कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जानकी मन्दिरलाई सौन्दर्यकरण गरी पर्यटकीय आकर्षणको केन्द्र बनाइने 

प्रदेश सरकारले जानकी मन्दिरलाई ७ करोड दिने
शाहीमान राई

जनकपुर — प्रदेश सरकारले प्रसिद्ध धार्मिकस्थल जनकपुरधामस्थित जानकी मन्दिरलाई सौन्दर्यकरण गरी पर्यटकीय आकर्षणको केन्द्र बनाउन ७ करोड प्रदान गर्ने भएको छ । मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमअन्तर्गत जानकी मन्दिर परिसरमा पर्यटकीय आकर्षणका लागि भौतिक संरचना निर्माण गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

जानकी मन्दिरलाई सौन्दर्यकरण गरी पर्यटकीय आकर्षणको केन्द्र बनाइने 

विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रतिक्षामा रहेको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिर परिसरमा स्वच्छ, सुन्दर, रमणीयस्थलहरूको निर्माण, सरसफाइ, बगैंचा निर्माण गरी हरियाली बनाउने मुख्यमन्त्री कार्यालयको योजना रहेको जनाएको छ । मुख्यमन्त्री लालबाबु राउतले दक्षिण एसियाका हिन्दुहरूको आस्थाको केन्द्र, पवित्र धार्मिकस्थल जनकपुरधामलाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाका रूपमा विश्वभर चिनाउन मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिर सौन्दर्यकरण परियोजना सुरु गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


हरेक वर्ष लाखौंको संख्यामा दर्शनार्थी, श्रद्धालु भक्तजनहरू जानकी मन्दिरमा पूजाआजा गर्न आउने गरेकाले थप व्यवस्थापन गर्न लागेको मुख्यमन्त्री राउतको प्रेस संयोजक आतिश मिश्रले बताए । उनका अनुसार मन्दिर परिसरमा चारैतिर ग्रेनाइट लगाउने र रङ्गीचङ्गी बनाउनका लागि लागत इस्टमेट समेत तयार भइसकेको छ । ‘मन्दिरभित्र र बाहिर निकै आकर्षणयुक्त बनाउने योजना छ, जानकी मन्दिर सौन्दर्यकरण गर्न मुख्यमन्त्रीको मुख्य चासो छ,’ प्रेस संयोजक मिश्रले भने, ‘मन्दिर प्रवेशलाई थप व्यवस्थित बनाइ नयाँ गेट निर्माण गरिने छ ।’


जानकी मन्दिर परिसरमा आकर्षक भौतिक संरचना निर्माणका लागि मन्दिर व्यवस्थापन समितिसित सम्झौता भइसकेको छ । मुख्यमन्त्री स्वच्छता अभियानको पहिलो चरणमा ७ करोड लगानीमा भौतिक संरचना निर्माण गरेपछि विश्वभरका पर्यटकलाई कम्तीमा एकपटक जनकपुरधाम आउने वातावरण सिर्जना गर्ने लक्ष्य रहेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


मन्दिरको भौतिक संरचना निर्माण र व्यवस्थापनका लागि केही दिनभित्रै टेन्डर प्रक्रिया सुरु हुने प्रेस संयोजक मिश्रले बताए । यसअघि मुख्यमन्त्री राउतले प्रदेश नं २ को राजधानी समेत रहेको जनकपुरको मुटु जानकी मन्दिरबाटै मुख्यमन्त्री स्वच्छता अभियानको शुभारम्भ गरेका थिए ।


यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जानकी मन्दिरलाई उज्यालोयुक्त बनाउन लाइटिङ सिस्टमका लागि ३ करोड ५० लाख लगानी गर्ने मन्दिर व्यवस्थापनसित सम्झौता गरी काम सुरु गरिससकेको छ । एनआरएनले मन्दिरभित्र चारैतिर अत्याधुनिक बत्ती जडान गर्न लागेको छ ।



प्रकाशित : आश्विन १, २०७५ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?