेटिने ‘पाइलट’ प्रति मधेसमा आकर्षण बढ्न थालेको छ,’ उनले भने, ‘पाइलट उत्पादन हुन थालेपछि खुसी लाग्छ ।’ बारा, पर्सा रौतहटमासमेत पाइलट बन्न थालेका छन् ।

पाइलट अमितका अनुसार सप्तरी राजविराजका सन्तोष साह, पर्सा धोरेका राजेश कुसवाहा, सञ्जय साह, बादल गुप्ता, राज रौनियार, रितेश कर्ण, धनुषाको सौरभ मिश्र, रौतहट औरैयाका नरेन्द्र साहसहित मधेसी समुदायबाट बढीमा १० जना मात्र पाइलट नेपालभरि रहेको बताउँछन् । ‘महँगो पढाइ खर्चले अभिभावकले ‘पाइलट’ बनाउन चाहदैनन्,’ उनले भने, ‘मधेसमा कृषि उत्पादनबाट आम्दानी कम हुन्छ, खेत बेचेर कसैले छोराछोरीलाई ‘पाइलट’ बनाउन चाहँदैनन् ।’

प्रकाशित : आश्विन १, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?