कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नागरिकले गरे कर्मचारी निगरानी

लक्ष्मी साह

बारा — युवा विद्यार्थी संघर्ष समितिका अध्यक्ष उमेश कुसवाहाले सोमबार सिम्रौनगढ नगरपालिकाको कर्मचारीको निगरानी गर्दै आफ्नो फेसबुक स्टाट्स लेखे, ‘नगरको ५० कर्मचारीमध्ये २ जना मात्र समयसीमाभित्र कार्यालयमा उपस्थित भए ।

नागरिकले गरे कर्मचारी निगरानी

बाँकीमध्ये केही १२ बजे आए । कोही आउँदै आएनन् । नगरको निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु साहको कार्यालय समय १२ बजे दिउँसो ।’ कर्मचारीको नामै किटान गरेर को कुन बेला कार्यालय आए भनेर हस्तलिखित पोस्टमै उल्लेख गरेका छन् ।

उनको यस सामाजिक सञ्जालको स्टाट्सप्रति थुप्रै ‘फलोअर्स’ ले कर्मचारीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै गुनासोसहित टिप्पणी गरेका छन् । यो समस्या अन्य सेवामूलक कार्यालयहरूमा पनि रहेको र सुधारका लागि सुझावसमेत लेखेका छन् । ‘प्रमुख प्रशासकीय अधिकृत साह २५ किमि दूरीमा रहेको सदरमुकाम कलैयामा विलासी भवनमा बस्दै नगरपालिका दैनिक आउजाउ गर्छन्,’ कुसवाहाले मंगलबार कान्तिपुरसित टेलिफोनमा भने, ‘उनका लागि छुट्टै गाडी छ ।’

सदरमुकामबाट कार्यालय आउजाउ गर्न, विलासी भवनमा बस्नेदेखि त्यहाँ काम गर्ने कामदारसहितमा महिनाको १ लाखभन्दा बढी खर्च हुने नगरपालिका स्रोतले बतायो । नगर प्रमुख विजयशंकर यादव पुरातात्त्विक तथा ऐतिहासिक स्थल सिम्रौनगढ नगरको संरक्षण र विकासका लागि पर्यटन मन्त्रालयका तर्फबाट चीन भ्रमणमा गएको मौका छोपेर कर्मचारीहरू अनुपस्थित हुँदै आएको नगरपालिका स्रोतले बतायो । ‘नगर प्रमुख नहुँदाको मौका छोपेर कर्मचारीमा मनोमानी छ,’ ती स्रोतले भन्यो ।


यसैगरी सदरमुकाम कलैयास्थित भूमिसुधार तथा मालपोत र नापी कार्यालय समयमा नखुल्ने, कर्मचारी नियमित उपस्थित नहुने गुनासो बढेपछि प्रशासकीय अधिकृत मुरारी कार्कीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयको टोली मंगलबार ती दुबै कार्यालयमा पुग्दा १६ कर्मचारी अनुपस्थित थिए । साढे दस बजेसम्म भूमिसुधार तथा मालपोत कार्यालयमा ११ जना र नापी कार्यालयमा ५ जना अनुपस्थित थिए ।

अनुपस्थित हुनेमा कार्यालयका पियन र कार्यालय सहयोगीदेखि सुब्बासम्मका थिए । ‘जनस्तरबाट गुनासो आएपछि छडके गर्दा साँच्चै नै बिना जानकारी मनोमानी रूपमा कार्यालय नआउने समस्या रहेछ । यो प्रवृत्तिकै रूपमा विकास भएको देखेर त्यसविरुद्ध कडा भएर प्रस्तुत हुन्छांै,’ उनले भने, ‘मंगलबार अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण सोध्ने र त्यसमा चित्त नबुझे निजामती कर्मचारी ऐनअन्तर्गत गयल कट्टी र तलब कट्टीको कारबाही गर्नेर्छौ ।’ अनुपस्थित जति सबैको हाजिरीमा रेजा लगाइएको उनले बताए ।

उनका अनुसार जनसरोकारका कार्यालयमा सेवाग्रहीबाट नै समयमा कार्यालयको ढोका नखुल्ने र खुले पनि सबै कर्मचारीहरू समयमा कार्यालय नआउने गरेका छन् । ‘स्थानीय तहलगायत अधिकांश कार्यालयमा कर्मचारीहरूको मनोमानी प्रवृत्ति रहेको पाइएको छ,’ उनले भने, ‘जिल्लामा यसविरुद्ध अनुगमन र छडके नभएको वर्षौं भएकाले कर्मचारी समयमा नआउने, कोही बिनाजानकारी नै अनुपस्थित रहने गरेका छन् ।’

सार्वजनिक चाडबाड, मेला र खास गरी तीर्थाटन गर्ने साउन/भदौ महिनातिर कर्मचारीमा बढी मनोमानी हुने गरेको उनको भनाइ छ । ‘कोही कर्मचारी यस्ता छन्, जसले सेवाग्राहीसित मतलब राख्दैन, सार्वजनिक पदको महत्त्व बुझदैनन् । र सरकारको नीति तथा अनुशासन मान्दैनन्,’ उनले भने, ‘व्यक्तिगत काममा लागेर कतिपयले तलब पकाउँछन् । अब त्यसो हुन दिन्नौं ।’

स्थानीय तहमा जनप्रतिनिधि सम्मानजनक र अधिकार प्राप्त भएकाले कर्मचारीको मनोमानीविरुद्ध लाग्नुपर्ने उनले सुझाए । भूमिसुधार तथा मालपोत कार्यालयका प्रशासनतर्फका सुब्बा कौशल झाले मंगलबार विश्वकर्मा पूजा भएकाले कर्मचारी ढिलो गरी उपस्थित भएको दाबी गरे । जनताका प्रत्यक्ष सरोकाराका कार्यालय भएकाले आफैं कडाइ गरेको उनले दाबी गरे ।

प्रकाशित : आश्विन २, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?